डिउटीमा रहेका प्रहरीमाथि हातपात : पाँच पक्राउ
बाजुरा : जिल्ला प्रहरी कार्यालयबाट डिउटीमा खटिएको प्रहरी टोलीमाथि हातपात भएको छ। बडिमालिका नगरपालिका ८ मा लागेको अनन्ते मेला सुरक्षाको लागि खटिएका प्रहरीमाथि एक समूहले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख तथा प्रहरी निरीक्षक जनक ढुंगानाले जानकारी दिए।
भदौ २८ गते साँझ रक्सी खाएर मेला बिथोल्ने र होहल्ला गर्दै आएका राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत अमृत्त बोहरा, केशव गिरी सरकारी वकिल कार्यालयका कार्यालय सहयोगी हरिशंकर जोशी, बडिमालिका नगरपालिका ८ का गोरख थापा र सोही वडाकी ध्वनी थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
रक्सीले मातेका युवालाई नियन्त्रणमा लिन खोज्दा डिउटीमा रहेका प्रहरीमाथि आक्रमण भएको हो। टोली प्रमुख प्रहरी सहायक निरीक्षक मानबहादुर चन्दको अनुहार र शरीरमा चोट लागेको छ। अन्य प्रहरी जवानलाई समेत चोट लागेको प्रहरी निरीक्षक ढुंगानाले जानकारी दिए।
घाइते प्रहरी सहायक निरीक्षक चन्दको गालाको दाहिने भागमा चोट लागेको छ। उनलाई जिल्ला अस्पताल बाजुराले उपचारका लागि बाहिर रिफर गरेको छ।
पक्राउ गरिएका पाँच जनामाथि अनुसन्धान भइरहेको ढुंगानाले बताए। अनन्ते मेलालाई शान्त बनाउन बडिमालिका नगरपालिका र जिल्लाका सरोकारवालाको बैठक बसी अनन्ते मेला अवधिभर भदौ २७ गतेदेखी रक्सी बेच्न र खान प्रतिबन्द गरिएको थियो। बेच्नेलाई पाँच हजार र खाएको भेट्टाए पञ्चीस सय जरिवाना तोकेको छ।