वडाध्यक्षलाई नै कुट्ने वडाध्यक्ष ६० हजार धरौटीमा छुटे
ओखलढुंगा : कुटपीटको अभियोगमा थुनामा परेका चम्पादेवी गाउँपालिका-८का वडाध्यक्ष अजय लुइँटेल ६० हजार धरौटीमा छुटेका छन्। सोही गाउँपालिका(७ का वडाध्यक्ष सुरेश थापामाथि कुटपीट गरेको अभियोगमा पक्राउ परेका उनी बिहीबार छुटेका छन्।
उनीविरुद्ध सार्वजनिक शान्ति विरुद्धको कसुरमा मुद्दा दर्ता भएको थियो। प्रहरीको अनुसन्धानपछि सिडियोको आदेशमा उनी धरौटी तिरेर छुटेको प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए। मादक पदार्थ सेवन गरेर चम्पादेवी गाउँपालिकाको कार्यालय ताप्केडाँडामा वडाध्यक्ष थापालाई कुटपीट गरेको आरोपसहित लुइँटेलविरुद्ध गत असार ३० उजुरी दर्ता भएको थियो।
मुद्दा दर्तापछि एक महिनासम्म फरार लुइँटेललाई सदरमुकाम आएको समयमा प्रहरीले गत हप्ता पक्राउ गरेको हो। गाउँपालिकामा काम गरिरहेको अवस्थामा साउन १ गते थापासँग निहुँ खोज्दै कुटपीट गरेको आरोप लुइटेलमाथि छ।
लुइँटेल कांग्रेसबाट निर्वाचत अध्यक्ष हुन्। नेकपाबाट निवार्चित वडाध्यक्ष थापा नेकपाका जिल्ला सदस्यसमेत हुन्। अध्यक्ष, उपाध्यक्षसहित बहुमत कार्यपालिका सदस्य जितेको कांग्रेस र नेकपाबीच गाउँपालिकाको बजेट लगायतका विषयमा लामो समयदेखि विवाद हुँदै आएको छ।
थापा र लुइँटेलबीच गाउँपालिकाका योजना लगायतका विषयमा विवाद हुने गरेको थियो। गाउँपालिकामा जनप्रतिनिधिबीचको विवाद तथा कर्मचारी तथा शिक्षक नियुक्तिका मुद्दाका कारण विकासका काम प्रभावित हुँदै आएका छन्। विकासमा योजनामा भ्रष्टाचार भएका उजुरीहरु दर्ता हुन थालेका छन्।
चम्पादेवीमा नेकपा र कांग्रेसबाट निवार्चित जनप्रतिनिधिबीचको विवाद लामो समयदेखि चल्दै आएको छ। गाउँपालिकाका जनप्रतिनिधि बीचको विवादले विकास प्रभावित भएको भन्दै स्थानीय आक्रोसित छन्।