काठमाडौँमा कविता तङ्सिङ
काठमाडौँ : याक्थुङ लेखक संघ काठमाडौं उपत्यका समितिको आयोजनामा शनिबार राष्ट्रिय नाचघरमा सम्पन्न कार्यक्रममा सहभागी कविहरुले लिम्बुवानी इतिहास, कला र संस्कृतिमा आधारित पहिचानवादी कविता वाचन गरे ।
आयोजकका अनुसार तङ्सिङ् अर्थात लिम्बुहरुको धार्मिक अनुष्ठानलाई कवितासँग जोडेर कविताको अनुष्ठानको स्वरुपमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा २२ कविहरुले कविता वाचन गरे । कविहरु हाङयुग अज्ञात, बिमला तुम्खेवा, स्वप्निल स्मृति, प्रकाश थाम्सुहाङ, चन्द्रवीर तुम्बापो, प्रकाश आङ्देम्बे, मुनाराज शेर्मा, राज माङ्लाक, देवेन्द्र सुर्केली, सुन्दर कुरुप, प्रदीप मेन्याङ्बाले कविता वाचन गरे ।
यस्तै, संगम सुहाङ, साङ्सेन वारक, मधु केरुङ, विष्णु नेम्बाङ, अप्सरा लावती, रञ्जना लिङ्देन, उत्तम लिम्बु, रोहित आङबो, सीता तुम्खेवा, सनि लिम्बु र बच्चु हिमांशुको समेत कविता वाचन थियो ।
कार्यक्रममा तुम्याङको रुपमा बैरागी काइँला, अभि सुवेदी, बालकृष्ण माबुहाङ, येहाङ लावती, श्रवण मुकारुङ, योगराज वनेम, इन्दिरा याक्थुङ्बा, अमर तुम्याहाङ र निरन्ती तुम्बापो थिए । तुम्तुम्याहाङ अर्थात प्रमुख तुम्याहाङको रुपमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति बैरागी काइँलाले कविता तङसिङ् एउटा सुन्दर अवधारणाको रुपमा सुरु भएको बताए ।
सहप्राध्यापक बालकृष्ण माबुहाङले तङ्सिङको सांस्कृतिक पक्ष बारे मन्तव्य दिए । कार्यक्रमका बारेमा बोल्दै प्राज्ञ कवि श्रवण मुकारुङले कविता तङ्सिङ् एउटा अविश्मरणीय, उच्च कोटीको, ऐतिहासिक र सुसंस्कृत अभियानका रुपमा सुरु भएको बताए ।
कविता, संगीत, संस्कृति र विचारको सुन्दर समायोजनद्वारा समग्र मानवजीवनको वेदना प्रस्तुत भएको उनले बताए । ब्लिस म्यूजिकको सहकार्यमा रैथाने सङ्गीत समूहको पाश्र्व सङ्गीत रहेको उक्त अन्प्लग्ड कवितावाचन कार्यक्रमको सङ्गीत संयोजन समूहकी संस्थापक झूमा लिम्बुले गरेकी थिइन् । बीचमा कलाकार तथा गायक यासेली योङ्हाङको प्रस्तुति पनि राखिएको थियो ।
ज्ञानोदय बालबाटिका स्कूल, ललितपुर, इतर आवाज साहित्य समाज, दक्षिण कोरिया र याक्थुङ लेखक संघ, दक्षिण कोरिया समितिको सहप्रायोजन रहेको थियो ।