सबै मिलौं, लामखुट्टेको लार्भा नष्ट पारौं
डेंगु संक्रमणले १४ वर्षदेखि पिरोल्दै आएको छ। एडिस जातको संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने रोग डेंगुको त्रास पनि बढेको छ। मुलुकका विभिन्न भागमा यसका बिरामी बढ्दै गएका छन्। यसै सन्दर्भमा अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत रेडियो अन्नपूर्णद्वारा मंगलबार आयोजित ‘डेंगुको संक्रमण : चुनौती र समाधान’ विषयमा राउन्ड टेबल छलफल गरियो।
कार्यक्रममा विज्ञहरूले विश्वव्यापी समस्याका रूपमा डेंगु देखा परेको बताउँदै वयस्क लामखुट्टेका साथै यिनका अन्डा तथा लार्भा नष्ट गर्न र जनचेतना फैलाउन जोड दिए। प्रस्तुत छ– छलफलको सम्पादित अंश–
धुवाँ फालेर नअलमलिऔं
डा. कृष्णकुमार राई, उपप्रधान एवं स्वास्थ्यमन्त्रीका सल्लाहकार
डेंगु नियन्त्रण गर्न नसकेको भन्दै उपप्रधान एवं स्वास्थ्यमन्त्रीको विरोध गर्नुको अर्थ छैन। स्वास्थ्यमन्त्रीको अध्यक्षतामा डेंगुसम्बन्धी आपत्कालीन बैठक मन्त्रालयमा पटकपटक बसेको छ। उहाँले सम्बन्धित निकायलाई बजेट व्यवस्थापन र मानव संसाधन परिचालन गर्न निर्देशन दिइसक्नुभएको छ। सातै प्रदेशमा डेंगुको महामारी नियन्त्रण गर्न बजेट पठाइसकिएको छ। स्थानीय सरकारलाई जिम्मेवारी पनि दिइसकिएको छ। त्यहाँ नीतिगत वा प्राविधिक जे सहयोग चाहिए पनि उपलब्ध गराउन भनिएको छ। त्यसैले स्वास्थ्यमन्त्री वा मन्त्रालय चुप लागेर बसेको छ भन्नु आरोप मात्र हो।
डेंगु संक्रमणका सन्दर्भमा वैज्ञानिक तथ्यलाई पनि हेर्नुपर्छ। डेंगु रोग कसरी सर्छ ? यसको नियन्त्रणका लागि जिम्मेवार को हुन सक्छन् ? यसबारे सचेत नागरिकलाई मात्र थाहा छ। लामखुट्टेले सार्ने रोगहरू गरिब मुलुकमा नै धेरै हुने गर्छन्। फोहोर व्यवस्थापन गर्न नसक्दा वा वातावरण सफासुग्घर नराख्दा रोगहरू सर्छन्। जापानलगायत विकसित मुलुकमा लामखुट्टेजन्य रोग देखिँदैन। कारण हो– सरसफाइ।
स्थानीय सरकारले सरसफाइको व्यवस्थापन गर्नुपर्छ। डेंगुले के संकेत गरेको छ भने फोहोर व्यवस्थापनमा ध्यान दिनुपर्छ। यत्रतत्र फ्याँकिएका प्लास्टिकका बोतल, टुक्राटाक्रीमा पानी संकलन हुने, लामखुट्टेले अन्डा पार्ने र लार्भाका रूपमा हुर्काउने गर्छ। यस्तो अवस्थामा स्वास्थ्यमन्त्री, सचिव वा महानिर्देशक आफैं जनताका घरघरमा लाठी लिएर जानुपर्छ भन्ने ठान्नु पनि उपयुक्त होइन। तर पनि मन्त्रालयको कुनै कमजोरी भएकै छैन भन्न खोजेको होइन।
संघीय सरकारको स्वास्थ्य मन्त्रालय सबै थोक होइन। संघीय व्यवस्था छ। तीन तहको सरकार छ। संघीय सरकारले जिम्मेवारी, बजेट र कर्मचारी प्रदेश र स्थानीय निकायमा हस्तान्तरण गरिसकेको छ। प्राविधिक सहयोग गर्नेमात्र हो।
स्वास्थ्यमा क्षेत्रमा वार्षिक बजेटको ४.४ प्रतिशत छुट्ट्याइने गरिएको छ। त्यो बजेट धेरै न्यून छ। तैपनि यसका लागि बजेट पनि सातवटा प्रदेश र स्थानीय निकायमा गइसकेको छ। संक्रमणकाल भएकाले पनि स्थानीय निकाय अलमलिएको देखिन्छ। प्रदेश सरकारले प्रभावकारी रूपमा जिम्मेवारी वहन गर्न सकिरहेको अवस्था छैन। त्यस हिसाबले केही कमीकमजोरी हुन सक्छ। सामाजिक विकास मन्त्रालयले शिक्षा र स्वास्थ्य दुवैको काम गर्दा प्राथमिकता शिक्षातर्फ बढी भएको हुन सक्छ। सूचना प्रवाह र स्रोतसाधन परिचालन गर्ने विषयमा समस्या हुन सक्छ। केन्द्रले प्रदेश वा स्थानीय सरकारलाई मद्दत गर्न जाँदा पनि संघीय सरकारबाट कसरी सहयोग लिने छलफल गर्नै बाँकी छ भनेर फर्काइएको अवस्था छ। समन्वयको अभाव छ। यसलाई सबैेले व्यवस्थित गर्दै अघि बढ्नुपर्छ।
जलवायु परिवर्तनका कारण अहिले डेंगु फैलाउने लामखुट्टे पहाडी र हिमाली जिल्लामा पुगिसकेको छ। अनभिज्ञताका कारण पनि डेंगुको संक्रमण बढेको हो। सरकारले पनि जनचेतना फैलाउनु पर्छ। सरकार एक्लैले केही गर्न सक्दैन। स्थानीय, प्रादेशिक र संघीय सरकारले मात्र गरेर डेंगु नियन्त्रण हुन सक्दैन। मिडियाले पनि जनचेतना फैलाउनु पर्छ। समुदाय आफैं परिचालित भएर डेंगु फैलाउने लामखुट्टे नष्ट गर्ने अभियानमा लाग्नुपर्छ।
लामखुट्टे नष्ट गर्न विषादीयुक्त धुवाँ फाल्ने (फगिङ) कार्य उपयुक्त छैन। यसले लामखुट्टेलाई भन्दा मान्छेलाई हानि गर्छ। यो कुनै वैज्ञानिक उपाय होइन। लामखुट्टेको घर भत्काउनु नै सबैभन्दा उत्तम उपाय हो। लार्भा नष्ट गर्ने हो। लामखुट्टेको घर भनेका यत्रतत्र छरिएका प्लास्टिक नष्ट गर्ने हो। फोहोर व्यवस्थापन गर्ने हो। यो ज्ञान सबैमा छ। अब यसलाई व्यवहारमा परिवर्तन गर्नुपर्छ।
आगामी समयमा कीटविज्ञ (इन्टेमोलोजिस्ट) को दरबन्दी सिर्जना गर्नुपर्छ। कीटजन्य अनुसन्धान गर्नुपर्छ। रोगका प्रकृतिबारे अध्ययन–अनुसन्धान आवश्यक छ। अहिले पनि २०५० सालको दरबन्दीमा काम गर्दा अध्ययन–अनुसन्धान हुन सकेको छैन। सबै तहको सरकार, अन्य सरोकारवाला क्षेत्र र मिडियाको सहयोगमा डेंगु नियन्त्रण गर्न सकिन्छ। जनचेतना व्यापक गर्नुपर्छ।
जमेको पानी फ्याँकिहालौं
डा. विवेककुमार लाल, निर्देशक, इमिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा
लामखुट्टेबाट सर्ने विभिन्न रोगमध्ये डेंगु एक हो। लामखुट्टेजन्य औलोलगायत रोगहरू क्रमशः नियन्त्रण हुँदै गइरहेका छन्। तर, विश्वव्यापीरूपमा नै डेंगुको संक्रमण बढ्दो छ। प्रभावकारी स्वास्थ्य व्यवस्था रहेका मुलुकमा पनि डेंगुको संक्रमण छ। सिंगापुर, थाइल्यान्ड, मलेसियामा हजारौं व्यक्तिलाई डेंगुको संक्रमण छ। केही दशकयता यो रोगको संक्रमण तीस गुणाभन्दा बढीले बढेको छ। पहिले ९ वटा मुलुकमा देखा परेको थियो। अहिले विश्वको आधाभन्दा बढी जनसंख्या डेंगुको जोखिममा छन्।
जीउमा सेता, काला र छिरबिरे रङ भएका लामखुट्टे देख्नुभयो भने सजग हुनुहोला। घर तथा अफिस वा विद्यालयमा रहँदा पनि यो लामखुट्टेले टोक्न सक्छ। साँझ, बिहान र दिउँसो पनि टोक्ने हुन्छ। संक्रमित लामखुट्टेले टोकेको ३ देखि ७ दिनभित्र लक्षण देखिन्छ। यातायातको पहुँच र आवागमनको सहजतासँगै डेंगुका लामखुट्टेलाई फैलन सजिलो भएको छ।
फगिङले घरभित्रका लामखुट्टेलाई नष्ट गर्न सक्दैन। डेंगु पनि कुनै एक व्यक्ति वा मन्त्रालयको मात्र समस्या होइन। डेंगु नियन्त्रणलाई सामूहिक एजेन्डा बनाउनुपर्छ। रणनीति बनाएर कार्यान्वयन गर्नुपर्छ।
डेंगुको संक्रमण धेरैजनामा हुन्छ। त्यसैले तर्सिने गरेको पाइन्छ। तर, यसको जटिलता वा मृत्यु भने अत्यन्तै न्यून हुन्छ। डेंगुको लक्षणका आधारमा उपचार हुने हो। ज्वरो आउँदैमा डेंगु हो कि भन्ने शंका गलत पनि हुन सक्छ। अहिलेको मौसमी रुघाखोकी पनि हुन सक्छ। डेंगुको लक्षण देखियो भने नजिकैको स्वास्थ्य संस्थामा चिकित्सकसँग परामर्श लिनु उपयुक्त हुन्छ। चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्दा झन् जटिल अवस्था आउन सक्छ।
डेंगुको प्रत्यक्ष सम्बन्ध आधुनिक जीवनशैली र बढ्दो अव्यवस्थित सहरीकरणसँग जोडिएको छ। पानीको पर्याप्त सुविधा छैन। धारामा पानी आउँदैन। त्यसैले पानी संकलन गरेर राख्दा ध्यान दिनुपर्छ। घरका छतमा पानी ट्यांकी हुन्छ। ड्रम, बाल्टी, भाँडामा पानी संकलन गरी प्रयोग गर्नेे प्रवृत्ति छ। सजावटका लागि गमला राखिन्छ। कतिपयका घरमा पानी फोहोराको व्यवस्था गरिएको हुन्छ। यी स्थानमा लामखुट्टेले फुल पार्छ। जम्मा भएको सफा पानीमा फुल पार्छ। पानीको बोतल होस् वा अन्य प्लास्टिकजन्य सामग्री जथाभावी फाल्ने गरिन्छ। यी सामग्री कुहिँदैनन्। यसमा पानी जम्मा हुन्छ। थोरै पानी संकलन भयो भने पनि लामखुट्टेलाई अन्डा पार्न पर्याप्त हुन्छ।
अन्य लामखुट्टेजन्य रोग हात्तीपाइले, मलेरिया, जापानिज इन्सेफलाइटिस रोगविरुद्ध खोप वा औषधि छ। यी रोग नेपालमा नियन्त्रणतर्फ छन्। तर, डेंगुका लागि कुनै खोप तथा औषधि छैन। डेंगुविरुद्ध खोप पनि अनुसन्धानका क्रममा छ। अहिलेको वातावरण र मानवको जीवनशैलीअनुरूप नै डेंगु संक्रमण गराउने लामखुट्टेले आफूलाई बदलेको छ। यो वातावरणमा मज्जाले हुर्कन्छ। यसलाई नियन्त्रण गर्न सबैलाई चुनौती भएको छ। लक्षण नदेखाइकन रोग सर्ने भएकाले पनि चुनौती बढेको छ। स्थानीय तवरमा लामखुट्टे नष्ट गर्ने प्रयास गर्नुपर्छ। डेंगु नियन्त्रण गर्न नसकिने होइन। नियन्त्रण गर्न सजिलो पनि छ। किनकि यसका लागि कुनै विशेषज्ञ वा विषादी चाहिँदैन। घरभित्र र बाहिर लामखुट्टेको वासस्थान नष्ट गरे पुग्छ। जनचेतनाका साथै व्यवहार परिवर्तनको खाँचो छ। व्यक्तिविशेष सजग त हुनैपर्छ। समुदाय पनि सक्रिय हुनुपर्छ।
त्रस्त हुनु पर्दैन
डा. अनुप बाँस्तोला, प्रमुख कन्सल्ट्यान्ट, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
डेंगु भनेको एक प्रकारको भाइरल ज्वरो हो। यो सामान्य मानिन्छ। एडिस एजिप्टाई र एल्बोपिक्टस जातको संक्रमित लामखुट्टेको टोकाइबाट संक्रमण हुन्छ। यो लामखुट्टे घरभित्र र बाहिर बस्न रुचाउँछ। दस हजार जनालाई डेंगु संक्रमण भएको छ भने एक हजारलाई मात्र यसको लक्षण देखिन्छ। ९ हजार जनामा कुनै लक्षण देखिँदैन। एक हजारमा पनि ५ सय जनालाई मात्र क्लासिक डेंगुका लक्षणहरू देखिन्छन्। ज्वरो आउने, टाउको दुख्ने, आँखाको गेडी दुख्ने, मांसपेसी दुख्ने, शरीर करकरी खाने, जोर्नी र शरीरमा रातो दाना देखिने लक्षणहरू देखिन्छन्।
डेंगु सार्ने लामखुट्टेले झण्डै पाँच पटकसम्म फुल पार्छ। पानी जमेको छुट्टाछुट्टै ठाउँमा सर्दै फुल पार्छ। ४ सयदेखि ६ सय मिटरसम्म उड्छ। जहाँ जहाँ पानी जमेको हुन्छ, त्यहाँ फुल पार्छ। यो फुल एक वर्षसम्म जीवित हुन सक्छ। लार्भा हुँदै हुर्केको संक्रमित लामखुट्टेले विशेषगरी बिहान, दिउँसो र बेलुका टोक्छ।
अहिले शुक्रराज तया सरुवा अस्पतालमा डेंगुको आशंकामा आएका मध्ये २२ सयभन्दा बढी व्यक्ति घर फर्किसकेका छन्। सिटामोल र झोल कुरा खान सल्लाह दिएर पठाएका छौं। डेंगु ज्वरोमा सेतो कोषिका र प्लेटलेट्स घटेर जान सक्छ। रक्त श्राव हुने जोखिम न्यूनीकरणका लागि सिटामोल सेवन गर्न सल्लाह दिएका हौं। गिँजाबाट रक्त श्राव भयो वा श्वासप्रश्वास एक्कासि बढ्यो, बान्ता भइरह्यो भने मात्र अस्पताल भर्ना गरिन्छ। ज्येष्ठ नागरिक, मधुमेहका बिरामी, गर्भवती, शिशुलाई डेंगुको संक्रमण जटिल हुन सक्छ। संक्रमितको उमेर र अन्य रोगहरू स्क्रब टाइफस, टाइफाइडको संक्रमण पनि भएको अवस्थामा डेंगुको जटिलता हुन सक्छ। पहिलोपटक डेंगु भएको व्यक्तिलाई पुनः दोस्रोपटक पनि डेंगु संक्रमण भएमा जटिल हुन सक्छ।
ज्वरो आउनेबित्तिकै औषधि पसलमा गएर अनावश्यक रूपमा एन्टिबायोटिक्स सेवन गर्नु हुँदैन। सेतो रक्तकोष र प्लेटलेट्स घट्दैमा आत्तिनु हुँदैन। लक्षणका आधारमा डेंगुको उपचार हुन्छ। कुनै निर्दिष्ट औषधि छैन।यतिखेर बिरामी डेंगुको त्रासका साथ उपचार गर्न आउन थालेका छन्। काठमाडौंवासीले डेंगुलाई नयाँ रोगका रूपमा लिएको पाइयो। चितवनमा त्यति धेरै त्रास छैन। किनकि, त्यहाँ १५ वर्षदेखि यो समस्याको अनुभव छ। पाँचजना व्यक्तिमध्ये चारजना डेंगु रोगका लक्षण बताउँदै जँचाउन आइपुग्छन्। डेंगुको संक्रमण भएर आएका बिरामीमध्ये झण्डै आधालाई डेंगु पोजेटिभ छ।
लामखुट्टे नष्ट गर्न विषादीयुक्त धुवाँ फाल्ने (फगिङ) कार्यलाई प्राथमिकता दिनु हुँदैन। अबको नयाँ पुस्ता डेंगुसँगै हुर्कनेवाला छ। यो वर्ष संक्रमित नभएका व्यक्तिहरू अर्को वर्ष संक्रमित हुने सम्भावना छ। दुईतीन वर्षमा यो डेंगु फर्कन्छ। अहिलेको भन्दा नयाँ खालको डेंगुको संक्रमण भएको अवस्थामा त्यसले जटिलता उत्पन्न गर्न सक्छ। अबको हाम्रो कार्यदिशा र रणनीति नै लामखुट्टेविरुद्धको लडाइँमा केन्द्रित हुनुपर्छ। घरबाटै लामखुट्टे खोज र नष्ट गर्ने अभियान सुरु हुनुपर्छ। लामखुट्टे नियन्त्रणका लागि खोज र नष्ट गर्ने अभियान नै सञ्चालन गरिएको छ। लामखुट्टेको लार्भा चिनाउने कार्य नगर्दासम्म खोज र नष्ट गर भन्ने अभियान सफल हुन सक्दैन। घरभित्र र बाहिर लार्भा हुर्कने वातावरण गराउनु हुँदैन। डेंगु नियन्त्रणका लागि व्यवहार परिवर्तन गर्नुपर्छ। लामखुट्टेबाट जोगिन ढोकामा जाली हाल्ने, झुल टाँगेर सुत्ने गर्नुपर्छ। लामबाहुले कपडा लगाउने गर्नुपर्छ। लामखुट्टेको टोकाइबाट जोगिन जेल वा मलम लगाउन सकिन्छ।
समाजमा भएका अन्डा र लामखुट्टेका लार्भा नष्ट गर्नुपर्छ। फगिङले घरभित्रका लामखुट्टेलाई नष्ट गर्न सक्दैन। वागमती सरसफाइ अभियानमा सबै क्षेत्रका व्यक्तिहरूको सहभागिता भयो। डेंगु पनि कुनै एक व्यक्ति वा मन्त्रालयको मात्र समस्या होइन। डेंगु नियन्त्रणलाई सामूहिक एजेन्डा बनाउनुपर्छ। रणनीति बनाएर कार्यान्वयन गर्नुपर्छ। अहिले महाअभियान र आगामी वर्षमा प्रभाव नपरोस् भन्ने अवस्थाका लागि अहिल्यै तयारी पनि सुरु गर्नुपर्छ।