बेइजिङमा राष्ट्रिय दिवस मनाइयो
बेइजिङ : नेपालमा संविधान जारी भएको चार वर्ष पूरा भएको अवसरमा बेइजिङस्थित चीनका लागि नेपाली दूतावासले बिहीबार बेइजिङमा नेपालको राष्ट्रिय दिवस मनाएको छ।
राजदूत लीलामणि पौड्यालले आफ्नो मन्तव्यमा संविधान दिवसलाई नेपालले राष्ट्रिय दिवसको रुपमा मनाएको चर्चा गर्दै चीन नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता र स्वतन्त्रताको सम्मान गर्ने असल छिमेकी मुलुक भएको उनले औंल्याए।
राजदूत पौड्यालले दुई मुलुकबीच दौत्य सम्बन्ध कायम भएदेखि चीनले नेपालको विकासमा पूर्णरुपले सहयोग गर्दै आएको बताए। नेपाल चीनबीचको मित्रताले आगामी दिनमा नयाँ आयाम थप्ने बताउँदै राजदूत पौड्यालले चिनियाँको हार्दिकताको पनि प्रशंसा गरे।
राष्ट्रपति विद्यादेवी भण्डारीको चीन भ्रमणको प्रसंग पनि उठाएका छन्। उनी चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङको सम्भावित नेपाल भ्रमणसम्बन्धमा भने केही बोलेनन्।
सो अवसरमा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले राष्ट्रिय दिवस समारोहका मुख्य अतिथि चिनियाँ उपविदेश मन्त्री ल्वो चाओहुइसँग टोस्ट गरेका थिए। त्यस अघि राजदूत तथा उपविदेश मन्त्री ल्वोले पावस बत्ती बालेका थिए।