किन रोकियो प्रधानमन्त्रीको सम्बोधन ?
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सदनबाट देशवासीका नाममा गर्ने भनिएको सम्बोधन रोकिएको छ। बिहीबार बिहान प्रधानमन्त्रीले दिउँसो साढे २ बजे गर्ने भनिएको सम्बोधन विशेष कारण स्थगित भएको उनको निजी सचिवालयले जनाएको छ ।
संविधान दिवसको अवसरमा शुक्रबार सम्बोधन गर्ने कार्यक्रम तय भएकाले आजको सम्बोधन स्थगित भएको हो । बिहीबार प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधनसँगै दुबै सदनमा उठेका प्रश्नको जवाफ दिने कार्यक्रम तय भएको थियो ।
चालु अधिवेशनको अन्तिम दिन आज संसद्मा प्रतिनिधित्व गर्ने नेताले सम्बोधन गर्ने कार्यक्रम थियो । प्रधानमन्त्रीले सम्बोधन नगर्ने भएपछि नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सम्बोधन गर्ने तय भएको छ ।
बिहीबार बिहान तय भएको पार्टी सचिवालय बैठकसमेत स्थगित भएको थियो । प्रधानमन्त्रीसहित अन्य नेताको व्यस्तताका कारण सचिवालय बैठक स्थगित भएको नेकपा महासचिव विष्णु पौडेलले जानकारी दिए।
बिहीबार बिहान ९ बजे बस्ने भनिएको बैठकमा संगठनात्मक एकता टुंग्याउने तयारी थियो। नेकपामा केन्द्रीय निकायमा जिम्मेवारी बाँडफाट गर्न बाँकी छ। केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखापरीक्षण आयोग, केन्द्रीय निर्वाचन आयोग, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार परिषद्, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च, प्रवास कमिटीलगायतमा जिम्मेवारी तोकिएको छैन।
यस्तै बैठकमा नेकपाको मधेस पार्टी कमिटीमा देखिएको विवादबारे पनि छलफल गर्ने तयारी थियो। मधेसमा बढ्दो विवादबीच नेकपा पार्टी मुख्यालयमा स्थायी समिति सदस्य रघुवीर महासेठ र प्रभु शाहविरुद्ध उजुरी दर्ता भएका छन्।