एनआरएनएको चुनावी रन्को : अध्यक्षमा कुल र कुमार भिड्दै

एनआरएनएको चुनावी रन्को : अध्यक्षमा कुल र कुमार भिड्दै

काठमाडौं : गैर आवासीय नेपाली आन्दोलनको भावी कार्यदिशा तय गर्न र नयाँ नेतृत्व चयन गर्न गैर आवासीय नेपाली काठमाडौंमा भेला हुँदैछन्। गैर आवासीय नेपाली संघ (एनआरएनए)को नवौं विश्व सम्मेलन तथा अधिवेशन असोज २८ देखि ३० सम्म चल्नेछ। 

अधिवेशन नजिकिदैं जाँदा नेतृत्वका लागि उम्मेद्वारको दौड शुरु भएको छ। एनआरएनएको राष्ट्रिय समन्वय परिषद्मा धमाधम निर्वाचन सम्पन्न भएर मतदानका लागि प्रत्येक देशबाट प्रतिनिधिको दर्ता हुने क्रमले तीव्रता पाएको गैर आवासीय नेपाली संघको सचिवालयले जनाएको छ।

विश्वका ८० मुलुकमा बसोबास गर्ने ८० लाख नेपालीको आगामी नेतृत्वका लागि वर्तमान कार्यसमितिका उपाध्यक्ष कुल आचार्य र कुमार पन्तले उम्मेद्वारी दिदैंछन्। बेलायतमा बसोबास गर्दै आएका आचार्यले यसअघि नै उम्मेद्वारी घोषणा गरीसकेका छन्। पन्तले पनि आन्तरिक रुपमा प्रचारप्रसार तीव्र पारेको भएपनि औपचारिक घोषणा भने शुक्रबार गर्दैछन्। 

गैर आवासीय नेपाली अभियानले व्यापकता पाएको पछिल्लो १६ वर्षमा यस संस्थालाई उपेन्द्र महतो, देवमान हिराचन, जीवा लामिछाने, शेष घले र वर्तमान अध्यक्ष भवन भट्टले नेतृत्व प्रदान गरिसकेका छन्। आगामी दुई वर्षे कार्यकालमा नेतृत्व लिने र एनआरएनए (अन्तर्राष्ट्रिय समन्वय परिषद्) कार्यसमितिका अन्य पदहरुका लागि स्पर्धा निकै चर्को हुने गरेको छ। पहुँच, प्रतिष्ठा र प्रभावका हिसाबले गैर आवासीय नेपाली संघको नेतृत्वमा आउन खोज्नेहरुको लहर कम छैन।

गैर आवासीय नेपाली संघको अधिवेशनमा विभिन्न देशबाट १८ सय देखि दुई हजार प्रतिनिधि सहभागी हुनेछन्। अध्यक्ष, पाँच जना उपाध्यक्ष, महासचिव, दुई जना सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष, महिला संयोजक, युवा संयोजक, पाँचजना क्षेत्रीय संयोजक तथा उपसंयोजक, महिला र युवा उपसंयोजक गरी २५ पदहरुमा निर्वाचन हुनेछ।
अध्यक्ष पदका उम्मेद्वार आचार्य पश्चिम नेपाल पर्वतका हुन् भने पन्त गोर्खाका हुन्। दुवै रोजगारीका क्रममा करिब दुई दशक अघि बाहिरिएका थिए। दुवैजना हस्पिटालिटी व्यवसायमा छन्। आचार्यको बेलायत तथा पोर्चुगलमा चेन रेष्टुराको व्यवसाय छ।
पन्त जर्मनीको आर्थिक राजधानी फ्रैंकफर्टलाई आधार बनाएर होटल तथा रेष्टुरा व्यवसाय सञ्चालन गर्छन्। एनआरएनका पूर्व उपाध्यक्ष जीवा लामिछाने, शेष घले लगायतसँग साझेदारीमा व्यवसाय गरिरहेका उनको समूहको युरोपमा १२८ होटलहरु छन्। 

पन्तले गैर आवासीय नेपाली संघमा रहेर सामूहिक लगानीका परियोजनालाई जोड दिदैं आएका छन्। अन्नपूर्ण पोस्ट्सँगको कुराकानीमा गैर आवासीय नेपाली आन्दोलनको डेढ दशकलाई समीक्षा गरेर विश्वसम्मेलनले निर्दिष्ट गरेका मार्गदर्शनलाई कार्यान्वयनलाई आफूले प्राथमिकतामा राख्ने उनले बताए। ‘भारत, चीन जस्ता डायस्पोराको तुलनामा नेपाली डायस्पोरा नयाँ छ। डायस्पोरा समुदायलाई मुलुकको विकासमा अझै कसरी लगाउने र नेपालसँग नेपालीलाई कसरी जोडिराख्ने भन्ने नै हाम्रो अभियानको ध्येय हो,’ उनले भने। 

आचार्यले गैर आवासीय नेपालीको सीप, ज्ञान, पुँजी र प्रविधिलाई नेपाल भित्र्याउन आफूले थप पहल गर्ने बताउँदै आएका छन्। त्यस्तै, दोस्रो पुस्ताका नेपालीहरुलाई नेपालसँग जोड्ने गैर आवासीय नेपाली नागरिकता लगायतका विषयलाई उनले प्रधानता दिदैं आएका छन्। ‘नेपाली डायस्पोराको क्षमतालाई कसरी उपयोग गर्ने भन्नेमा सरकार पनि स्पष्ट हुनुपर्छ,’ आचार्यले भने, ‘गैर आवासीय नेपालीले नै देश बनाउने हो भनेर हामीले भनेका छैनौं, देश विकासको अभियानमा हामी सहयात्री भने अवश्य हौं।’

गैर आवासीय नेपाली संघमा रुस र त्यहाँको पृष्ठभूमीका गैर आवासीय नेपालीहरुले नेतृत्वमा बाजी मार्दै आएका छन्। संस्थापक अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने, शेष घले यही पृष्ठभूमीका हुन्। यसपटकको निर्वाचन भने थप रोचक देखिएको छ।

अध्यक्ष पदका प्रत्यासी कुमार पन्त अघिल्लो कार्यकालमा अध्यक्षका उम्मेद्वार बन्ने चर्चा थियो। तर, तत्कालीन अध्यक्ष शेष घलेले श्रीमति जमुना घलेलाई अध्यक्षको उम्मेद्वार बनाएपछि अध्यक्षको प्रत्यासीका रुपमा रहेका भवन भट्ट र कुमार पन्त आपसमा मिलेर अध्यक्ष र उपाध्यक्षमा चुनाव लडेका थिए। त्यसकारण पनि पन्तले यसपटक अध्यक्षमा आफ्नो दाबी स्वभाविक भएको बताउँदै आएका छन्। 

अधिवेशन नजिकिदैं गर्दा पन्त र भट्टलाई मिलाउन भूमिका निर्वाह गर्ने संस्थापक अध्यक्ष उपेन्द्र महतो, जीवा लामिछाने तथा संरक्षकमा पनि एकमत देखिएको छैन। विधान संशोधन प्रयास असफल भएपछि वर्तमान अध्यक्ष भवन भट्ट र अघिल्ला चुनावमा आफूले अघि सारेको उम्मेद्वारलाई जीवा लामिछानेको समूहले स्वीकार नगरेको भन्दै संस्थापक अध्यक्ष उपेन्द्र महतो लगायतको समूह कुल आचार्यको पक्षमा देखिएका छन्। अध्यक्षका दुई उम्मेद्वारको पक्षमा संस्थापक, संरक्षक र पूर्व अध्यक्षहरुको ध्रुवीकरण रोचक रहेको गैर आवासीय नेपाली अभियानमा संलग्न बताउँछन्। 

गैर आवासीय नेपाली अभियानमा सुरुवाती दिनदेखि नै सक्रिय रहेका सुभाष अधिकारीले निर्वाचनको समयमा उम्मेद्वारले राजनीतिक रङ दिने प्रयास गरे गैर आवासीय नेपाली संघ राजनीतिक संस्था नरहेको भन्दै अधिवेशनमा योग्य उम्मेद्वारहरु नेतृत्वमा आउने बताउँछन्। ‘गैर आवासीय नेपाली संघ कुनै राजनीतिक उद्देश्य प्रेरित संस्था होइन। सबै गैर आवासीय नेपालीहरुका साझा मुद्दा र समान धारणा छन्,’ उनले भने, ‘यसका लागि सशक्त संस्था निर्माण गर्नुपर्छ।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.