संसदको बजेट अधिवेशन अन्त्य हुँदै, प्रधानमन्त्रीले सम्बोधन गर्ने
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसदका दुबै सदनलाई सम्बोधन गर्दैछन्। बजेट अधिवेशन अन्त्य हुनुअघि प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्न लागेका हुन्।
प्रधानमन्त्री ओलीले बिहीबार दिउँसो साढे २ बजे प्रतिनिधिसभालाई सम्बोधन गर्ने तयारी छ। त्यसअघि प्रतिनिधिसभाको बैठक बिहान ११ बजे नै बस्ने कार्यसूचि छ।
राष्ट्रियसभाको बैठक भने ३ बजे बोलाइएको छ। बैशाख १६ देखि सुरु भएको बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गर्दै मन्त्रिपरिषदले सदर गर्न राष्ट्रिपतिकहाँ पठाएको छ।
बिहीबार राष्ट्रपति कार्यालयबाट पत्र प्राप्त भएपछि बजेट अधिवेशन अन्त्य गर्ने तयारी छ।
नेकपा सचिवालय बैठक स्थगित
सत्तारुढ नेकपाको बिहीबार बिहान बस्ने तय भएको सचिवालय बैठक स्थगित भएको छ। प्रधान्मन्त्रीको व्यस्तताका कारण सचिवालय बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।
बिहीबार बिहान ९ बजे तय भएको बैठकमा संगठनात्मक एकता टुंग्याउने तयारी थियो। नेकपामा केन्द्रीय निकायहरूमा जिम्मेवारी बाँडफाट गर्न बाँकी छ।
केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिष्ट मञ्च, प्रवास कमिटी लगायतमा जिम्मेवारी तोकिएको छैन।
बिहान ९ बजे तोकिएको सचिवालय बैठक स्थगित गरेका ओलीले बिहान साढे ११ बजे बालुवाटारमा प्रधानमन्त्री निवासको शिलान्यास गर्दैछन्। बालुवाटारमा रहेको प्रधानमन्त्री निवासको अहिलेको संरचना भत्काएर दुई वर्षमा नयाँ भवन बनाउने गरी प्रधानमन्त्रीले शिलान्यास गर्न लागेका हुन्।