'बीआरआईलाई इन्डाे-प्यासिफिक रणनीतिसँग नजोडौं'
काठमाडौं : पूर्वप्रधानमन्त्री प्रधानमन्त्री द्वय पुष्पकमल दाहाल र माधव कुमार नेपालले बेल्ट एण्ड रोड इनिसियटीभ (बिआरआई) नेपालको हितमा रहेकाले यसको परियोजना अघि बढाउन ढिलाई गर्न नहुने बताएका छन्। उनीहरुले आइतबार राजधानीमा आयोजित बीआरआई संवाद कार्यक्रममा चीनले अघि बढाएको बीआरआई परियोजनामा ढिलाईले विकासको कार्यमा नै ढिलाई भएको भन्दै चिनियाँ अभियानको प्रशंसा गरे।
नेपाल बुद्धिजिवी संगठनले आयोजना गरेको संवाद कार्यक्रममा उनीहरुले बिआरआई ‘सैन्य गठबन्धन’ अन्तरनिहित कार्यक्रम नभएको भन्दै यसलाई स्विकार गर्नपर्ने बताए। उनीहरुले चिनीयाँ राष्ट्रपति सि चिनफिङको नेपाल भ्रमणको प्रशंग चलिरहदा यस्ता बहस हुनुलाई सहकार्यमा सकारात्मक विषय उठ्ने बताए।
नेपाल बीआरआईको परियोजना अघि बढाउन ढिलाई गरेको भएपनि अव यसलाई तत्काल अघि बढाउन पर्ने बताए। बीअरआई सम्झौता आगामी बैशाखमा सकिनै लाग्दा नेपालमा यस्ता कार्यक्रमले गति पाएको हो। किन बीआरआई परियोजना अघि बढेन भन्नेमा नेपाल भित्र एकाथरिको ठूलो चिन्ता छ भने अर्का थरिले यो कार्यक्रम नेपालको हितमा नरहेको बताउँदै आएका छन। कतिपयले बीआरआई र इन्डो प्यासिफिक रणनीतिलाई एक अर्कामा दाँजेर समेत हेरेका छन। दुईको बीचमा नेपाल परेको पनि बताइरहदा दूई पूर्व प्रधानमन्त्री र परराष्ट्रमन्त्रीलगायतले बीआरआई परियोजना दुईपक्षीय संजाल विस्तार गैर सैन्य कार्यक्रम रहेको बताए।
नेकपा अध्यक्ष दाहालले बीआरआई विश्व शान्ति, मानवजातिको समृद्धि र सामाजिक सदभाव कार्य गर्ने लक्ष्यले स्थापना भएको बताए। उनले चिनिया विदेशमन्त्रीसँग नै इन्डो प्यासिफिक अस्विकृत गरेको भन्दै बीआरआईको प्रशंसा गरेको खुलासा भइसकेको छ। ‘सामुहिक ढंगले शान्ति, विकास, समृद्धि र सोसियल हारमोनीको पक्षमा अपिल गरेको छ,’ उनले भने, ‘बीआरआईबाट नेपालले अधिक लाभ लिन सक्छ।’ वर्तमान सरकारले पनि यसलाई सकारात्मक रुपमा लिनुको अर्थ हो, विश्व शक्तिमा अग्रसर मुलुक चीनले सैन्य गठबन्धनको विषय नउठाउनु नै हो।’
कुनैपनि समाजमा विचारको हस्तक्षेप भएन भने त्यहाँ प्राप्त उपलब्धीहरु गुम्न सक्ने खतरा पनि रहने बताए। सडक, रेल, इन्धनको पाइपलाइन, सूचना हाइवे लगायत विविध विषयमा रहेकाले पनि बीआरआईलाई अघि बढाउन ढिलाई गर्न नहुने बताए। उनले नेपालले आफ्नो मुलुकको हित हेरेर काम अघि बढाउन पर्ने पनि बताउँदै भने, ‘कसले के भन्यो भन्दा पनि हामीले यसलाई कसरी लिएर अघि बढ्ने भन्ने नै मुख्य कुरा हुन्छ।’
नेकपाका अर्का नेता नेपालले पनि बीआरआई विश्वलाई जोड्दै सहकार्य गर्न अघि बढाइएको परियोजना भएकाले यसमा नेपाल आत्तिनुपर्ने अवस्था नभएको बताए। ‘विश्व अहिले बैकल्पिक ध्रुवको खोजी गरिरहेको अवस्थामा छ,’ उनले भने, ‘हामीले एक अर्कामा सहकार्य गरेर नै अघि बढ्न आवश्यक छ। बिआरआई कुनै बहुपक्षीय फोरम नभै दुईपक्षीय रुपमा सहकार्य गर्ने फोरम हो।’
विकाशमा अग्रसर चीनसँग सहकार्य गर्दै आफूलाई पनि विकासको गतिमा अघि बढाउन यो फोरमसँग सहकार्य गर्दा कुनै वेफाइदा नभएको उनले बताए। यो चीन र सम्वन्धित मुलुकको लागि भएपनि अन्ततः सबै एक अर्कामा जोडिने हुनाले सहकार्यको लागि महत्वपूर्ण रहने बताए।
नेपालको मित्रता सबैसँग समान
परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले दुईपक्षीय सम्वन्धहरुमा खाडल बनाउने कुनै पनि गतिविधि सरकारलाई स्विकार्य नहुने बताए। उनले खासगरि कतिपय मुलुकले गर्ने भनेको सैन्य सहकार्य तर्फ इंगित गर्दै भने, ‘नेपालले कुनै पनि मुलुकसँग वैरभाव नराख्ने विदेश नीति लिएको छ। कुनैपनि सैन्य गठबन्धनमा नेपाल छैन।’ राष्ट्र हितलाई केन्द्रमा राखेर नेपालले आफ्नो विदेश नीतिलाई अघि बढाएको बताए।
‘भारत चीन अमेरिका अन्य मित्र मुलुकसँग सबै प्रकारको विषयमा छलफल भएपनि कसैसँग पनि बैरभाव राख्ने पक्षमा सरकार छैन,’ उनले भने। सरकारले कसैलाई पनि चिढ्याउने र एकमुलुकसँग भएको विषय अर्कोसँग गर्ने काम नगरेको स्पष्ट पारे। उनले नेपाल चीनबीच भएका सहमति अनुसारका परियोजनाहरु अघि बढ्ने तयारीमा रहेको बताए। ‘क्रस बोर्डर इकोनोमिक जोन’ स्थापना गर्ने लगायत विविध सहकार्य तयारीमा नेपाल चीनबीच छलफल भइरहको पनि बताए।
पूर्व परराष्ट्रमन्त्री सुजाता कोइरालाले कुनैपनि काम गर्नुभन्दा अघि कर्मचारी संयन्त्रलाई चुस्त बनाउन पर्ने बताए। बीआरआई परियोजनामा काम गर्ने दृढता बोकेका कर्मचारी नेपालको छ भन्दै उनले भने, ‘यो वा त्यो निहुमा अर्को छिमेकी चिढ्याउने काम सरकारले गर्न हुँदैन। हामी भारत तर्फ धेरै सहकार्यमा छौ भने चीन तर्फ केही।
भूगोल र पानी ढलोलाई पनि ख्याल गर्न आवश्यक छ।’ अर्का पूर्व परराष्ट्रमन्त्री एवं कूटनीतिज्ञ डा. भेषबहादुर थापाले आफूलाई काम गर्दा गर्दै बुढो भैसकेको मानिस तर अझै पनि मुलुकको लागि काम गर्न तयार रहेको भन्दै कसैलाई नचिढ्याई सबैसँग सहकार्य गर्दै विगतको कूटनीति नभूली अघि बढ्दा राम्रो हुने सुझाए।
नेकपा स्थायी समिति सदस्य अग्नी सापकोटाले बीआरआई नया परियोजना र कदम हो भन्दै यसबाट अधिक फाइदा लिनपर्ने बताए। परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान (आईएफए)का अनुसन्धानकर्ता मात्रिका पौडेलले सबै उपलब्धि एउटै नेताको पालामा लिइहाल्नुपर्छ भन्ने नभएको बताउँदै भने, ‘दिर्घकालिन योजना तत्काल अघि बढाउने र पछिको पुस्तालाई काम गर्ने बाटो राखिदिनुपर्ने हुन्छ।’
कार्यक्रममा हरि रोका, डा. सरोज धिताल, डा. महेश मास्के त्रिभुवन विश्वविद्यालयका प्राध्यापक खड्क केसी लगायत दर्जन बढिले धारणा राखेका थिए।