सामाजिक सञ्जाल : प्रयोग गर्ने कि प्रयोग हुने ?

सामाजिक सञ्जाल : प्रयोग गर्ने कि प्रयोग हुने ?

सुरक्षा र उद्धारका लागि सामाजिक सञ्जालले सहयोगी भूमिका खेलेको छ। मिडियाका लागि रिपोर्टरले दिन नसकेका सूचना, तस्बिर र भिडियो उपलब्ध हुन सक्छ।


आजको विश्व इन्टरनेटबिना बाँच्नै नसक्ने भएको छ। इन्टरनेटको दुनियाँमा केही प्रतिशत नेपाली रमाइरहेका छन्। त्यसमध्ये केहीले इन्टरनेट भनेकै ‘फेसबुक’ ठानेका छन्। केहीले युट्युब सम्झिएका होलान्। केहीका निम्ति सामाजिक सञ्जाल र युट्युब भोकोे भेडाका लागि घाँसे मैदान बराबर छ। कतिपय सामाजिक सञ्जाल प्रयोगकर्ता त्यति छुट्ट्याउने क्षमतासम्म राख्दैनन्।

सामाजिक सञ्जालमा आएका सामग्रीमध्ये के हेर्ने ? के पढ्ने ? के सेयर गर्ने ? र, त्यसमा के लेख्ने ? भन्ने प्रश्न आफैंले आफैंलाई गर्दैनन्। कसले कुन स्वार्थले पेज बनाएर कस्तो भ्रमको खेती गरिरहेको छ, त्यो पनि बुझ्दैनन्। मानिस चेतनशील प्राणी हो, यो वाक्यांश स्कुल तहमै शिक्षकले पढाएको कुरा फेसबुक चलाउन थालेपछि भुसुक्क बिर्सन्छन्।

भनिन्छ- एउटा भेडा भीरदेखि हाम फाल्यो भने सबै भेडा हाम फाल्छन्। हाम्रो प्रवृत्ति त्यस्तै छ। एउटा मान्छेले केही सेयर गरे ‘भेडा’ कै शैलीमा सबैले सेयर ठोक्छौं। अनावश्यक विषयको अफवाहले सामाजिक सञ्जाल एकातर्फ ‘फोहोरी’ नै बनिसकेको छ। यो आफैंमा फोहोरी होइन। तर, प्रयोग जसरी गर्‍यो परिणाम पनि त्यसरी नै आइरहेको छ।

प्रश्न उठ्छ- यसरी भेडा नबन्न अब सामाजिक सञ्जाल नै प्रयोग नगर्ने त ?  त्यो हुँदै होइन। प्रयोग गर्ने तर, त्यहाँ आफू प्रयोग नहुने। सबैभन्दा ठूलो सूत्र नै यही हो। कसैले कारबाही गरेर केही सुधार हुनेवाला छैन। यो विश्वव्यापी सञ्जालमा आफ्नो पहिचान कस्तो बनाउने ? यो तपाईंको व्यक्तिगत विषय हो। तपाईंले लेखेको अर्थात् सेयर गरेको कुराले समाजमा सकारात्मक प्रभाव परे त्यो राम्रो भयो। तर, नराम्रो प्रभाव परे को जिम्मेवार ? यसको नियमन कुनै राज्य संयन्त्रले गर्दैन। सामाजिक सञ्जाल भएकाले हरेक प्रयोगकर्ताले आफैं सचेत हुुनुपर्छ। त्यसैले केही पोस्ट् र सेयर गर्नुअघि केही सेकेण्ड मात्र सोच्नु आवश्यक छ।

समयको बर्बादी

इन्टरनेट भए हामी सामाजिक सञ्जाल निःशुल्क प्रयोग गर्न सक्छौं। बनाउने दिमाग र लगानी हाम्रो होइन। बिनापैसा हामीलाई नै उपलब्ध छ। तर, यो सित्तैमा पाएको ‘सितन’ ले तपाईंको समय कति बर्बाद पारेको छ ? योचाहिँ सोच्नैपर्छ। जहाँ माछा रमाइरहेको हुन्छ त्यहीं माझीले बल्छी हान्छ। तपाईं रमाउने सामाजिक सञ्जालमा पनि लाखौंको संख्यामा माझीहरू छन्। जो ‘बल्छी’ थापिरहेका हुन्छन्। खोला किनारका माझीले थापेको बल्छीले माछा मर्छ। सामाजिक सञ्जालमा थापेको गलत सन्देशको बल्छीले तपाईंको समय मर्छ। ‘समाचारमा पनि झूट हुनसक्छ। तर, सबै सामाजिक सञ्जाल प्रयोगकर्तालाई समाचार झूट पनि हुन्छ भन्ने थाहा नहुन सक्छ’, सेयरकास्ट इनिसिएटिभका प्रमुख कार्यकारी मधु आचार्य भन्छन्, ‘त्यसैले त सामाजिक सञ्जाल प्रयोगकर्ता उनीहरू ‘मिथ्या’ समाचारको सिकार हुन्छन्।’

यो सानो देशमै दुई हजार प्लस अनलाइन पोर्टल छन्। १८ सय अनलाइन त दर्ता भएरै सञ्चालन भइरहेका छन्। यसको अनुगमन कसले गर्ने ? असम्भव छैन। तर, तत्कालका लागि सम्भव पनि छैन। किनकि, त्यसका लागि कुनै संयन्त्र नै बनेको छैन। अनलाइन समाचार लिंक र विभिन्न पेजमा सेयर भएका सामग्री नै हाम्रो फेसबुकमा देखिन्छन्। त्यसलाई ग्रहण गर्ने वा बहिष्कार तपाईंकै मर्जी हो। अहिले ठूलो समस्या ‘प्रयोगकर्ताको लिटरेसी’ नै हो। ठूलो संख्याले भेडा प्रवृत्तिलाई अनुशरण गरेका छन्। यो प्रवृत्तिको अन्त्य गर्न सामाजिक सञ्जाल प्रयोगकर्तामा लिटरेसी पढ्नु आवश्यक छ।

अनुसन्धानले के भन्छ ?

सेयर कास्ट इनिसिएटिभले २०७५ माघ फागुनमा चार हजार सामाजिक सञ्जाल प्रयोगकर्तामाझ एउटा अनुसन्धान गरेको छ। जसमध्ये ८८ प्रतिशतले फेसबुक चलाउँछन्। ४० प्रतिशतले म्यासेन्जर, ३४ प्रतिशतले युट्युब र ३५ प्रतिशतले इमो चलाउँछन्। कतिपय सन्दर्भमा सामाजिक सञ्जाल मान्छेको तनाव मुक्त हुने ठाउँ बनेको छ। अनुसन्धानमा सहभागी भएका ७० प्रतिशतले इन्टरनेटको सूचना मिथ्या पनि हुन्छ भन्ने थाहा पाएको बताएका छन्। यसमध्ये ६० प्रतिशतले झूटा कुरा छुट्ट्याउन सक्ने दाबी गरेका छन् भने गलत सन्देशको सिकार भएको बताउनेको संख्या ५९ प्रतिशत छ। वास्तविक स्रोत हेर्नेको संख्या ४५ प्रतिशत छ। फेक न्युजबाट बच्ने प्रयासमा छु भन्ने १५ प्रतिशत छन्।

‘समाजका प्रतिष्ठित व्यक्तिले समेत पोस्ट् गरेको विषय ख्याल नगरेको देख्छु’, अनुसन्धानमा संलग्न आचार्य भन्छन्, ‘बौद्धिक जमात त केही सेकेन्ड धैर्य गर्न सक्दैन भने अरूको के कुरा गर्नु ? ’

इन्टरनेटको प्रयोग हाम्रोमा सुरुवात मात्र हो। अझै पनि ‘क्वालिटी’ इन्टरनेट चलाउने संख्या सानो छ। अनुसन्धानका अनुसार ७७ प्रतिशतले इन्टरनेटका लागि मोबाइल डाटा प्रयोग गर्छन्। प्रदेश ३ र ४ ले बढी मात्रामा क्वालिटी इन्टरनेट अर्थात् बोर्डबैंक चलाउने गरेका छन्। प्रदेश १, २, ५, ६ (कर्णाली) र ७ (सुदूरपश्चिम) मा बढी डाटा चल्छ। सामाजिक सञ्जालमा कति घण्टा बिताउने ? के लेख्ने भन्ने व्यक्तिगत विषय हुन्। नेपालीमा यसको लतचाहिँ राम्रो बसेको देखिन्छ। ‘पछिल्ला चारपाँच वर्षमा सामाजिक सञ्जाल प्रयोगकर्ता बढेको देख्छु। यो एउटा अम्मल बनेको छ’, यसकै अनुसन्धानमा सक्रिय आचार्य भन्छन्, ‘हाम्रा असन्तुष्टि पोख्ने ठाउँ खुम्चिँदै गएपछि यसको प्रयोग बढेको देखिन्छ।’

नामै सामाजिक सञ्जाल भएकाले यसलाई व्यक्तिगत हिसाबले व्याख्या गर्न नहुने उनको बुझाइ छ। ‘पहिला मिडियाबाट मात्र समाचार पाठकसम्म पुग्ने हुँदा त्यहाँ ‘गेटकिपिङ’ हुन्थ्यो’, आचार्य थप्छन्, ‘अहिले त्यो परम्परा पूरै फेरिएको छ। हरेक व्यक्ति रिपोर्टर र सम्पादक भएको फिल गर्छन्। हामी छिटै हौसिन्छौं र छिटो निराश हुन्छौं। त्यसरी सामाजिक सञ्जालसँग डराउनैपर्ने अवस्था छैन। सचेत चाहिँ पक्कै हुनुपर्छ।’

सकारात्मक पक्ष

सामाजिक सञ्जाललाई नकारात्मक ढंगले मात्र हेर्नु हुँदैन। तर, नकारात्मक विषय चाँडै फैलिने हुँदा यसको चर्चा पहिला हुन्छ। यसको प्रभावकारी उपयोग हुँदा कतिपय गरिब र अशक्त नागरिकको उपचारका लागि लाखौं रुपैयाँ संकलन भएका उदाहरण छन्। २०७२ वैशाखको भूकम्पपछि देशविदेशबाट सहयोग जुटेको बिर्सनु हुँदैन। नेपाल प्रहरीले फेसबुककै प्रयोग प्रभावकारी ढंगले गरेको छ। सुरक्षा र उद्धारका लागि सामाजिक सञ्जालले सहयोगी भूमिका खेलेको छ। मिडियाका लागि रिपोर्टरले दिन नसकेका सूचना, तस्बिर र भिडियो उपलब्ध हुन सक्छ।

आचार्यको समूहले गरेको अनुसन्धानअनुसार टेलिभिजनलाई विश्वास गर्ने ३३ प्रतिशत छन्। रेडियोलाई २७ प्रतिशतले पत्याउँछन् भने फेसबुकको सूचना जम्मा दुई प्रतिशतले मात्र पत्याउँछन्। त्यसैले फेसबुकले डुबायो, सक्यो भनेर आत्तिनुपर्ने अवस्था भने भइसकेको छैन। फेरि यसको नकारात्मक प्रभावै छैन भनेर ढुक्क हुने अवस्था पनि छैन। अमेरिकी र भारतीय निर्वाचन सामाजिक सञ्जालको सिकार भएको हामीले बिर्सनु हुँदैन। तर हामी प्रयोगकर्ता भेडा हुनबाट भने अवश्य जोगिनुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.