बालबालिका जोगाउनै मुस्किल

बालबालिका जोगाउनै मुस्किल

राजविराज : साहुको घरबाट भाँडाबर्तन माझेर साँझ नपर्दै आइ पुग्नुपर्ने १३ वर्षीया छोरी रात पर्दा समेत नआएपछि सीता नराम्ररी अत्तालिइन्।

सीता विरामी परेकीले भाँडाबर्तन माझ्न र घर लिपपोत गर्न भदौ १२ गते जेठी छोरीलाई पठाएकी थिइन्। साहुजी कहाँ फोन गर्दा दुई घण्टा अघि नै छोरी निस्किएको थाहा पाएपछि मन झनै छटपटाउन थाल्यो। दश वर्षीया माइली छोरीलाई डेरामा एक्लै छाडी अढाई वर्षीया कान्छी छोरीलाई काखमा च्यापी उनी हराएकी छोरी खोज्न बजार निक्लिन। कतै फेला नपरेपछि रातको दश बजे हराएकी छोरीबारे हुलिया जाहेरी दिन जिल्ला प्रहरी कार्यालय पुगिन्।

प्रहरीको खोजतलासको आश्वासन लिएर उनी डेरा फर्किन। मध्यरातमा अद्र्धबेहोसी अवस्थामा जेठी छोरी घर अगाडि ठिंग उभेको पाएपछि बहिनीहरु खुशी भए। भयभित हुँदै छोरीनजिक पुगेकी सीतालाई जे भय थियो त्यहीं घटना भइसकेको थियो।

साहुको घरबाट पैदल घर फर्किरहेकी बालिकालाई राजविराज ४ का आसमान निरालेले बीच बाटोमै भेंटेर नास्ता र फ्रुटी खुवाए। घरधनीले सञ्चालन गरेको चिया पसलमा आइरहने निरालेसँग देखादेख र सामान्य चिनजान रहेछ। मौकाको खोजीमा रहेका निरालेले उनले खाने नास्ता र फ्रुटीमा लागु औषध मिसाई दिए।

अद्र्धबेहोस अवस्थामा राजविराज ४ स्थित बैष्णव काली मन्दिर नजिकको कल्टु दास पोखरी किनारमा लगेर बलात्कार गरेपछि आरोपितले घरनजिक बालिका लगेर छाडि दिए। बिक्षिप्त अवस्थामा रहेकी बालिका स्वास्थ्य उपचार एवम मनोविमर्शका लागि अस्पताल भर्ना भइन्। घटनालाई गम्भिरतापूर्वक लिदै प्रहरीले भोलिपल्टै आरोपितलाई पक्राउ गर्‍यो।

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको माघ १४ गते घरभित्र हत्या भयो। अर्धनग्न अवस्थामा चोटपटकको निलडाम रहेको शव फेला परेपछि प्रहरीले अनुसन्धानका लागि उनका बुवा ४५ वर्षीय तुरन्तलाल बडहीलाई माघ १५ गते पक्राउ गर्‍यो। अनुसन्धानका क्रममा प्रहरीले जुन तथ्य फेला पा¥यो, त्यसले गाउँलेहरुको मथिंगल हल्लाइदियो।

आमाबुवा नै हत्या घटनामा संलग्न रहेको पाएपछि प्रहरी प्रतिवेदनको आधारमा इलाका प्रहरी कार्यालय कडरबोनाले उजुरी दर्ता गर्‍यो। प्रहरीका अनुसार भारतमा विवाहिता दिदीका देवरसँग प्रेम गरिरहेकी सरीताले घरपरिवारको मञ्जुरी नभए पनि प्रेमीसँगै विवाह गर्ने अडान राखेपछि बुवाआमाले नै सरीतालाई कुटपिट गरेर हत्या गरेका रहेछन्। जिल्ला अदालतको आदेशमा तुरन्तलाल फागुन ११ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्, उनकी श्रीमति पवनदेबी फरार छिन्।

यस्तै महादेवा गाउँपालिका–२ अकबरपुरबाट मामा भोलेन्द्र यादवको बिहेमा नाच्दै आफ्नै गाउँ राजगढ गापा–३ नर्घो जन्ती आएका १२ वर्षीय बालक बैशाख १५ गते अपहरणमा परे। भारत बिहारको सितामढी कुम्भ सिवहरबाट प्रहरीको टोलीले बैशाख १७ गते विहान बालकलाई उद्धार गरी ल्यायो।

जेठी श्रीमतिसँग सम्बन्ध विच्छेद गरी भोलेन्द्रले दोस्रो विवाह गरिरहेका थिए। बालककै गाउँका कान्छा भनिने रामअवतार यादव पक्राउ परेपछि उनकै वयानका आधारमा तिरहुत गाउँपालिका–४ डिमनका बिरेन्द्र यादव भनिने बिरेन्द्रप्रसाद यादव, उनका बहिनी ज्वाई राजगढ गाउँपालिका–३ नर्घोका सत्येन्द्र यादव र बिरेन्द्रका साला महादेवा गाउँपालिका–१ पकरी सोनराका प्रमोद भनिने जोगबिर यादव पक्राउ परे। उनीहरू जेठ २९ गतेदेखि पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा छन्।

गाउँमा बाख्रा चराउन जाने ठूला उमेरका साथीहरुले सिकाए अनुसार रुपियाँ चोरेको अभियोगमा सुरुङ्गा नगरपालिका– ३ दौलतपुरका नौ वर्षीय बालकलाई साउन ७ गते आमाले शौचालयमा थुन्नुका साथै निर्घात कुटपिट गरेर शरिरभरी निलडाम र रक्ताम्य बनाइन्।

यसरी पछिल्लो समय घरदेखि बाहिरसम्म कहालिलाग्दो रूपमा बढेको हत्या, अपहरण, बलात्कार र यौन हिंसाजस्ता गम्भीर प्रकृतिका अपराधबाट पीडित हुनेको ठूलो संख्या बालबालिका हुन थालेका छन्। सप्तरी प्रहरी प्रमुख, प्रहरी उपरीक्षक कृष्ण प्रसाई भन्छन,'अपराधको आँकडा हेर्दा बालबालिकालाई निशाना बनाउने क्रम निकै बढेको छ।'

प्रहरी प्रधान कार्यालयका अनुसार बलात्कारका घटना बढ्नु आफैंमा डरलाग्दो तथ्यांक छ। त्योभन्दा पनि झस्काउने तथ्य हो– बलात्कृत हुनेमा अधिकांश बालिका छिन्। सप्तरी प्रहरीका अनुसार गएको आर्थिक वर्ष २०७४/०७५ मा सप्तरीमा ४९ जनाको बलात्कार, १२ जनाको हत्या, नौ जनाको अपहरण, दुई जनाको अपहरण गरी बलात्कार भयो। घटनाको गम्भिरता नबुझ्ने बालिकाहरु प्रतिवाद र प्रतिकार गर्न असमर्थ हुने तथा त्रास र प्रलोभनमा छिट्टै पर्ने भएकाले पनि अपहरण, बलात्कार र हत्याका घटनामा अबोध बालबालिकालाई निशाना बनाइन्छ।

गत आर्थक वर्ष जिल्ला प्रहरी कार्यालय सप्तरीमा परेको एक सय ५३ जनाको उजुरीमा ७४ महिला, ६६ बालिका र १२ जना बालक हराएको उजुरी छ। अपराधबाट पीडित मात्र नभई अपराधमा संलग्न हुने सूचीमा समेत बालबालिकाको संख्या बढदो छ। आत्महत्या गर्नेमा समेत बालबालिका र किशोरकिशोरीको संख्या बढदो छ। विगत तीन वर्षमा आत्महत्या गर्ने दुई सय ८८ मध्ये ३७ जना किशोरकिशोरी रहेको सप्तरी प्रहरीको तथ्यांक छ।

‘जघन्य फौजदारी अपराधका पीडितहरूमा बालबालिकाको संख्या बढनु समाज असुरक्षित बन्दै गएको संकेत हो’ सप्तरी जिल्ला बार इकाईका अध्यक्ष डोमन साह भन्छन्,‘समाजमा कलिला नानीहरू जोगाउनै कठिन भएको छ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.