सुदूरपश्चिममा स्क्रव टाइफसको संक्रमण बढ्दो

सुदूरपश्चिममा स्क्रव टाइफसको संक्रमण बढ्दो

सुदूरपश्चिम ब्युरो। धनगढी : सुदूरपश्चिम प्रदेशमा स्क्रव टाइफसका बिरामी बढेका छन्। सुदूरपश्चिममा बाजुरा र अछाम बाहेक पाँच पहाडी जिल्ला डोटी, बझाङ, दार्चुला, डडेल्धुरा र बैतडीसहित तराईका कैलाली र कञ्चनपुरमा १२६ जनामा स्क्रव टाइफस देखिएको छ। सबैभन्दा बढी बिरामी डडेल्धुरामा भेटिएका छन्। डडेल्धुरा घर भइ धनगढी गेटामा बस्ने १५ वर्षीय भरत खातीको स्क्रव टाइफसबाट एक साताअघि मृत्यु भएको थियो।

धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। डडेल्धुरा अस्पतालमा बुधबारसम्म ७२ जना स्क्रव टाइफसका बिरामी आएका छन्। तीमध्ये डडेल्धुराका ५२ जना र अन्य जिल्लाका २० जना बिरामी भएको डडेल्धुरा अस्पतालको प्रयोगशाला शाखाका ल्याव टेक्निसियन बिष्णु चौधरीले जानकारी दिए।

डडेल्धुरा अस्पतालमा स्क्रव टाइफस देखिएका ७२ मध्ये बैतडीका १८, बझाङका १ र डोटीका १ जना रहेको अस्पताले जनाएको छ। महिलामा बढी संक्रमण देखिएको छ। ‘बिरामीमध्ये ८० प्रतिशत महिलामा यो रोग देखिएको छ। ७२ जना बिरामीमध्ये ४८ जना महिला छन्’, डडेल्धुरा अस्तालका डा.जीवन खरेलले बताए। गम्भीर खाले ८ बिरामीलाई अन्य अस्पतालमा रेफर गरिएको छ।

डडेल्धुरा अस्पतालले बुधबार तीनजना बिरामी डिस्चार्ज गरेको जनाएको छ। ‘अस्पतालमा बुधबार एकजना भर्ना पनि भएका छन्’, डा.खरेलले भने, ‘अस्पतालमा ७ दिनदेखि स्क्रव टाइफस जाँच गर्ने किट सकिएको थियो। त्यस्तै लक्षण देखिएका बिरामी धेरै आए। लक्षणका आधारमा लगभग २ सय बढीलाई स्क्रव टाइफसको औषधि दिएर पठायौं।’

डडेल्धुरा अस्पतालमा डोटी, बैतडी, अछाम, बझाङ, बाजुरा, दार्चुलाका जिल्लाका बिरामी आउने गर्छन्। पछिल्लो डेढ महिनामा ५ सय ७५ जनालाई जाँच गर्दा ७२ जनामा स्क्रव टाइफस देखिएको डडेल्धुरा अस्पतालका सूचना अधिकारी टंकप्रसाद पन्तले जानकारी दिए।

डडेल्धुरा अस्पतालबाहेक कुनै सरकारी तथा निजी स्वास्थ्य संस्थामा स्क्रव टाइफस परीक्षण गर्ने किट नभएको अमरगढी स्वास्थ्य शाखा प्रमुख लोकराज भट्टले बताए। कैलालीमा मंगलबारसम्म २८ जना स्क्रव टाइफसका बिरामी देखिएकोमा बुधबार ३६ पुगेको छ। भदौ दोस्रो साताबाट कैलालीमा स्क्रव टाइफसका बिरामी देखिएको सुदूरपश्चिम प्रदेश सामाजिक मन्त्रालयका जनस्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए।

बैतडीमा १८ बिरामी

बैतडीका १८ जनामा स्क्रव टाइफस देखिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए। मुसामा हुने माइट नामक जीवाणुको टोकाइबाट हुने यो रोगबाट जिल्लामा थप संक्रमित हुन सक्ने उनले बताए। संक्रमित बिरामीमध्ये सबैभन्दा बढी पाटन नगरपालिकाका ८ जना छन्। सुर्नया गाउँपालिकाका १, सिगास गाउँपालिकाका ४, दोगडाकेदार गाउँपालिकाका १ र शिवनाथ गाउँपालिकाका १ गरी १८ जनामा स्क्रव टाइफसको संक्रमण देखिएको छ।

स्क्रव टाइफसको संक्रमण देखिएका ठाउँमा स्वास्थ्यकर्मीको टोली परिचालन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गरिने प्रमुख भट्टले बताए। जिल्ला अस्पताल बैतडीमा स्क्रव टाइफसको जाँचका लागि कीट नभएको जिल्ला अस्पताल बैतडीका प्रमुख डा. जगदीशचन्द्र बिष्टले बताए।

दार्चुलामा पनि २ जनामा स्क्रव टाइफस देखिएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुलामा दुईजनामा स्क्रव टाइफस देखिएको तथ्यांक सार्वजनिक गरे पनि जिल्ला स्वास्थ्य कार्यालयका डा.धर्मानन्द जोशीले आफूलाई यसबारे थाहा नभएको बताए।

कञ्चनपुरमा बुधबारसम्म ८ जना बिरामी देखिएका छन्। कञ्चनपुरको बेल्डाडी, पूर्नवास, बेलौरी, झलारी र भीमदत्त नगरपालिकामा ८ जनामा स्क्रव टाइफसको संक्रमण देखिएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

जिल्ला स्वास्थ्य कार्यालय कञ्चनपुरका डा.सिद्धराज भट्टले स्वास्थ्य संस्थामा जाँचपछि उपचार गर्न बिरामी जिल्ला बाहिर गएको बताए। महाकाली अञ्चल अस्पतालमा स्क्रव टाइफसका बिरामी देखिएका छैनन्। अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्ड डा. हरिकुमार श्रेष्ठले अहिलेसम्म स्क्रव टाइफसका बिरामी नआएको बताए।

सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले डोटीमा ५ र बझाङमा ५ जनामा स्क्रव टाइफस देखा परेको बताए। स्क्रव टाइफस संक्रमितमा ज्वरो आउने, मांशपेशी दुख्ने, टाउको दुख्ने, पसिना आउने, खोकी लाग्ने र शरीरमा विविरा आउनेजस्ता लक्षण देखिने डा. उत्तम भट्टले बताए।

औषधि अभाव नभए पनि परीक्षण गर्ने कीट नहुँदा जाँचमा समस्या आएको डडेल्धुरा अस्पतालका मेडिकल सुपरिटेन्डन्ट जीतेन्द्र कँडेलले बताए। चिकित्सकले शरीर ढाक्ने गरी लुगा लगाउन, खुल्ला ठाउँमा शौच नगर्न र स्क्रव टाइफसका उल्लेखित लक्षणमध्ये कुनै पनि देखा परेमा तुरुन्त नजिकको स्वास्थ्य संस्थामा गई उपचार गराउन सल्लाह दिएका छन्।

डेंगु पनि बढदै

सुदुरपश्चिममा डेंगुको संक्रमण पनि बढेको छ। बाजुरा बाहेक सुदूरपश्चिममा ८ जिल्लामा ५२ जना डेंगुका बिरामी भेटिएका छन्। सबैभन्दा बढी कैलालीमा २५ जनामा डेंगु देखिएको छ। कन्चनपुर र दार्चुलामा ९–९ जना, डडेल्धुरामा तीन, अछाम र डोटीमा २–२जना तथा बैतडी र बझाङमा १–१ जनामा डेंगुको संक्रमण देखिएको सुदूरपचिम प्रदेश सामाजिक मन्त्रालयले जनाएको छ।

डेंगु रोग संक्रमण रोक्न स्थानीय र प्रदेश सरकारले जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए। डेंगु संक्रमण देखिएका दिपायल–सिलगढी नगरपालिका–६, का छत्र मलासीको धनगढीस्थित माया मेट्रो अस्पतालमै मृत्यु भएको थियो।

धनगढीबाट कैलाश जोशी, डडेल्धुराबाट ललित बोहरा, कञ्चनपुरबाट महादेव अवस्थी, दार्चुलाबाट सुन्दरसिंह धामी, बैतडीबाट भगिरथ अवस्थी।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.