विप्लवका कार्यकर्तालाई अदालतले छाड्यो, प्रहरीले समात्यो
स्याङ्जा : साधारण तारेखमा छाड्ने आदेश भएपछि अदालतको गेटबाट बाहिरिएका विप्लवका कार्यकर्ता गोकुल पराजुली, गोविन्द ओली र सागर अर्याललाई प्रहरीले फेरि पक्राउ गरेको छ।
नेत्रविक्रम चन्द (विप्लव) समुहमा संलग्न रहेको आरोपमा उनीहरू र मिसिरी नेपालीलाई पक्राउ गरिएको थियो। पक्राउ परेका आरोपीलाई उच्च अदालत पोखराले साधारण तारेमा छाड्ने आदेश दिएको थियो। विगत केही महिनादेखि उनीहरु स्याङ्जा कारागारमा बस्दै आएका थिए।
फागुन १० गते राती वालिङ नगरपालिका १२ मा रहेको एनसिएलको टावरमा बम विस्फोट र फागुन ३० गते पुतलीबजार नगरपालिका–४ भालुपहाडमा नक्कली बम राखेको आरोपमा उनीहरु पक्राउ परेका हुन्।
सोही आरोपमा जिल्ला अदालतले एनसेल टावरमा विष्फोट गराएको भन्दै जनही २ लाख २० हजार र नक्कली बमबाट आतंकित र चन्दा असुलको शीर्षकमा २ लाख धरौटी माग गरेको थियो। जनही ४ लाख २० हजार रुपैंया बुझाउन नसक्ने जनाएपछि उनीहरु कारागार चलान भएका थिए। चारजनाबाट १६ लाख ८० हजार रुपैयाँ सहित अवैधरुपमा चन्दा असुल गरेको रकम फिर्ता, टावरको क्षतिपुर्ति सहितको माग थियो।
अदालतको सो निर्णय उपर उनीहरु उच्च अदालत पुगे। उच्च अदालतको आदेश बमोजिम उनीहरुलाई शुक्रवार शुद्ध साधारण तारेखमा छाड्ने निर्णय भयो। नियर्णयबमोजिम स्याङजा अदालत परिसरबाट निस्किँदै गर्दा उनीहरूलाई मुलगेटमा रहेका प्रहरीले पक्राउगरी कास्की लगेको बताइएको छ।
कास्की पोखरा महानगरपालिकाका जिल्ला इन्चार्ज गोकुल पराजुली, पश्चिम रुकुम त्रिवेणी गाउँपालिकाका गोविन्द ओली र भीरकोट नगरपालिकाका स्याङजा जिल्ला कमिटी सदस्य सागर अर्याललाई पक्राउ गरी कास्की लगिएको छ। वालिङ नगरपालिका छाप्राककी मिसिरा नेपाली (सार्की) भने घर फर्केको बताइएको छ।
प्रहरीले बिना पक्राउपूर्जी आफूहरुलाई समातेको भन्दै उनीहरुले पक्राउपूर्जी माग गर्दै आपत्ती जनाए। समातेर भ्यानमा राख्ने क्रममा सरकारविरुद्ध नारा लगाएका थिए।