अघि बढ्दै तीन पेट्रोलियम र ग्यास पाइपलाइन

अघि बढ्दै तीन पेट्रोलियम र ग्यास पाइपलाइन

काठमाडौं : नेपाल आयल निगमले मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाहेक थप तीनको योजना अघि बढाएको छ । यसमध्ये दुई पेट्रोलियमको र एक एलपीजी (खाना पकाउने) ग्यासका पाइपलाइन छन् । नेपालमा खपत हुने पेट्रोलियम पदार्थको आन्तरिकरूपमा पाइपलाइनको सञ्जाल निगमले विस्तार गर्न लागेको हो। 

निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलका अनुसार यसमध्ये अमलेखगञ्जको क्षेत्रीय डिपोको पाइपलाइनमा जोडेर ६२ किलोमिटर टाढा रहेको चितवनको लोथरसम्म एउटा पेट्रोलियम पाइपलाइन ओछ्याइनेछ । यो पाइपलाइनमार्फत मोतिहारी–अमलेखगञ्ज आउने पेट्रोलियम पदार्थको परिमाणकै हाराहारीमा लोथरसम्म पुग्नेछ ।

पाइपलाइनसँगै रक्सौलको इण्डो–नेपाल बोर्डरदेखि चितवनको लोथरसम्म करिब ९८ किलोमिटरको रुटमा ग्यासको पाइप योजना पनि अघि बढाइएको छ । यसबाहेक अमलेखगञ्जको डिपोबाट जोडेर निजगढ हुँदै दु्रतमार्गसँगै काठमाडौंसम्मको ७६ किलोमिटर खण्डमा पेट्रोलियम पाइपलाइन ओछ्याउने कार्यले पनि गति लिएको छ । ‘ग्यास र पेट्रोलियम पदार्थको गरी तीनवटा पाइपलाइनलाई योजनामा समावेश गरी दु्रतगतिमा काम गराइरहेका छौं’, निगमका कार्यकारी निर्देशक पौडेलले अन्नपूर्णसँग भने, ‘त्यसपछि सिल्लीगुडीबाट झापासम्म र अर्को सुदूरपश्चिममा पनि पाइपलाइन लग्ने प्रारम्भिक छलफल भइरहेको छ ।’

निगमका अनुसार अहिले अमलेखगञ्जदेखि लोथरसम्मको पेट्रोलियम पाइपलाइन र इण्डो–नेपाल बोर्डरदेखि लोथरसम्मको ग्यासको पाइपलाइन ओछ्याउने विषयलाई युद्धस्तरमा गति दिइएको छ । यो दुवै पाइपलाइनको विभिन्न चरणको सर्वे गर्ने जिम्मेवारी इण्डियन आयल कर्पोरेसन (आईओसी)ले भारतको मुम्बईस्थित एमएस एसोसिएसनलाई दिएको छ । निगमको आग्रहमा आईओसीले आफ्नै खर्चमा लोथरसम्मको पेट्रोलियम र ग्यासको पाइपलाइनको विभिन्न चरणको अध्ययन गराउने काम सुरु गरेको हो ।

पौडेलका अनुसार गत बुधबारसम्म एमएस एसोसिएसनले विभिन्न सात चरणमा अध्ययन गर्ने जिम्मेवारी पाएको छ । ‘पेट्रोलियम पाइपलाइन र ग्यासको पाइपलाइन एउटै रुट र खाल्डोबाट लग्ने भएकाले ती दुवै प्रयोजनका लागि ग्यासको पाइपलाइन ओछ्याउनपर्ने रुटकै विषयमा सात प्रकारको अध्ययन थालिएको छ’, पौडेलले भने । इण्डो–नेपाल बोर्डरदेखि चितवनको लोथरसम्मको करिब ९८ किलोमिटरको रुटमध्ये हालसम्म साढे ९७ किलोमिटरमा पाइपलाइनको रेखांकन गर्ने काम सम्पन्न भएको छ । साढे ९७ किलोमिटर रुटमा जनसंख्याको घनत्वको सर्वे र माटो परीक्षणको काम सकिएको छ । यस्तै साढे ६७ किलोमिटरको रुटमा विस्तृत इन्जिनियरिङ सर्वे पूरा भएको छ । यसबाहेक प्रडक्ट पाइपलाइनको रुटसम्बन्धी ३७ किलोमिटर खण्डमा काम सकिएको छ । विस्तृत इन्जिनियरिङ सर्वेको काम सम्पन्न भएपछि आरसीसी पिलरको काम पनि सम्पन्न गरिने निगमले जनाएको छ ।

निगमले लोथरमा खरिद गरेको २४ बिघा नौ कट्ठा जग्गामा पेट्रोलियम पदार्थको एक लाख किलोलिटरको छुट्टै भण्डारण गृह र ग्यासका लागि ४० हजार मेट्रिक टनको छुट्टै भण्डारण गृह निर्माण गरी दुई प्रकारको पाइपलाइनमध्ये एकमार्फत पेट्रोलियम पदार्थ र अर्को पाइपलाइनबाट ग्यास उक्त भण्डारण गृहमा भण्डारण गर्ने योजना अघि बढाएको छ ।

निगमका अनुसार भारतको हल्दियाबाट मुज्जफरपुरसम्म अहिले ग्यास पाइपलाइनको विस्तार गर्ने काम भइरहेको छ । यो पाइपलाइन मोतिहारीबाट रक्सौलको इण्डो–नेपाल बोर्डरसम्म आएपछि यसमै लोथरको पाइपलाइन जोडिनेछ । लोथरसम्मको यो दुई पाइपलाइनको काम सँगसँगै भइरहे पनि पाइपलाइन ओछ्याउनपर्ने लागत खर्च परिचालनको विषयमा भने कुनै टुंगो लागेको छैन । विस्तृत इन्जिनियरिङ सर्वेको काम सम्पन्न पश्चात मात्रै लागत खर्चको पूर्णविवरण आउनेछ ।

निगमका अनुसार आईओसीलाई ती दुवै प्रकारको पाइपलाइन आफ्नै खर्चमा ओछ्याइ दिन आग्रह गरिनेछ । ‘आईओसीले आफ्नै खर्चमा पाइपलाइन ओछ्याउन साकारात्मक नभएको अवस्थामा आर्थिक स्रोत जुटाइदिन सरकारसँग आग्रह गर्छो,’ निगम स्रोतले भन्यो । अमलेखगञ्ज–लोथर पाइपलाइनका कारण काठमाडौं उपत्यकासहित धादिङ, चितवन, हेटैाँडा, नवलपरासी, बुटवल, भैरहवासहितका क्षेत्रमा पेट्रोलियम आपूर्तिमा सहजता आउनेछ ।

यसबाहेक ढुवानीबापत ट्यांकरलाई उपलब्ध गराइने प्रतिलिटर करिब ७० पैसाका दरले ठूलो रकम जोगिने र पेट्रोलियम पदार्थको गुणस्तरमा पनि सुनिश्चितता हुने निगमले जनाएको छ । यस्तै पाइपलाइनमार्फत ग्यासको आपूर्ति भएको अवस्थामा निगमले वार्षिक अढाई अर्ब रुपैयाँ बचत गर्न सक्छ ।

अघि बढ्दै द्रुत मार्ग पाइपलाइन

निजगढ–काठमाडौं पेट्रोलियम पदार्थको पाइपलाइनको कार्यलाई गति दिइएको छ । निगमका अनुसार निजगढ–काठमाडौं दु्रतमार्गसँगसँगै पाइपलाइन ओछ्याउने कामलाई गति दिइएको हो । दु्रतमार्गसँगै पाइपलाइन ओछ्याउन निगमलाई नेपाली सेना तथा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सहमति दिएको छ ।

यसका लागि अध्ययनको जिम्मा इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिइएको छ । फास्टट्रयाक पेट्रोलियम पाइपलाइनको प्रारम्भिक अध्ययन कार्यदलका संयोजक प्रा.डा. श्रीरत्न बज्राचार्यका अनुसार ७६ किलोमिटर खण्डमा पाइपलाइन ओछ्याउन प्रारम्भिक चरणको अध्ययन सुरु भएको छ । पाइपलाइन सकेसम्म दु्रतमार्गको सर्भिस लाइनमा ओछ्याउने तयारी छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.