नेपाली पैसा हुन्छ भन्ने थाहा थिएन
मेरी आमाका कोखबाट दाजु विश्वनाथ उपाध्याय र एक जना दिदी जन्मिएपछि लगातार तीन वटा गर्भ खेर गएछन्। त्यसपछि बल्लबल्ल वि.सं १९९५ सालमा महोत्तरीको जलेश्वरमा मेरो जन्म भएको हो। उतिबेलाको मधेसको चलनअनुसार मेरो दीर्घायुको कामना गर्दै मलाई एक पसर धान र दुई पैसामा एक दलित महिलालाई बेचिएछ। केही समय ती महिलाले मेरो पालनपोषण पनि गरिछन्। पछि मलाई घरमै ल्याइएछ।
मधेसकै चलनअनुसार मेरो नाक पनि छेडिएछ। बुवाको जागिर विराटनगरमा भएकाले मलाई पनि केही महिनाको हुँदै उतै लगिएछ। त्यसबेलाको जागिर राणाहरू तजबिजमा हुने भएकाले म पाँच वर्षको हुँदा बुवाको जागिर सकियो। जलेश्वरमा हाइस्कुल खुलिनसकेकाले म एक जना झा मास्टरसँग पढ्न थालेँ। त्यसपछि उनकै स्कुलमा भर्नासमेत भएँ। मैले त्योभन्दा पनि अघि बुवाआमाबाटै अक्षर चिनिसकेको थिएँ। बुवाले र गुरुले दाइलाई पढाउँदा आमालाई पूरै पाठ कण्ठ भएको रहेछ। आमा मलाई त्यही कुरा पढाउनुहुन्थ्योे।
मैले हिसाबहरू भने अर्का एक गुरुजीसँग पढेँ। त्यसबेला काठको पाटीमा भट्टाले लेख्ने चलन थियो। गुणन पढ्दा पूरा अंकको मात्र होइन डेढ, अढाई, साढे तीनको गर्दै पढाइन्थ्यो। दाइ भने बिहारको सुरसेनमा पढ्नुहुन्थ्यो। पछि बुवा फेरि विराटनगर जानु भयो। हामी पनि उहाँसँगै गयौं। मेरो पढाइ नियमित भइन। म नपढ्ने केटाहरूको संगतमा थिएँ। बयर टिप्न जाने, पौडी खेल्ने मेरो, दिनभर खेलेर बिताउने गर्न थालेँ।
त्यसपछि झापाको सदरमुकाम झिलमिलियामा बुवाको सरुवा भयो। बुवा त्यहाँ छोटी गोश्वारामा खरिदार हुनुहुन्थ्यो। त्यसबेला अनिरुद्रप्रसाद सिंह बडाहाकिम थिए। त्यहाँ पनि मेरो पढाइ नियमित नभएपछि म दाजुसँगै वनारस गएँ। म त्यहाँ पनि साथीहरू ढुंगामा चढेर गंगाजी पारि जाने, खरबुजा खाने र खेल्न र घुम्नमा व्यस्त हुन थालेँ।
२००७ सातको क्रान्ति हुँदा हामी झापामै थियौं। त्यहाँ जागिरेहरूलाई बन्दी बनाइएको थियो। पहिलो आक्रमणमा विश्वबन्धु थापाहरू आएका थिए। दोस्रो आक्रमण पछि बडाहाकिम पनि झापा छाडेर हिँडे। बुवाहरूलाई पनि कांग्रेसले बन्दी बनाएर राखेको थियो। लडाकुहरू दुरबिनको सहायताले हेर्थे अनि फायरिङ गर्थे। हामी पैनीबाट लुक्दै रमिता हेर्न पुग्थ्यौं।
त्यो घटना पछि हामी सबैलाई दाजुले वनारस लिएर जानु भयो। पछि बुवा उच्च अदालतको न्यायाधीशमा पुनर्बहाली हुनुभयो। म पनि २००८ सालमा जलेश्वरमा विद्यालय भर्ना भएँ। त्यहाँ लक्ष्मी चण्डी मुरारका स्कुल खुल्यो। तर विद्यालय त्यति राम्रो भएन। त्यसैबेला बुवाको काठमाडौं सरुवा भयो। म २००९ सालमा कक्षा ९ मा पद्मोदय हाइस्कुलमा भर्ना भएँ। काठमाडौं आएपछि मेरो साथीसंगत राम्रो भयो। डम्बरबहादुर कार्की, मोहनप्रसाद मैनाली, डिल्लीभक्त श्रेष्ठ आदि साथी थिए। उनीहरूको संगतले म एकाएक पढ्ने भएँ। उनीहरूले तानीतानी पढ्न लगाए। आईकम पढ्दा म आफैं प्रथम हुन थालेँ। स्नातक पटना कलेजबाट गरेँ। पछि कानुन विषय लिएर पढेँ।
काठमाडौं आएर धेरै पछिसम्म नयाँ लाग्थ्यो। तराईमा हुन्जेल नेपाल मेरो देशजस्तो हो लागेकै थिएन। सानैमा वनारस पुगेको मलाई नेपाली पैसा पनि हुन्छ भन्ने थाहा थिएन। त्रिभुवन र मोहनशमशेर नेपालका क्रमशः राजा र प्रधानमन्त्री हुन् भन्ने कुरा पनि पछि मात्रै थाहा भयो। तराईमा पूरै भारतको प्रभाव थियो। हामीले पढ्ने किताबमा भारतकै इतिहास पढाइन्थ्यो। हामी भारतकै नक्सा बनाउन सिक्थ्यौं। आपसमा कुरा गर्दा मात्र होइन चिठी लेख्दा पनि हिन्दी भाषाकै प्रयोग हुन्थ्यो। आमा पछिसम्म पनि काठमाडौंलाई नेपालमा दुःख छ भन्न्नुहुन्थ्यो।
मेरो पहिलो काठमाडौं यात्रा बढो रोचक छ। त्यसबेला शिवरात्रिको मेला हेर्न आउने चलन थियो। हामी सीतामणिबाट रेलमा रक्सौल आयौं। वीरगन्ज निस्किएर भैंसेको बाटो हिँडेरै थानकोट आएर बस्यौं। थानकोटबाट लरीमा चढेर त्रिपुरेश्वरमा ओर्लिएको अहिले जस्तो लाग्छ। त्यसबेला न त फोनको सुविधा न त ट्याक्सी ट्याम्पो। हामी सोध्दै खोज्दै डिल्लीबजार बुवाआमासम्म पुग्यौं।
मैले २०१७ साल भदौमा सिनियर लेखापालको रूपमा अधिकृत भएर जागिरे जीवनको सुरुआत गरें। कानुन विषय पनि पढिरहेको थिएँ। २०२० सालमा न्याय सेवामा सरुवा भयो कानुन मन्त्रालयको अधिकृतको रूपमा। पछि फेरि मोरङ कटन मिल्समा सरुवा भयो। पुनः वागमती अञ्चल न्यायाधीशको रूपमा सरुवा भयो। पारिवारिक कारणले उपत्यका बाहिर जान नसकेपछि म सरकारी वकिल भएँ। २०४० सालमा वरिष्ठ अधिवक्ता अर्थात् विशिष्ट श्रेणीको म्याद पुग्नै लागेको थियो। शाही न्याय सुधार आयोगमा काम गर्ने अवसर प्राप्त भयो। त्यसपछि क्षेत्रीय अदालत धनकुटा, पोखरा हुँदै काठमाडौं सरुवा भयो। २०४८ सालमा सर्वोच्चको न्यायाधीश भएँ। २०५९ सालमा सर्वोच्चको प्रधानन्यायाधीश बन्ने मौका पाएँ।। २०६० सालमा सर्वोच्च अदालतबाट अवकाश पाएँ।
२०६४ सालदेखि ६ वर्ष राष्ट्रिय मानव अधिकार आयोगको नेतृत्वमा रहेर काम गरें। हिजोआज अवकाश प्राप्त न्यायाधीश र आयुक्तहरूका अलगअलग फोरमको पनि नेतृत्व गर्छु। त्यस्तै अन्तर्राष्ट्रिय ल एसोसियसनको पनि अध्यक्षको रूपमा काम गरिरहेको छु।
असल संगतले खराब कामबाट एकाएक टाढा भइँदो रहेछ। म आफैं पनि खराब संगतका कारण सुरुमा बिग्रिएको थएँ। पछि असल साथीहरूकै कारण पढ्ने भएँ। पढाइको महत्त्व पनि उनीहरूबाटै बुझें। खेलेरै डुलेर समय बर्बाद भएको कुरा पनि बुझेँ। मानिसको जीवनमा अवसर ठूलो कुरा रहेछ। त्यसमा नियमितता पनि चाहिँदो रहेछ। स्कुल परिवर्तनले पनि असर पार्दो रहेछ।
हामीमा जहिल्यै प्रतिस्पर्धाको भावना चाहिन्छ। साथीहरूले आफूभन्दा राम्रो नम्बर कसरी प्राप्त गरे भन्नेबारे जानकारी राख्नु आवश्यक छ। म पनि आफूभन्दा जान्ने साथीहरूको कापी मागेर हेर्थें। हामीले हरेक प्रश्नको उत्तर फरक तरिकाले लेख्न सिक्नुपर्ने रहेछ। कुनै प्रश्नको उत्तर आएन भने सामान्य बुझेको कुरालाई विभिन्न तरिकाले लेखेर आकर्षक बनाउन सकिने रहेछ।
(पूर्वप्रधानन्यायाधीश एवं राष्ट्रिय मानव अधिकार आयोगका पूर्वअध्यक्ष उपाध्यायसँग समीरबाबु कट्टेलले गरेको कुराकानीमा आधारित।)