गाउँपालिकाको केन्द्र सार्न लागेको भन्दै वडा कार्यालय र स्कुलमा तालाबन्दी
बैतडी : जिल्लाको डिलाशैनी गाउँपालिकाको ४ र ७ को कार्यालय तथा ती वडामा रहेका विद्यालयमा स्थानीयले तालाबन्दी गरेका छन् । गाउँपालिकाले तोकिएको ठाउँबाट केन्द्र सार्न लागेको भन्दै उनीहरुले संघर्ष समिति गठन गरेर तालाबन्दी गरेका हुन् ।
पहिलो गाउँसभाले गाउँपालिकाको ७ मा केन्द्र स्थापना गर्ने निर्णय गरेको भएपनि पछिल्लो समयमा केन्द्र सार्न चलखेल भएको भन्दै स्थानीय आन्दोलित भएका हुन्।
‘गाउँपालिकाको केन्द्र साविकको डिलाशैनी गाविसमै राख्ने निर्णय उल्टाउने चलखेल भएको छ । यसको विरुद्धमा हामी आन्दोलित भएका हौं’, वडा नम्बर ७ का स्थानीय दीपक धामीले भने, ‘हामीले बिहीबारदेखि वडा कार्यालय र विद्यालयमा तालाबन्दी गरेका छौं ।’
स्थानीयबासीले बुधबारदेखि वडा कार्यालय र विद्यालयमा तालाबन्दी गरेपछि वडाको कामकाज र विद्यालयको पठनपाठन ठप्प भएको छ । ‘स्थानीयले गाउँपालिकाको केन्द्र साविककै ठाउँमा हुनुपर्ने माग राखेर वडामा तालाबन्दी गरेका छन् । दुईदिनदेखि वडाको कामकाज ठप्प छ ।’
गत भदौ २५ गते बसेको गाउँकार्यपालिकाको बैठकले डिलाशैनी गाउँपालिकाको केन्द्र छनौटका लागि विज्ञ टोली बोलाउने निर्णय गरेको थियो । सो निर्णय गाउँपालिकाको केन्द्र सार्ने उद्देश्यले गरिएकाले आफूहरुले तालाबन्दी गरेको संघर्ष समितिका संयोजक कर्णसिंह धामीले बताए । उनले भने, ‘राज्य पुर्नसंरचना गर्दा डिलाशैनी गाउँपालिकाको केन्द्र वडा ७ मा कायम गरिएको छ । सोही अनुसार केन्द्र कायम गरिनुपर्छ । अन्य निर्णयहरु हामीलाई मान्य हुनेछैन् ।’
यसअघि संघर्ष समितिले गाउँपालिकाले केन्द्र सार्न लागेको भन्दै त्यो रोक्न गाउँपालिका, जिल्ला प्रशासन र जिल्ला समन्वय समितिमा ज्ञापनपत्र बुझाएको थियो । गाउँपालिकाको केन्द्र तोकिएको ठाउँमा कामकाज गर्न असहज भएको भन्दै गाउँपालिका ३ पङसेरामा एक वर्षअघि सम्पर्क कार्यालय स्थापना गरेर कामकाज गर्दै आएको छ ।
गाउँपालिकाका अध्यक्ष उकेन्द्र बोहराले भने गाउँपालिकाको केन्द्र सार्न लागेको कुरा सत्य नभएको बताए । ‘डिलाशैनी गाउँपालिकाको कुन ठाउँमा केन्द्र उपयुक्त हुन्छ । त्यो ठाउँ छनौट गर्नका लागि हामीले विज्ञ टोली बोलाएका हौं’, उनले भने, ‘वडा नम्बर ७ मा अस्थायी केन्द्र भएकाले विज्ञ टोलीको राय सुझावका आधारमा केन्द्रको निर्णय गर्छौं । आन्दोलन गरिरहेका साथीहरुलाई वार्ता मार्फत समस्या समाधानका लागि आग्रह गर्दछु ।’