बारा ६९ औं खुल्ला दिसामुक्त जिल्ला
कलैया : राष्ट्रिय सरसफाई गुरुयोजना अन्तर्गत बारा जिल्लालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समवन्य समितिले कलैयामा आयोजना गरेको कार्यक्रममा बारालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा गरेको हो ।
प्रदेश २ का भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले बारा खुल्ला दिसामुक्त जिल्ला भएको घोषणा गरे । उनले सरसफाइ अभियानमा साथ दिन जिल्लाबासीलाई आग्रहसमेत गरेका छन् ।
बारा देशभरको ६९ औं र प्रदेश २ को चौथो जिल्लाको रुपमा खुल्ला दिसामुक्त जिल्ला घोषणा भएको हो । सरकारले देशलाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने तयारी गरिरहेको छ । असोजमा देशलाई खुल्ला दिसामुक्त घोषणा गर्ने अभियान अन्तर्गत अहिले जिल्लाहरु घोषणा भइरहेका हुन् ।
बारालाई खुल्ला दिसामुक्त घोषणा गर्नुअघि जिल्ला समन्वय समिति तथा जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितिले जिल्लाका १६ वटै स्थानीय तहलाई खुल्ला दिशामुक्त क्षेत्र घोषणा गर्न अभियान थालेको थियो । १६ वटै तह घोषणा भएपछि समन्वय समितिले बारालाई घोषणा गरेको हो ।
समितिले बाराका एक लाख ५ हजार १५ घर आधारभूत सरसफाइको पहुँचमा रहेको जनाएको छ ।