कालिकोटमा तीनतारे होटल बन्दै
कालिकोट : कालिकोटमा तीनतारे होटल निर्माण हुने भएको छ। होटल व्यवसायी संघ कालिकोटका अध्यक्षसमेत रहेका जनकबहादुर शाहीलगायतको टोलीले करिब ६ करोड लगानीमा तीनतारे होटल निर्माणको तयारी थालेको हो।
कालिकोट हुँदै कर्णालीकै चर्चित पर्यटकीय स्थल राराताल र कैलाश मानसरोवर घुम्न जाने स्वदेशी तथा विदेशी पर्यटक र जिल्लामा हुने ठूला कार्यक्रमलाई लक्ष्य गरी होटल सञ्चालन गर्न लागिएको हो। निर्माणाधीन होटल एक वर्षभित्रै सञ्चालनमा आउने अध्यक्ष शाहीले बताए। उनका अनुसार जिल्लामा पछिल्लो पटक होटल व्यवसायमा लगानी बढ्दै गएको हो।
जिल्लामा आउने आन्तरिक तथा बाह्य पर्यटकका लागि मध्ययमस्तरका होटल सञ्चालन भए पनि उच्चस्तरका होटल छैनन्। १० वर्षअघि सात वटासम्म मात्रै होटल रहेको कालिकोट सदरमुकाममा अहिले झण्डै एक सय ५० भन्दा बढी होटल सञ्चालनमा छन्।
जिल्लामा अहिले सञ्चालनमा रहेका सानाठूला होटलमा ५० करोडभन्दा बढी लगानी भएको होटल व्यवसायी संघको भनाइ छ। होटल व्यवसायी धनबहादुर बटालाले जिल्लामा पर्यटक बढेमा होटलमा थप लगानी गर्न सकिने बताए। रारातालसँगै कालिकोटमा रहेको नेपालकै अग्लोपचाल झरना, बढीमालिका, त्रिवेणी पाटनलगायत पर्यटकीयस्थल अवलोकनमा आउने पर्यटक बढ्दै गएका छन्।