प्रधानमन्त्री व्यस्त भएपछि नेकपा सचिवालय बैठक स्थगित
काठमाडौं : सत्तारुढ नेकपाको बिहीबार बिहान तय भएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्रीसहित अन्य नेताको व्यस्तताका कारण सचिवालय बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।
बिहीबार बिहान ९ बजे बस्ने भनिएको बैठकमा संगठनात्मक एकता टुंग्याउने तयारी थियो। नेकपामा केन्द्रीय निकायहरूमा जिम्मेवारी बाँडफाट गर्न बाँकी छ।
केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटी लगायतमा जिम्मेवारी तोकिएको छैन।
यस्तै बैठकमा नेकपाको मधेस पार्टी कमिटीमा देखिएको विवादबारे पनि छलफल गर्ने तयारी थियो। मधेसमा बढ्दो विवादबीच नेकपा पार्टी मुख्यालयमा स्थायी समिति सदस्य रघुवीर महासेठ र प्रभु शाहविरुद्ध उजुरी दर्ता भएका छन्।
व्यस्त प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार व्यस्त 'सेड्युल' छ।
बिहान ९ बजे तोकिएको सचिवालय बैठक स्थगित गरेका ओलीले बिहान साढे ११ बजे बालुवाटारमा प्रधानमन्त्री निवासको शिलान्यास गर्दैछन्। बालुवाटारमा रहेको प्रधानमन्त्री निवासको अहिलेको संरचना भत्काएर दुई वर्षमा नयाँ भवन बनाउने गरी प्रधानमन्त्रीले शिलान्यास गर्न लागेका हुन्।
साढे २ बजे प्रधानमन्त्रीले संघीय संसदलाई सम्बोधन गर्दैछन्। सभामुख कृष्णबहादुर महराले संसदको बजेट अधिवेशन अन्त्य गर्ने तयारी गरेका छन्।