प्रधानमन्त्री ओलीलाई मोदीको धन्यवाद, नेपाली भाषामै फर्काए जवाफ
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ट्वीटरमार्फत तीन भाषामा जन्मदिनको शुभकामना दिएका थिए । शुभकामनाको उत्तरमा मोदीले नेपालीमा नै ओलीलाई धन्यवाद दिएका छन् ।
मंगलबार बिहानै अंग्रेजी, हिन्दी र गुजराती गरी तीन भाषामा लगातार ट्वीट गर्दै प्रधानमन्त्री ओलीले शुभकामना दिएका थिए । त्यसको प्रतिउत्तरमा मोदीले भने नेपाली भाषामा नै ट्विट गर्दै धन्यवाद दिएका छन् ।
उनले ट्विट गर्दै लेखेका छन्, 'मेरा मित्र प्रधानमन्त्री ओलीज्यू तपाईंको शुभकामनाका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु । यहाँको शुभकामनाको अत्यन्तै कदर गर्दछु ।'
प्रधानमन्त्री ओलीले भने मंगलबार बिहानै मोदीलाई शुभकामना दिएका थिए । ‘प्रधानमन्त्री नरेन्द्र मोदीजी तपाईंलाई जन्मदिनको हार्दिक शुभकामना’ओलीले मोदीलाई मेन्सन गर्दै लेखेका छन् । ‘म तपाईको राम्रो स्वास्थ्य, खुसी जीवन र दीर्घायूको कामना गर्दछु’।
‘मलाई पूरै विश्वास छ की हामी मिलेर नेपाल–भारतको द्वीपक्षीय सम्बन्ध अझै धेरै मजबुद बनाउँदै लानेछौं’ शुभकामना सन्देशमा ओलीले लेखेका छन्। सन १९५० सेप्टम्बर १७ मा गुजरातमा जन्मिएका मोदी ६९ वर्ष पुगेका छन् ।