चाहे बिमस्टेक होस् वा इन्डोप्यासिफिक, हामी संलग्‍न हुँदैनौँ : प्रचण्ड

चाहे बिमस्टेक होस् वा इन्डोप्यासिफिक, हामी संलग्‍न हुँदैनौँ : प्रचण्ड

काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले कुनै पनि शक्ति केन्द्रको सैन्य गठबन्धनमा नेपाल सामेल नहुने स्पष्ट पारेका छन्। इलाममा शनिबार भएको कार्यक्रममा प्रचण्डले असंलग्न नीतिको मान्यताबाट विचलित नहुने बताए।

प्रचण्डले बिमस्टेक वा इन्डोप्यासिफिक कुनै पनि खालका सैन्य गठबन्धनमा घोषित नीतिविपरीत संलग्न नहुने बताए। हालै नेपाल भ्रमणमा आएका चिनियाँ विदेशमन्त्री वाङ यीसँग प्रचण्डले अमेरिकाको 'इन्डोप्यासिफिक स्ट्राटेजी' मा नेपाल संलग्न नरहेको बताएको खबर सार्वजनिक भएका छन्। तर समाचारमा मात्रै यी विषय आएको र चीन तथा अमेरिकाले आधिकारिक रुपमा त्यसो नभनेको भन्दै प्रचण्डले नेपालको घोषित नीतिअनुसार आफू बोलेको दाबी गरे।

'प्रचार जसरी आयो, चीनबाट आधिकारिक परराष्ट्र मन्त्रालयबाट स्टेटमेन्टका रुपमा आएको होइन। कुनै समाचार एजेन्सीको समाचार बनाउने क्रममा आएको हो। त्यसमा सरकार, परराष्ट्रका रुपमा वक्तव्य आएको होइन', उनले भने, 'अर्को कुरा अमेरिकाको राजदूत या स्टेट डिपार्टमेन्टले मागेको पनि होइन। त्यहाँ काम गर्ने एकजना कर्मचारीले बाहिर भनेको मात्रै हो। आधिकारिकरुपमा न चीनले न अमेरिकाले भनेको स्थिति हो।'

असंलग्न नीतिविपरीत कुनै पनि शक्तिकेन्द्रका सैन्य गठबन्धनमा नेपाल सहभागी नहुने उनले बताए। 'हामी कुनै पनि शक्तिकेन्द्रको सैन्य गठबन्धनमा सामेल हुँदैनौं। हामी असंलग्न रहन्छौं। पहिले यो बुझ्न जरुरी छ', उनले भने, 'चाहे त्यो विमस्ष्टेक सन्दर्भको हो, चाहे त्यो इन्डोप्यासिफिकको सैन्य अभ्यासमा किन नहोस् हाम्रो राष्ट्रहीतलाई असर गर्ने कुनै पनि गठबन्धनमा हामी सहभागी हुँदैनौँ। मैले, प्रधानमन्त्रीजी र परराष्ट्र मन्त्रीले भनेको त्यही हो।'

आफूले चीनविरुद्ध हुने कुनै पनि गतिविधिमा नेपाल संलग्न नहुने उनले बताए। 'एक चीन नीति विरुद्ध नेपालको भूमि प्रयोग गर्न दिन्नौं र दिँदैनौं भन्ने पनि हाम्रो प्रष्ट नीति हो। यही कुरा मैले गरेको हो', उनले भने, 'इन्डोप्यासिफिकका सन्दर्भमा पनि चीनका विरुद्ध हुने कुनै गतिविधि सह्य छैन भनिएको हो।'

अमेरिकाले गत जुलाइमा नेपाल समेत समेटेर इन्डोप्यासेफिक स्ट्राटेजी सार्वजनिक गरेको थियो। चीनले अघि सारेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई)को रणनीतिक साझेदारीमा नेपाल  नजिकिँदै गएको अवस्थामा  अमेरिकाले नेपाललाई आफ्नो रक्षा रणनीतिमा समेट्न खोजेको हो। 

काठमाडौंमा  बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) को चौंथो शिखर सम्मेलन भइरहेका बेला भारतले एक वर्षअघि पूणेमा आयोजना गरेको बिमस्टेक सैन्य अभ्यासमा नेपाली सेना सहभागी हुने तयारी गरे पनि अन्तिम क्षणमा सहभागी नहुने निर्णय सरकारले गरेको थियो।

'संसार क्युबाको पक्षमा छ'

क्युबा वा भेनेजुयलाका बारेमा अमेरिकाप्रति नकारात्मक धारणा बनाउन खोजेको आरोप सत्य नभएको प्रचण्डले बताए। 'कतिपयले हरेकपटक यस्तै हुन्छ भनेर भन्न खोजेको पाइयो। क्युबा, भेनेजुएला आदिका सन्दर्भममा अमेरिकाप्रति नकारात्मक धारणा बनाउन खोजेको भन्ने प्रचार पनि सत्य होइन', उनले भने, 'भेनेजुएलाका बारेमा मैले भनिसकेको छु र परराष्ट्रले पनि भेनेजुएलाको बारेमा त्यहीका जनताले निर्णय गर्ने हो, बाहिरबाट कुनै हस्तक्षेप हुनुहुँदैन भन्ने कुरा पराष्ट्रले भनिसकेको हो।'

क्युबाको पक्षमा सारा संसार नै रहेको उनको भनाई छ। 'क्युबाको पक्षमा त पूरै संसार छ। संयुक्त राष्ट्रसंघबाट नाकाबन्दीविरुद्ध प्रस्ताव पारित छ', प्रचण्डले भने, 'क्युबालाई सहयोग र ऐक्यबद्धता जनाउन उनीहरुको टोली नेपाल आएको थियो। चेको छोरी नै आउनु भएको थियो। त्यो कार्यक्रममा मैले सुरक्षा परिषदको निर्णय कार्यान्वयन हुनुपर्‍यो, हामी त्यो मामिलामा क्युबाको पक्षमा छौं भनेको हो।'

यसो भन्दैमा अमेरिकालाई उत्तेजित पार्ने आवश्यकता नरहेको उनले बताए। 'अमेरिकालाई उत्तेजित पार्ने हाम्रो कुनै आवश्यकता छैन। अमेरिकासँग पनि कुटनीतिक सम्बन्ध छ। कैयन पक्षमा हाम्रो द्विपक्षीय सम्बन्धलाई बलियो बनाउने काम भएको छ', उनले भने, 'म अमेरिका भ्रमणका बेला समेत यसविषयमा अमेरिकी अधिकारीसँग कुरा गरेको छ। विदेश नीतिका बारेमा मैले नेपालको परराष्ट्र नीति नै बोलेको छु। यसमा स्प्ष्ट हुनुपर्छ।'

ओली-नेपाल तिक्तता

पत्रकारले सोधेका प्रश्नको जवाफ दिने क्रममा प्रचण्डले प्रधानमन्त्री केपी ओली र नेता माधव नेपालबीचको सम्बन्धका बारेमा बोल्न भ्याए। 'माधवजीसँग प्रधानमन्त्रीजीको सम्बन्ध अहिले त्यस्तो (बिग्रेको) छैन। सचिवालयको बैठकमा निर्वाचन आयोगमा पार्टी दर्ता गर्ने विषयमा सर्वसम्मतले निर्णय भयो। अब फेरि माधवजीले भनेजस्तो केपी जी र मेरोबीच ठूलो कुरा होइन भनेजस्तो अहिले बैठकपछि सम्बन्ध सहज छ', उनले भने, 'यतिबेला पार्टीको जोड गुटहरू भत्काउनेमा छ। पार्टीलाई बलियो बनाउनुपर्छ भन्नेमा हामी केन्द्रित छौँ।'

गणतन्त्रमाथि खतरा छैन

प्रचण्डले संघीय लोकतान्त्रिक गणतन्त्रमा ठूलो खतरा नभएको बताए। 'प्रतिगामीहरूले होहल्ला गर्दैमा सार्वभौम जनताले बनाएको सबैभन्दा बढी मौलिक अधिकार भएको संविधान कसैले कमजोर गरेर कमजोर हुने स्थिति छैन। यो सिष्टम नै उल्टिने खतरा आयो भन्ने पनि होइन।'

तर हिजोका निरंकुशतावादी, अलि होहल्ला गर्न खोज्ने, एयरपोर्टमा गएर राजतन्त्रको पक्षमा नारा लगाउने, गणतन्त्रको विरुद्ध नारा लगाउने मान्छेहरु निक्लेर नेताहरुलाई सत्तोसराप गरेर गाली गर्ने प्रवृत्तिलाई गम्भीररुपमा लिनुपर्ने प्रचण्डले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.