गोठमा प्रहरी, सुरक्षा कसरी ?

गोठमा प्रहरी, सुरक्षा कसरी ?

सुदूरपश्चिम प्रदेश ब्युरो। धनगढी : जीर्ण र कच्ची भवन। पानी पर्दा चुहिन्छ। घाम लागे गर्मी हुन्छ। थुनुवा राख्ने ठाउँ छैन। कतिपय प्रहरी त रातभर अन्तै बास बस्छन्। कतै ठाउँ अभावमा पालो गरेर सुत्छन्। नागरिक सुरक्षाका लागि सुदूरपश्चिममा खटिएका प्रहरीले लामो समयदेखि भोग्दै आएको समस्या हो यो।

भैंसीगोठ रङरोगन गरी चिटिक्क पारिएको छ। भित्र–बाहिर गर्दा टाउको ठोक्किन्छ। हरेक वर्ष त्रिपाल फेरेन भने पानी चुहिन्छ। बर्खामा सर्पको डर उस्तै। यो दृश्य अछामको रामारोशन–३ सान्तडास्थित प्रहरी चौकीको हो। यही भवनबाट प्रहरीले सुरक्षा दिँदै आएको छ।

यस्तो समस्या सुदूरपश्चिम प्रदेशका अधिकांश प्रहरी कार्यालयले भोग्दै आएका छन्। नागरिकको सुरक्षामा खटिनुपर्ने प्रहरीलाई कार्यालयको चिन्ता देखिन्छ। अभियुक्त ल्याउँदा त समस्या थपिन्छ।

सान्तडामा थुनुवा राख्ने ठाउँ नरहेको प्रहरी सहायक निरीक्षक भरतबहादुर रोकाया बताउँछन्। ‘तल भैंसी बाँध्ने र माथि गोठालो सुत्न बनाइएको गोठ हो यो’, उनले भने, ‘त्यसलाई रङरोगन गरी बस्न मिल्ने बनाएका छौं। थुनुवा ल्याए राख्ने ठाउँ छैन।’ कार्यालय सार्ने भनिए पनि स्थानीयको विरोधका कारण रोकिएको उनले सुनाए।

अछामकै ढकारी गाउँपालिकास्थित प्रहरी चौकी आठ दशक पुरानो जीर्ण घरमा छ। ‘भाडाको घर, बर्खामा चुहिन्छ। त्रिपाल हालेर बस्नुपर्ने बाध्यता छ’, प्रहरी नायब निरीक्षक मदनसिंह धामीले भने, ‘घर पुरानो भएकाले काठ खस्ला भन्ने चिन्ता लाग्छ।’ मेल्लेख गाउँपालिकामा उस्तै अवस्था रहेको प्रहरी सहायक निरीक्षक रमेशबहादुर बोहराले बताए। ‘पानी परेपछि बस्ने अवस्था हुँदैन’, उनले भने, ‘पाल हालेर जसोतसो बस्दै आएका छौं।’

अछाममा जिल्ला कार्यालयसहित सात इलाका, १२ चौकी, चार अस्थायी पोस्ट छन्। यीमध्ये जिल्ला प्रहरी, इलाका, प्रहरी चौकी साँफेबगर, चौखुट्टे र मंगलसेन प्रहरी चौकी मात्रै आफ्नो भवनमा छन्। गाउँका कार्यालय जीर्ण हुँदा सेवाप्रवाहमा समस्या रहेको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक जनक शाहीले बताए। ‘जीर्ण भवनबाट शान्ति–सुरक्षाको काम गर्नुपर्ने बाध्यता छ’, उनले भने।

कैलालीको सुगरखाल प्रहरी भवन उस्तै जीर्ण छ। कच्ची घरमा जस्ताको छानो। भित्ता खुइलिनै लागेको। बेलुका सुत्न पालो पर्खिनुपर्ने। यहाँ २५ जनाको दरबन्दी छ।

‘सबै कार्यरत छौं। सुत्दा आधारातसम्म आधा, त्यसपछि आधा गरी पालो गर्छौं’, प्रहरी नायब निरीक्षक नारद धामीले भने, ‘सुत्न १० जना मात्रै अटाउँछ।’ उनका अनुसार प्रहरी भवनमा अभियुक्त राख्ने ठाउँ छैन। कैदीबन्दीका लागि सुविधासम्पन्न भवन बनिरहे पनि प्रहरीको भने बिजोग रहेको सुगरखाल स्वास्थ्य चौकी इन्चार्ज जयनन्द जैसीले बताए।

घरभेटीसँगै बास

बझाङको बिसौना प्रहरी चौकीको पहिलो तलामा घरभेटी बस्छन्। त्यसको भुइँतलामा प्रहरी कार्यालय छ। सिंगै घर नपाइएकाले कार्यालयलाई सडक वारि र ब्यारेकलाई पारि छुट्टाछुट्टै भवन भाडामा लिइएको प्रहरीले जनाएको छ। ‘दुवै भवनको बीचमा सार्वजनिक बाटो छ। न बार न फराकिलो आँगनै छ’, इन्चार्ज लालबहादुर साउदले भने, ‘प्रहरीको दैलो भएर बटुवा हिँडिरहँदा डिउटीका प्रहरीले छेउ लाग्नुपर्ने अवस्था छ।’

बझाङमा जिल्ला प्रहरी, इलाका प्रहरी बुगोल र तल्कोट प्रहरी चौकी मात्रै आफ्ना भवनमा छन्। प्रहरी चौकी बित्थड, बागथला र देउरा, झोता, थलारा, मालुमेला, छान्ना, चौधारी, व्यासी, विमानस्थल, दौलीचौर र सीमा प्रहरी चौकी धुली भाडाकै भवनमा छन्। भौतिक पूर्वाधार अभावले समस्या भएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गणेशबहादुर बमले बताए।

जिल्ला प्रहरी जीर्ण भवनमा

डोटी सुदूरपश्चिमको साबिक क्षेत्रीय सदरमुकाम हो। क्षेत्रीय प्रहरी कार्यालय पनि छ। जिल्ला प्रहरी भने जीर्ण भवनमा छ। जिल्ला प्रहरी प्रमुखदेखि अन्य प्रहरी अधिकृत बस्ने भवन छैन। जिल्ला प्रहरी कार्याल डोटी ब्यारेक।

प्रहरी छाप्रोमा बस्न बाध्य छन्। त्यसमा पनि कोचाकोच बस्नुपरेको जवान जोबन शाहीले बताए। पानी पर्दा सुत्ने कोठा चुर्लुम्म हुने गरेको उनले सुनाए। घाम लाग्दा गर्मीले बस्न गाह्रो हुन्छ।‘महिला प्रहरीलाई झनै समस्या छ’, निमित्त जिल्ला प्रहरी प्रमुख प्रहरी निरीक्षक कर्णबहादुर बोहराले भने, ‘उनीहरू बाहिर कोठा लिएर बसिरहेका छन्।’ भवन अभावमा एउटै कोठामा चार–पाँचवटा टेबल राखेर काम गर्नुपरिरहेको उनले सुनाए।

इलाका प्रहरी आदर्श र लडागडा विद्यालयको जीर्ण भवनबाट सञ्चालनमा छन्। विद्यालयले छाडेका भवनमा प्रहरी बसेको हो। प्रहरी चौकी डौड, अस्थायी प्रहरी पोस्ट खड्यौली, राजपुर र गडसेरा जीर्ण भवनमा छन्।

बस्नकै समस्या

दशरथचन्द–१० बाराकोटस्थित चौकी भाडाको घरमा छ। घर कच्ची भएकाले वर्षाको पानी छानामा नपुग्दै भित्र पस्छ। ‘पानी परेका बेला घरभित्र बस्नै सकिँदैन। चुहिएर बिजोग हुन्छ’, इन्चार्ज जयसिंह भाटले भने, ‘यताउता गएर ओत लाग्नुपर्ने अवस्था छ। हामी सीमानजिकको प्रहरी हौं। धेरै कुरामा हामीले ध्यान दिनुपर्ने हुन्छ। तर, हामीलाई बस्नकै समस्या छ।’

सतबाँझस्थित अस्थायी प्रहरी पोस्ट पनि असुरक्षित भवनमा छ। ‘घर भाडामा लिएर बसेका छौं। घरको छतमाथि पाल टाँगेर ११ जना बस्नुपर्ने स्थिति छ’, प्रहरी सहायक निरीक्षक मानसिंह पन्तले भने, ‘वर्षात्मा साह्रै अप्ठ्यारो हुन्छ। भवन जीर्ण छ।’ पञ्चेश्वरको कुलाउस्थित चौकी पनि भाडाकै घरमा छ। घर पुरानो भएकाले वर्षात्मा बस्न सकस हुने प्रहरी सहायक निरीक्षक मिट्ठु बोहराले बताए।

बैतडीका १७ चौकी भाडाका भवनमा छन्। अधिकांश जीर्ण अवस्थामा रहेको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक किसन चन्दले बताए। ‘अधिकांश चौकी भाडाका भवनमा छन्। हामीले चाहेअनुसार घर मिल्दैन। कतिपय ठाउँमा भाडाको कुरा मिल्दैन’, उनले भने, ‘यस्ता विविध समस्या छन्। भवनको समस्याले सेवा प्रदानमा केही असहज भएको छ।’ बाराकोटा, थालिगडा, सेरा, नागार्जुन, खोचलेक, गोकुलेश्वर, कुलाउ, शंकरपुर, रोडीदेवल, कुस्मौदघाट, महाकाली, हल्दुविनायक, शिवलिंग र धर्मघाट प्रहरी चौकी भाडाका भवनमा छन्।

नागरिकको सुरक्षा गर्ने प्रहरी असुरक्षित भवनमा बसेको जगन्नाथ बहुमुखी क्याम्पसका प्रमुख पृथ्वीराज अवस्थीले बताए। ‘देश संघीय संरचनामा गइसकेको छ’, उनले भने, ‘यस्तो अवस्थामा प्रहरी झनै मजबुत हुनुपर्छ।’

त्रिदेशीय नाकामा बेहाल

सीतापुल प्रहरी चौकीले दार्चुलाको हिमाली क्षेत्र हेर्छ। यहाँका प्रहरी भारत, चीन र नेपाल गरी त्रिदेशीय सीमा सुरक्षा गर्न खटिएका हुन्। उनीहरू पनि जीर्ण भवनमा बस्न बाध्य छन्। २०२७ सालदेखि सीतापुलमा प्रहरी बस्दै आएको हो। बर्खामा त्रिपाल हालेर बस्नुपर्ने अवस्था छ। त्रिपाल ल्याउन पनि दुई दिन लगाएर जिल्ला सदरमुकाम खलंगा आउनुपर्छ।

कागजात जोगाउनै मुस्किल हुने गरेको प्रहरी सहायक निरीक्षक रूपसिंह साउदले बताए। ‘बर्खामा पानी परेर बस्न धौधौ हुन्छ भने हिउँदमा हिउँ परेर चिसोले बस्नै सकिँदैन’, उनले भने, ‘एकातर्फ पेटभर खान पाइँदैन। खानका लागि दाल, तरकारी पाउनै मुस्किल हुन्छ।’ यो अस्थायी पोस्ट जंगलको बीचमा छ।

खण्डेश्वरी प्रहरी चौकीको भवन भत्किने अवस्थामा छ। पानी परे सुत्न नपाइने प्रहरी सहायक निरीक्षक केशवदत्त पन्तले बताए। ‘पानी परेका दिन कार्यालका कागजात जोगाउनै मुस्किल पर्छ’, उनले भने।

दार्चुलामा प्रहरीका अस्थायी ६ र स्थायी २३ गरी २९ वटा सुरक्षा चौकी छन्। इलाका प्रहरी चौपाता, प्रहरी चौकी खण्डेश्वरी, धौलाकोट, दल्लेख, धाप र अस्थायी पोस्ट दुमलिङ भाडाका घरमा छन्। तीन प्रहरी चौकी स्वास्थ्य भवन र गाउँपालिका कार्यालयमा रहेको जिल्ला प्रहरीले जनाएको छ।

टिनको छानो

बाजुराका अधिकांश प्रहरी चौकी टिनको छानो भएको भवनमा छन्। यसबाट कार्यसम्पादनमा समस्या भएको हिमाली गाउँपालिकाको धुलाचौर चौकी इन्चार्ज सहायक प्रहरी निरीक्षक दिलीपसिंह महराले बताए।

स्थानीय सरकारले टिनको छानो हालिदिएको उनको भनाइ छ। बिच्छाया, कुन्ना, डोगडी, टाटे, तोली र बार्जुगाड प्रहरी चौकीले साबिकको गाविस संरचनाअनुसार सेवा दिँदै आएका छन्। कुन्ना र टाटे चौकी कोल्टी सुरक्षागार्डबाहेक भाडाका घरमा छन्।

जिल्ला प्रहरीले पनि दुई घर भाडामा लिएको छ। आफ्नो भवन जीर्ण भएको जिल्ला प्रहरीका निमित्त प्रमुख प्रहरी निरीक्षक जनक ढुंगानाले बताए।

भवनबाट जोगिनुपर्छ प्रहरीले

कञ्चनपुरका अधिकांश अस्थायी प्रहरी बिट जीर्ण भवनबाट सञ्चालित छन्। नौ इलाका, एक वडा, १३ प्रहरी चौकी र १४ अस्थायी प्रहरी बिट छन्। जिल्ला प्रहरी र इलाकाबाहेक प्रहरी पोस्टले जीर्ण भवनबाटै सेवाप्रवाह गरिरहेका छन्।

कञ्चनपुरका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले अधिकांश प्रहरी पोस्टले टायल र टिनको घरबाट सेवा दिइरहेको बताए। ‘अरूको सुरक्षा र उद्धारमा जानुपर्ने प्रहरी आफैं जोगिएर बस्नुपर्छ’, उनले भने, ‘कुनै बेला प्रहरी समस्यामा पर्ने गरेको छ।’ गत असारमा हावाहुरीले कञ्चनपुरका धेरै प्रहरी भवनको छत उडाएको थियो। अस्थायी प्रहरी बिट सालघारीका प्रहरी जिल्ला प्रहरी कार्यालयमा बसिरहेका छन्।

परमानन्द पाण्डे/कैलाली, गीता कुँवर/अछाम, जगदीश रोकाया/बझाङ, पदमबहादुर सिंह/बाजुरा, भगिरथ अवस्थी/बैतडी, खगेन्द्रबहादुर सिंह/डोटी, सुन्दरसिंह धामी/दार्चुला, महादेव अवस्थी/कञ्चनपुर


       


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.