'ब्लाइन्ड रक्स'को क्याटवाक
काठमाडौं : अन्य दिनभन्दा फरक थियो नाचघर सभाहलको माहोल। हातमा ह्वाइट केन वोकेका युवायुवतीहरु मञ्चमा क्याटवाक गर्दे थिए। निकै आत्मविश्वासका साथ परिचय दिँदै जुरी मेम्बरले सोधेको प्रश्नको एक से एक उत्तर दिए उनीहरूले।
'ब्लाइन्ड रक्स' अर्गनाइजेसनले आयोजना गरेको 'मिसेस एण्ड मिस्टर ब्लाइन्ड रक्स २०१९' कार्यक्रम सम्पन्न भएको छ। हरेकले सबै काम गर्न सक्छन् भन्ने भनाइलाई प्रमाणित गरेका छन् २१ सहभागीले। मोडलिङ, फेसन, र्याम्प, क्याटवाक जस्ता प्रतियोगितामा आजसम्म आँखा देख्नेहरु मात्रै सहाभागी हुन्थे।
आँखा नदेख्नेहरुलाई यस्ता प्रतियोगिताबाट अप्रत्यक्ष रुपमा पर साँरिदै आएको अनुभव भोगेकी छन् ब्लाइन्ड रक्स अर्गनाइजेसनकी सृष्टि केसीले। १६ वर्षको अल्लारे उमेरमा आँखाको ज्वोति गुमाएकी सृष्टि केसी पछिल्लो १० वर्षदेखि आँखा नदेख्नेहरुको हकहितको लागि काम गर्दे आएकी छन्। उनले ५ वर्ष अघि 'ब्लाइन्ड रक्स' अर्गनाइजेसनको स्थापना गरी काम गर्दे आएकी छन्। ‘अवसर देऊ हामी पनि गर्न सक्छौँ’ संस्थाको मुख्य नारा नै छ। यहि संस्थाको आयोजनामा मिसेस एण्ड मिस्टर ब्लाइन्ड रक्स प्रतियोगीता सम्पन्न भएको हो।
आँखा नदेख्नेहरुको हौसला र हिम्मत बढाउनको लागि यस्ता कार्यक्रमले सहयोग गर्ने संस्थाकी अध्यक्ष सृष्टि केसीले बताइन्। प्रतियोगितामा सहभागी महिलाहरुले निलो तथा कालो रंगमा ढाकाको मिश्रण भएको गाउन लगाएका थिए भने पुरुषहरु विभिन्न रंगको कोट प्यान्टमा सजिएका थिए। ह्वाइट केनका टक-टक आवाजसंगै मञ्चमा सहभागीको प्रस्तुतिले दर्शकहरु रमाइरहेका देखिन्थे। पृष्ठभूमिमा मधुर संगीत बजिरहेको थियो। सहभागी मध्येकै केहि गुप्रले धमाकेदार नृत्य पनि प्रस्तुत गरेका थिए।
कार्यक्रममा सौगात वाग्ले र स्मारिका पोखरेल विजेता बनेका छन्। त्यस्तै फस्ट रनरअपको उपाधि सम्झना श्रेष्ठ र टिकाराम आलेले प्रप्त गरेका छन्। बेस्ट फ्रेन्डसीप अनीस ढकाल, बेस्ट ह्वाइट केन वाक सान्जीया श्रेष्ठ, बेस्ट स्माइल प्रतिभा राइ, मोस्ट रेस्पोन्सविलीटी सावीत्री पौडेल, मोस्ट पन्चुअल तृष लामा, मोस्ट जोलीको उपाधि निश्चल शिवाकोटीले प्राप्त गरेका छन्।