साहिवगन्ज र कालुघाट मल्टिमोडल पोर्ट : नेपालको समुद्रसम्मको दूरी छोटिने

साहिवगन्ज र कालुघाट मल्टिमोडल पोर्ट : नेपालको समुद्रसम्मको दूरी छोटिने

काठमाडौं : भारतले सञ्चालनमा ल्याएको मानव निर्मित मल्टिमोडल पोर्ट साहिवगन्ज र कालुघाट प्रयोग गर्न दिए नेपालको समुद्रसम्मको दूरी छोटिने देखिएको छ। नेपालको दक्षिणतर्फको समुद्रसम्मको दूरी बढीमा एक सय ५० किलोमिटर मात्र हुनेछ। भारतले समुद्रबाट गंगा नदी हुँदै वणरसी, साहिवगन्ज र कालुघाटमा पानी जहाजको टर्मिनल तय गरेकाले नेपालको सीमानामा पानी जहाज आउने अवस्था आएको छ।

नेपालले अघि बढाएको ट्रिटी अफ ट्रान्जिटमा भारत सरकारले साहिवगन्ज र कालुघाट थपिदिए त्यो बढीमा दूरी एक सय ७५ किमिको दूरीमा जलमार्गमार्फत कन्टेनर आउनेछन्। मल्टिमोडल बन्दरगाह सडक, रेल र जल तीनवटै मार्गबाट हुने माल ढुवानी हो।

कोलकात्तामा आउने कन्टेनरलाई साना जहाजमार्फत कालुघाट र साहिवगन्ज ल्याउन सकिनेछ। साना जहाजमा एक सय २५ कन्टेनर अर्थात् २५ सय टनसम्म ल्याउन सक्छ। त्यही गंगा नदीमा नेपालको नदी पनि जोडिएको हुनाले त्यहाँबाट नेपालसम्म पानी जहाज ल्याउन सकिने विषयमा बहस भइरहेको छ। खासगरी प्रधानमन्त्री केपी ओली पहिलोपटक प्रधानमन्त्री हुँदै आफ्नै पानी जहाज विदेशी भूमिका र नेपालभित्र पनि चलाउने भनेका थिए।

भारतले रुट स्वीकृत गरेमा नेपालले कोलकात्ताबाट कालुघाट र साहिवगन्जसम्म यस्ता पानी जहाज सञ्चालनमा ल्याउन सक्नेछ। त्यसमा विस्तारै काम हुँदै गर्ला तर अहिले साहिवगन्ज र कालुघाट मल्टिमोडल टर्मिनल नेपालले उपयोग गर्न पाए पनि २० प्रतिशत ढुवानी भाडा कम हुने आँकलन सरकारी अधिकारीको छ। यही विषयमा लामो समय काम गरेर हाल प्रदेश ५ को प्रमुख सचिवको भूमिका रहेका मधु मरासिनीले पनि यसको उपयोग हुन सके निकै सहज हुने बताए।

बिहीबारदेखि सञ्चालनमा आएको साहिवगन्जदेखि विराटनगरसम्मको दूरी एक सय ५० किलोमिटर छ। केही समयमा सञ्चालनाम आउने गरी तयारी भइरहेको कालुघाटबाट वीरगंज एक सय ७५ किलोमिटर छ। साहिवगन्जको किनारा दाहिनेतर्फ रहेकाले अलिक दूरी बढ्ने भए पनि कालुघाटको भने नेपालतर्फ कै किनारमा टर्मिनल हुनाले थप सहजता हुने अधिकारीहरू बताउँछन।

भारतको साहिवगन्जस्थित मल्टिमोडल टर्मिनल बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्दै सञ्चालनमा ल्याएका हुन्। सञ्चालनमा ल्याउने क्रममा नै नेपालतर्फको व्यापार यहाँबाट हुन सक्ने धारणा त्यहाँका अधिकारीले राखेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। जलमार्ग विकास परियोजना अन्तर्गत गंगा नदीमा राष्ट्रिय जलमार्ग तयार भएको छ। यो भारतकै दोस्रो मल्टिमोडल टर्मिनल पनि हो। तर, गंगा नदीमा बनेको यो दोस्रो टर्मिनल हो।

यसअघि वराणसीमा पनि यस्तै टर्मिनल निर्माण भएर चालू अवस्थामा छ। दुई सय ९० करोड भारतीय रुपैयाँमा दुई वर्षमा निर्माण भएको साहिवगन्ज टर्मिनल विराटनगरबाट निकै नजिक छ। यो टर्मिनलबाट सामान ल्याउन सक्ने भारतीयले पहिलेदेखि नै बताउँदै आएकाले ‘ट्रिटी’ भए सहज हुनेछ।

यो बन्दरगाह सञ्चालमा आए नेपालको दक्षिणतर्फको समुद्रसम्मको दूरी बढीमा एक सय ५० किलोमिटर मात्र हुनेछ।

‘ट्रिटी’का विषयमा काम भइरहेको छ’, भारतीय दूतावास अधिकारीले भने, ‘बिहीबार उद्घाटन सत्रमा नै नेपालतर्फ यहाँबाट कार्गो व्यापार सहज हुने भनेकाले पनि यसमा काम अघि बढेको देखिन्छ।’ अहिले कोलकोत्ताबाट ल्याउँदा आठ सय किलोमिटर लाग्ने गरेको छ। यसले भारत नेपाल कार्गोमा पनि सहजता ल्याउने जानकारी उद्घाटन सत्रमा नै आएकाले भारतले ‘ट्रान्जिट ट्रिटी’मा रुट थपेर सम्झौता गर्ने देखिन्छ। २५ सय टनसम्मका जहाजले यहाँ सामान ल्याउन सक्ने हुनाले यो सुविधालाई नेपालले सामान्यरूपमा लिन मिल्दैन।

आफ्नै पानी जहाज

गत मंसिरमा नै बनारसको गंगा नदीमा निर्मित पहिलो मल्टिमोडल टर्मिनल सञ्चालनमा आउँदैदेखि नेपालतर्फ पानी जहाजको सम्भावना बढेको थियो। यो टर्मिनल भैरहवाबाट तीन सय र वीरगंजबाट तीन सय ५० किलोमिटर टाढा छ। जलमार्गमार्फत हुने ढुवानी अन्यभन्दा निकै सस्तो हुने गर्छ। भारत सरकारले त्यही भएर जलमार्गलाई प्रयोगमा ल्याउने नीति लिएर विश्व बैंकको सहयोगमा गंगा नदीको तटमा यस्ता बन्दरगाह बनाउँदै आएको हो।

नेपालले तेस्रो मुलुकसँग गर्ने व्यापारको ठूलो हिस्साका लागि ट्रान्जिटका रूपमा प्रयोग हुँदै आएको कोलकाताबाट वीरगंज आठ सय २५ किमि र भैरहवा एक हजार १० किमि दुरीमा छ। कोलकात्ताबाट छुट्ने जहाजले १० दिनको आसपासमा हाम्रो सीमा छेउमा कन्टेनर ल्याउनेछ। यो दूरी करिब १४ सय किलोमिटर छ। तेस्रो ‌‌‌‌‌‌‌‌‌‌‌‌‌मुलुकबाट पानी जहाजमार्फत आयातित मालबाहक कन्टेनर कोलकाता–हल्दिया र दक्षिण भारतको विशाखापटनम बन्दरगाहबाट रेल वा सडक मार्ग हुँदै नेपालसम्म ल्याउने गरेको छ। निर्यात पनि सोही तवरबाट हुने गरेको छ।

मंसिरमा बनारस अहिले साहिवगन्ज उदघाटन गरेका भारतीय प्रधानमन्त्री मोदीले केही महिनामा कालुघाटको पनि उद्घाटन गर्नेछन्। यसरी भरातभित्रको यो सफलताबाट नेपालले पनि जलमार्गमा जोड्ने प्रयास गर्न आवश्यक रहेको अधिकारी बताउँछन। लामो समय यही विषयमा काम गरेका वर्तमान खानेपानी सचिव माधव बेल्वासेले जलमार्गको सम्भावना देखिएका नेपालका नारायणी र कोसी नदी गंगामा मिसिएर भारतको कोलकाता, बंगलादेश र अन्य मुलुकसँग जोडिने हुनाले यसतर्फ पनि काम गर्न सकिने बताए।

‘भारतको यो कदमले नेपालको जलमार्ग विकास र विस्तारका लागि आधार खडा गरेको छ। हामीले त्यो मार्ग उपयोग गर्न सक्नुपर्छ’, उनले भने, ‘विराटनगरको दूरी एक सय ५० किलोमिटर मात्र छ। यसले गर्दा हल्दिया र कोलकाताका कन्टेनर सीधै साहिवगन्जसम्म ल्याउन सक्छौं।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.