नजिकिँदो चाडपर्व र बढ्दो महँगी

नजिकिँदो चाडपर्व र बढ्दो महँगी

आफ्नो पहिचानका निम्ति संस्कृतिको जगेर्ना गर्नुपर्छ, अन्यथा मुलुक र विविध जातिगत संस्कृतिको पहिचान नै लोप भएर जान्छ


नेपालमा नागपञ्चमीपछि चाडपर्व सुरु हुन्छ। विशेषतः शरद ऋतुमा धेरै पर्व पर्ने हुँदा मौसम पनि न जाडो न गर्मी हुने भएकाले रमाइलो हुने नै भयो। महिलाको महान् पर्व तीज, पञ्चमी र तराईमा मानिने विशुद्ध महिलाकै व्रत जितिया पवनीपछि क्रमशः चौथी खेल्ने, विश्वकर्मा पूजा, दसैंतिहार र छठ पर्व आउँछन्। बिदेसिएका परिवारका सदस्य पनि चाडपर्व मान्नैका लागि जहाँ भए पनि घर फर्कने गर्छन्। पारिवारिक भेटघाट जमघटका लागि यो सुनौलो अवसर पनि हो।

यसैगरी मानिसहरू खाइनखाइ बनिबुतो गरेरै भए पनि पर्वका लागि जोहो गरेर राख्छन्। चाडपर्वमा जीवनमा जति दुःखकष्ट भोगे पनि त्यसलाई बिर्सेर सुखको अनुभूति गर्ने प्रयास गरिन्छ। आपसी कलह मेटेरै भए पनि मेलमिलापको वातावरण तय गरिन्छ। पर्वहरूको विशेषता भनेकै पारिवारिक र सामाजिक सद्भाव पनि हो। दसैंमा मान्यजनको हातको टीका लगाई आशिष थाप्नुपर्ने हुन्छ।

पहिले–पहिले यस्ता पर्वमा नेपालमा स्थानीय उत्पादनकै प्रयोग हुन्थ्यो। लुगाफाटो मात्र आयातीत खरिद गरिन्थ्यो। लुगाफाटो पहिरनको चलन पनि अहिलेजस्तो महँगो थिएन। अहिलेका कपडा उद्योगहरूले ६/६ महिनामा डिजाइन परिवर्तन गरी लुगाको व्यापार गर्छन्। पहिले त्यस्तो व्यापारको चलन थिएन। मलाई सम्झना छ– २०२३ सालमा दसैंमा भारतको जोगबनीमा गई लुगा खरिद गर्दा ६ रुपैयाँमा दुई जोर कपडा आएको थियो। एक जोर चप्पल तीन रुपैयाँमा किनेको सम्झना पनि ताजै छ। खानेकुरामा प्रायः मासु, चिउरा, दही, दूध, तरकारी र फलफूल सबै किसानका घरेलु उत्पादन हुने गरेका थिए। जग्गा नहुनेले पनि त्यति महँगोमा खरिद गर्नु पर्दैनथ्यो। पहाडमा रोपाइँ सकिएपछि क्वाँटी खाने र बर्खायामपछि घरहरू कमेरो तथा रातोमाटोले र आँगन गोबर र माटोले लिपपोत गरी सफाइ गरिने प्रचलन थियो।

अहिले यी सबैजसो पुराना व्यवहार हराउँदै गई मौलिक संस्कारमै विदेशीकरण हुँदै खर्चिलो चलनमा रूपान्तरण भएको छ। अब सहरबजारका मानिसमा मुलुकभित्रको संस्कृति छाडेर बाहिर विदेशतिरको चालचलनबाट प्रभावित भएको देखिएको छ। यसरी महँगो संस्कृतिको अनुकरण भएकाले आम मानिसको आजभोलिको खर्च चाडपर्वमा व्यापक बढ्न थालेको छ। आयातीत महँगा लुगा पहिरिनुपर्ने, पिजा, वर्गर पुलाउ र मासुका विविध परिकार सेकुवा, भुटुवा र तरुवा खानुपर्ने। भरसक होटेलमा तयार भएका परिकार खानुपर्ने।

त्यस्तै मादक पदार्थको सेवन बढी हुने र तासका खाल जम्नेजस्ता महँगा सामाजिक व्यवहार बढ्दा छन्। मौलिक संस्कृति जो सरल र सस्तो थियो तर त्यसमाथिको अतिक्रमण विदेशबाट प्रसारित हुने टेलिभिजन च्यानलका विविध टेलिफिल्मका शृंखला र युट्युबबाट देखाइने धारावाहिकहरूले गरेका छन्। त्यस्ता धारावाहिकमा लगाइने लुगा र गरगहना उत्पादन गर्ने कम्पनीका विज्ञापन र प्रचारका लागि कलाकारलाई लगाउन लगाई प्रदर्शन गरिएका हुन्छन्। जसलाई हामी साँच्चैको भनी विश्वास गर्छौं। त्यस्ता लुगाफाटा र पहिरन खरिद गर्ने इच्छा राख्छौं। अनि घरको दैनिकी चालचलनलाई व्यवहारमा समेत सोहीअनुरूप ढाल्न चाहन्छौं, जुन हाम्रा आयस्रोतअनुसार सम्भव छैन। यसले गर्दा पारिवारिक द्वन्द्वसमेत निम्तिएको देखिन्छ।

प्रत्येक मुलुकका आआफ्नै मौलिक संस्कृति हुन्छन्। त्यहाँका जनताले आफ्नो पहिचाननिम्ति संस्कृतिको जगेर्ना गर्नुपर्छ। अन्यथा मुलुक र विविध जातिगत संस्कृतिको पहिचान लोप भएर जान्छ। हाम्रो मुलुक निर्धन हो। आम नेपालीमध्ये धेरै संख्यामा निर्धन छन्। कमसेकम ५० प्रतिशत नेपाली गरिबीको रेखामुनि छन्। कतिपयको हकमा आधा छाकमा गुजारा गर्नुपर्ने वा कतिपयको छाकछाकै भोक्कै बस्नुपर्ने अवस्था छ। तिनलाई के दसैं, के तिहार, के छठ ?   मुलुकमा रोजगार छैन। पढेलेखेर पनि रोजगार पाउने आशा छैन। कृषि व्यवसाय पनि दिनप्रतिदिन धराशायी हुँदै छ। हामी सबै कुरा विदेशबाट आयात गरी खान थालेका छौं। यस वर्ष कस्तोसम्म समाचार पढ्नुपर्‍यो भने गुन्द्रुक जसलाई हामी राष्ट्रिय तरकारी भनी गौरवका साथ भन्ने गर्दथ्यौं, त्यो पनि करिब ९० लाखजत्तिको आयात हुँदो रहेछ। यसबाट के बुझिन्छ भने हामी पूर्णरूपमा परनिर्भर हुन थालेका छौं।

सामान्यतः नेपालीले खाने दाल, भात र तरकारीनिम्ति त्यति रुनुपर्ने अवस्था हुँदैन यदि हामीले नेपालको जग्गाजमिनबाट उत्पादन हुने कृषि उपजमाथि ध्यान दिन सक्यौं भने। तर, नेपालमा कृषिसम्बन्धी कार्य गर्नेलाई हेयको दृष्टिकोणबाट हेरिने, मल र बीउविजन समयमा नपाउने वा पाए पनि दलालबाट ठगिने, कुलो र सिँचाइको व्यवस्था नहुने र प्राण नै जाने गरी उत्पादन गरे पनि लागतअनुसारको मूल्य बिक्रीबाट नपाउने समस्याले नेपाली किसान पीडित छन्। किसानको यो समस्या धेरै पुरानो हो। सरकारले यो समस्याको समाधान खोजी किसानको हित गर्नुपर्छ। किसानले पनि संगठित भएर आफ्नो हकहितका लागि लड्न सक्नुपर्छ।

आफू पनि सामान्य खर्च गर्ने र नातेदारका घरमा गएर भारी खर्चको दाबी नगर्ने, बरु सामान्य खर्चमा खुसी र सुखी हुन सबैलाई प्रेरित गर्नु उपयुक्त हो।

आजसम्म स्थापित कुनै पनि सरकारबाट किसानको हितमा हुने गरी कुनै काम भए/गरेको पाइएको छैन। किसानका हितमा योजना प्रशस्त बन्छन् तर कार्यान्वयन भएको पाइँदैन। सदैव उनीहरूको शोषण मात्र हुँदै आएको छ। भोलि आउने सरकारबाट होला भनी आशा किन गर्ने ? किसानले राजनीतिक प्रभावभन्दा परै बसी संगठित रूपमा बलियो कृषि कार्यक्रम सञ्चालन गरी आम किसानको हितमा काम गर्न जरुरी छ।

नेपालमा आजसम्म के देखिँदै आएको छ भने जब सरकारले कर्मचारीको वेतन वृद्धि गर्छ, भोलिपल्टै सबै आवश्यक उपभोग्य सामग्रीको बजारभाउ दोब्बर बढ्छ। मानौं वेतनको वृद्धि कर्मचारीको हितनिम्ति नभएर व्यापारीनिम्ति भएको होस्। त्यस्तै जबजब चाडपर्व आउँछ वस्तु बिक्रीको भाउमा अस्वाभाविक रूपमा वृद्धि भएको पाइन्छ। त्यसको मार गरिब र निमुखा वर्गमाथि पर्छ, तिनले चाडपर्व मनाउन सम्भव हुँदैन। सरकारले देखाउनैका लागि भए पनि सस्तो पसल त राख्छ, तर यी पनि पुराना रहे/बचेका सामान बिक्री हुने थलो बन्छ।

कतिपय स्थानमा सस्तो दिने नाममा तौलमा समेत मार्ने गरिन्छ। चाडपर्व मान्ने क्रममा हाम्रो मुलुकमा मध्यवर्गीय परिवार र निम्न मध्यवर्गीय परिवारलाई पनि त्यति नै कठिनाइ हुन्छ। यी परिवारमा कस्तो अवस्था हुन्छ भने न त सम्भ्रान्त परिवारको जस्तो खर्चमा दाँजिन सक्ने क्षमता हुन्छ न त गरिबको जस्तो जे परे पर्ला बरु भोकै बस्छु भन्न मिल्छ। सामाजिक प्रतिष्ठाको पनि ख्याल राख्नुपर्‍यो। तसर्थ त्यस्ता कुराको पनि चिन्तनमनन गर्ने क्रममा भारी खर्चमा परी सकस हुन सक्छ। प्रायः मध्यम वर्गका शिक्षित र पढेलेखेका जागिरेहरूको संख्या बढी हुन आउँछ।

चाडपर्वमा प्रायजसो कर्मचारीले दसैंका बेला वेतनबराबर नै पर्व खर्च पाएका हुन्छन्। पर्वमध्ये बढी खर्च दसैंमा हुने गर्छ। परिवारलाई नयाँ लुगाफाटो, मासु, मरमसला आदि खानेकुरा परिकारको जोहो, वासस्थानको भएसम्म सफाइ, रङरोगन, आउनेजाने परपाहुनाको मानमनितोको खर्च, टीका लगाउँदा दिने दक्षिण आदि धेरै खर्च हुने गर्छ। फेरि टीका थाप्नेले प्रशस्त कोसेली लिएर आएपछि दक्षिणा कति दिनुपर्ने हो, त्यो पनि समस्या हुन्छ। पहिले आमरूपमा चेलीबेटीले ल्याए पनि घरको कुनै उत्पादन बोकेर आउँदा सहज हुन्थ्यो। अब त बजारको महँगो स्याउ, सुन्तला, केरा र मरमसला खरिद गरेर बोक्ने चलन छ। कतिका हकमा लुगाफाटो पनि दिनुपर्ने अवस्था हुन्छ।

यसैगरी हिजोआज त दक्षिणा पनि थोरातिनाले पुग्दैन। संस्कारहरू औकातभन्दा भारी महँगो हुन थालेको छ। मानिसहरू मरेरै भए पनि देखाउनकै निम्ति ऋण काढेर सामाजिक व्यवहारमा खर्च गरेर देखाउँछन्। फलानाले यस्तो व्यवहार गरे, हामी झन् के कम भन्ने सामाजिक अवधारणाका कारण दिनप्रतिदिन चलन बढाउने स्थिति छ। जसको दुई नम्बरी कमाइ छ, भ्रष्टाचार गरेर आर्जन गरेका छन्, दलाल र माफिया छन्, तिनलाई खर्च गर्न केही फरक पर्दैन। पाँचतारे होटेलमा बसेर पानीसरह पैसा बगाएर दसैं–तिहार मनाए पनि हुन्छ। तर जसले मेहनत गरी रगत र पसिना बगाएर कमाएका हुन्छन्, तिनलाई बिनाअर्थ पैसा खोलामा बगाउन कठिन हुन्छ।

पैसाको आवश्यकता सन्तानको शिक्षादीक्षा, बिरामीको औषधोपचार वा संकट परेका बेला आफूसँग नहुँदा आपत् पर्न सक्छ। तसर्थ भएका बेलामा आफूसँग छ भन्दै फुक्दा नभएको बेला गाह्रासाह्रो पर्न पनि सक्छ। तसर्थ हामीले के विचार गर्नुपर्छ भने चाडपर्वमा भारी खर्च नगर्दा अरूले के भन्लान् भन्ने कुरा मनबाट पूरै झिकिदिनुपर्छ। नेपालीमा एउटा भनाइ छ, ‘दुःख परेका बेला अरूले भाँडामा चामल हाली दिँदैन।’ आफूसँग भएको बेला खर्च नगरी बरु केही साँच्ने हो भने दुःख आइपरेका बेला माग्नेले हात थापेसरह रोएर अरूसँग भिख माग्नु पर्दैन। वास्तवमा चाडपर्वका मुखमा आएर कपडा खरिद गर्ने काम पनि उचित होइन। त्यसबेला व्यापारीले भाउ महँगो गर्छन्। हुलमूलमा पुराना र मक्किएका कपडा बेच्न सक्छन्, जुन नलगाउँदै च्यातिन पनि सक्छ। दसैंका बेला कपडा सिउनेलाई भीडभाडको कारणले गाह्रो पर्न सक्छ वा सिउँदा बिगारिदिन सक्छ। तसर्थ त्यो बेला कपडा खरिद नगरी आफूसँग भएका नयाँ देखिने खालका लगाउने र पछि चाडपर्व सकिएपछि फुर्सदमा तयार गर्न उपयुक्त हुन्छ।

चाडपर्व केटाकेटीका निम्ति भने उल्लासमय हुने गर्छ। यसकारण पनि तिनलाई खुसी पार्नैपर्छ। तर चाहिँदो कुरामा मात्र खर्च गर्न फकाउनुपर्छ। खानपानमा घरमा पकाउने महँगो चिजभन्दा स्वास्थ्यलाई मध्यनजर गर्दै मासुको एक खण्ड, भएसम्म हरिया सागपात तीन खण्ड हुने गरी खानु उपयुक्त हुन्छ। धेरै चिल्ला र मसला प्रयोग नगरी तयार गरिएका परिकार स्वस्थकर हुन्छन्। मासु त्यसै पनि महँगो छ। सँगसँगै साग र तरकारीको उपयोगबाट स्वास्थ्य राम्रो पनि हुन्छ र सस्तो पनि हुन्छ। यसरी चाडपर्वका नाममा गरिष्ठ खानाको प्रयोग र बढीभन्दा बढी मादक पदार्थ प्रयोग हुँदा परिवारमा दुर्घटना निम्तिँदा कतिपय अवस्थामा चाडपर्व खल्लो हुन पुगेका छन्। तसर्थ घाँटी हेरेर हाड निल्नु उपयुक्त हुन्छ।

चाडपर्वमा परिपाटी मिलाई थोरै खर्च गरी मन भित्रैदेखि खुसी भई रमाउनु राम्रो हो। त्यसनिम्ति आफन्तसँग भेटघाट गर्ने, टीका लगाउने, आफूसँग केही छ भने उपहार दिने, नभए पेट कसेर देखाउनैका लागि भनेर नदिने। धेरै दक्षिणाको पनि आश नगर्ने र त्यस्तो चलन नबढाउने भएसम्म सामान्य भोजन तयार गर्न आफन्तलाई प्रेरित गर्नु राम्रो हो। आफू पनि सामान्य खर्च गर्ने र अरू नातेदारका घरमा गएर भारी खर्चको दाबी नगर्ने बरु सामान्य खर्चमा खुसी र सुखी हुन सबैलाई प्रेरित गर्नु उपयुक्त हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.