सामुदायिक विद्यालयलाई कमजोर भन्न मिल्दैन
शिक्षण कार्यमा लामो समय अध्यापन र संघर्ष गरेर अनुभवसँगै आफूमा क्षमताको विकास गरी आएका प्रधानाध्यापक हुन्, नातिकाजी महर्जन। महर्जनले शिक्षण पेसामा लागेको २५ वर्षपछि मात्र २०७० सालबाट प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका हुन्। उनी काठमाडौंको बाफलस्थित ज्ञानोदय माध्यमिक विद्यालय नामक सामुदायिक विद्यालयका प्रधानाध्यापक हुन्।
कुरा २०४६ सालको हो। राजधानीको अस्कल क्याम्पसमा स्नातक पढ्दापढ्दै उनी शिक्षण पेसामा लागेका हुन्। विज्ञान विषय लिएर पढे पनि उनलाई डाक्टर, इन्जिनियर, पाइलट बन्ने कुनै सोच थिएन। शिक्षक बन्छु भन्ने त झन् कल्पनै गरेका थिएनन्।
तर उनलाई आफ्ना शिक्षकहरूले एकदमै मेहनत गरेर पढाएको खुब मन पथ्र्यो। त्यति बेलादेखि नै उनलाई पनि म आफू मेहनती शिक्षक बन्छु र यही क्षेत्रमा केही गर्छु भन्ने लाग्यो।
स्नातक सकाएर बसेको बेलामा ज्ञानोदय माविमा निमावि तहमा गणित, विज्ञान विषयमा विद्यालयको आन्तरिक स्रोतबाट व्यवस्थापन गर्ने गरी खुलेको विज्ञापन देखेपछि उनले आवेदन दिए। उनी त्यसमा छानिए। त्यहीँबाट उनको अध्यापन कार्य सुरु भयो। त्यो समयमा उनले गणित, विज्ञान, जनसंख्या लगायतका विषय पनि पढाउँथे। हालसम्म उनले सोही विद्यालयमा अध्यापन गराएको ३० वर्ष कटिसक्यो।
यसै क्रममा प्रधानाध्यापकको जिम्मेवारी सम्हालेर काम गरेको पनि पाँच वर्ष बितिसकेको छ। ‘एकैचोटि प्रिन्सिपलको पद सम्हाल्न गाह्रो हुन्छ’, विगत सम्झँदै उनले भने, ‘मैले नौ महिनासम्म सहप्रधानाध्यापक भएर पनि काम गरेँ। यसले मलाई यो जिम्मेवारी सम्हाल्न धेरै मद्दत गर्यो।’
प्रधानाध्यापकको जिम्मेवारी पाउनु र पूरा गर्नु निकै चुनौतीपूर्ण भएको उनी स्वीकार्छन्। तर, उनले यस्ता चुनौतीलाई सजिलै सामना गरे। ‘सबै शिक्षकलाई समान व्यवहार गर्ने, उनीहरूको कुरा महसुस गर्नेलगायतका विषयमा प्रधानाध्यापकले ध्यान दिनुपर्ने रहेछ’, उनले अनुभव सुनाए। काम गर्ने तौरतरिका जानिएन र अल्छीपना बढ्यो भने काम गर्न गाह्रो हुने उनको भनाइ छ।
प्रधानाध्यापक जहिले पनि सक्रिय भइरहनुपर्छ। कुनै बेला एक्लैको बुद्धि र विवेकले काम गरेन भने सबैको सल्लाहअनुसार गर्न सकिने उनको सुझाव छ।
शिक्षक हुन् वा प्रधानाध्यापक, निजी विद्यालयभन्दा सरकारी विद्यालयमा स्वतन्त्र रूपमा काम गर्ने वातावरण भएको उनको बुझाइ छ। ‘निजी विद्यालयमा सबै कुरा प्रधानाध्यापकको निजी हुन्छ। त्यहाँ जसले पढाउँछ, मेहनत गर्छ त्यसको केही पनि हँुदैन। त्यसैले उनीहरूलाई कहिल्यै आत्मसन्तुष्टि हुँदैन। आफ्नो रोजीरोटी जोगाउन प्रिन्सिपल वा संस्थापकको खुसीका लागि काम गर्नुपर्छ’, उनी भन्छन्, ‘सरकारी स्कुलमा मेरो वा हाम्रो स्कुल भन्ने खालको सोचाइ हुन्छ। शिक्षक, विद्यार्थी र अभिभावकलाई पनि स्वतन्त्रता हुन्छ।’ यसले गर्दा विद्यालयको शिक्षालाई कसरी राम्रो बनाउने भन्नेमा प्रधानाध्यापकले सोच्नुपर्ने उनले बताए।
शिक्षा क्षेत्रमा समस्या
शिक्षण पेसामा लामो अनुभव सँगालेका महर्जन समग्र शिक्षा क्षेत्रमा समस्या रहेको बताउँछन्। सबैभन्दा पहिले निजी विद्यालय राम्रो र सामुदायिक विद्यालय नराम्रो भन्ने नकारात्मक सोच हटाउनुपर्नेमा उनी जोड दिन्छन्। उनी भन्छन्, ‘सहरकेन्द्रित निजी विद्यालय र अति दुर्गम अनि कुनाकन्दरामा अवस्थित सरकारी विद्यालयको पढाइमा केही न केही अन्तर त पक्कै हुन्छ। यसैलाई लिएर समग्र सामुदायिक विद्यालयलाई कमजोर भन्न मिल्दैन। यो सोच हामीले हटाइदिनुपर्छ। यसमा सबैले सहयोग गर्नुपर्छ।’
यसैगरी शिक्षा क्षेत्रमा समस्या निम्त्याउने अर्को कारण विद्यार्थीको घरभित्रको वातावरण हो भन्ने उनको अनुभव छ। महर्जन भन्छन्, ‘कोही सधैं नुहाइधुवाइ गरेर भगवान्को पूजा गरेर आउने विद्यार्थी हुन्छन् भने कोही सडकबाट टिपिएका अनाथ बालबालिका छन्। सबैलाई समान बनाउन गाह्रो हुन्छ।’ त्यसैगरी विद्यालय शिक्षालाई राम्रो बनाउन शिक्षक एकदमै जिम्मेवार हुनुपर्ने उनको भनाइ छ। विद्यार्थीको भविष्य शिक्षकको भरमै हुने हुनाले शिक्षकको भूमिका उनी महŒवपूर्ण ठान्छन्।
सरकारले शिक्षकको दरबन्दी पनि उपयुक्त किसिमले मिलाउन नसक्नु अर्को समस्या हो जस्तो लाग्छ उनलाई। ‘हाम्रो विद्यालयमा ईसीडी कक्षामा तीन सय विद्यार्थी छन्। तर सरकारले ईसीडीका लागि एकजना शिक्षक मात्र खटाएको छ। हामीलाई अरू थप शिक्षक ल्याउनुपर्ने हुन्छ।’ यस्ता विषयमा सरकारले ध्यान दिनु जरुरी रहेको उनी बताउँछन्।
२०२० सालमा किसान परिवारमा जन्मिएका महर्जन सानैदेखि गणित विषयमा रुचि राख्थे। उनले गणित विषयमै एमएड गरेका छन्।