रातभरिमा ‘एनिमल फार्म’
बागलुङको बलेवामा जन्मेका भूपिन सप्तगण्डकी बहुमुखी क्याम्पस, चितवनमा प्राध्यापन गर्छन्। उनका ‘क्षतिग्रस्त पृथ्वी र मूल सडक’ (२०५३), ‘हजार वर्षको निद्रा’ (२०६७), ‘चौबीस रिल’ (२०६९), ‘सुप्लाको हवाईजहाज’ (२०७२) र मैदारो (२०७५) पुस्तक प्रकाशित छन्। प्रस्तुत छ, उनीसितको फुर्सद–वार्ता :
यहाँलाई फुर्सद कत्तिको हुन्छ ?
प्राध्यापनबाहेकको समय लगभग फुर्सदमै हुन्छु।
के गर्नुहुन्छ फुर्सदमा ?
पढ्ने, लेख्ने, फिल्म हेर्ने। युट्युबको लत लागेको छ। मेसीको खेल नहेरी निद्रा लाग्दैन।
खेल पढाउनुहुँदो रहेछ, यसैले पनि होला नि मेसी...
(हाँसो) हुन सक्छ ब्रो !
पछिल्लो पटक पढेको किताब ?
लिडिया एविलोवको ‘मेरे जीवन मेँ चेखव’। लिडियाको मृत्युपछि प्रकाशित उक्त पुस्तकमा चेखवसँगको उनको अधुरो प्रेमकथा लेखिएको छ।
किताब कस्तो लाग्यो ?
लिडियाको माया लाग्यो।
अनि...
दस वर्षसम्म चलेको उनीहरूको गुप्त प्रेमसम्बन्धले चेखवका नाटकमा आएको वेदना र विशादबारे बुझ्न यस पुस्तकले सघाउँछ।
यहाँको सिरानीमा किताब ?
युवल नोआ हरारीको स्यापियन्स।
हातमा भएको किताब ?
ओल्ड पाथ ह्वाइट क्लाउड्स्।
थाती राखेको किताब ?
थुप्रै छन्।
धेरै पटक पढेको किताब ?
भूपीको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’।
पहिलो (बच्चाको) किताब
‘बामपुड्केको देश’।
धेरै पटक उपहार दिएको किताब ?
सायद खलिल जिब्रानको ‘द प्रोफेट’।
पढ्न मन लागेर नपाएको किताब ?
‘भिन्सेन्ट्स् कलर्स : वर्डस् एन्ड पिक्चर्स’
कहाँ किन्नुहुन्छ ?
निश्चित हुन्न। अचेल सम्पूर्ण किताब, नारायणगढमा।
कुन समय धेरै किताब पढ्नुभयो ?
ब्याचलरदेखि मास्टर्स पढ्ने बेलासम्म।
मन परेको पुस्तकालय ?
तिहारमा आफैं भैलो नाचेर उठाएको पैसाले स्थापना गरेको गाउँको प्रगतिशील पुस्तकालय।
पुस्तक समीक्षाहरू पढ्दा कस्तो लाग्छ ?
प्रायः गम्भीरता र गहनताको अभाव महसुस गर्छु।
पढिसकेपछि राम्रो लागेको किताब अरूले पनि पढून् भन्ने लाग्छ कि सकेसम्म नभेटून् ?
धेरैले पढून् भन्ने नै लाग्छ।
पुस्तकबारे प्रतिक्रिया लेख्न मन लाग्छ ?
पत्रिकामा खासै लेख्दिनँ। फेसबुक र ट्विटरमा आक्कलझुक्कल धारणा राख्छु।
पढ्दै गर्दा मन परेको नपरेको कुरा अन्डरलाइन गर्ने, केरमेट गर्ने, पन्ना दोबार्ने गर्नुहुन्छ ?
धेरै नै गर्छु। किताब बिरूप पारेँ भनेर पछुतो पनि लाग्छ।
प्रायः कहाँ र कति बेला पढ्न मन पराउनु हुन्छ ?
आफ्नो ओछ्यानजस्तो प्रिय पढ्ने ठाउँ अर्को छैन। पढ्ने समय निश्चित हुन्न। धेरैजसो राति पढ्छु।
यहाँसँग भएको दुर्लभ पुस्तक ?
त्यस्तो त खासै छैनन् होला।
राष्ट्रपति, प्रधानमन्त्री, पुष्पकमल दाहाल, शेरबहादुर देउवालाई कुन कुन पुस्तक सिफारिस गर्नुहन्छ ?
राष्ट्रपतिलाई द सेकेन्ड सेक्स, प्रधानमन्त्रीलाई नाइन्टिन एटी फोर, प्रचण्डलाई एनिमल फार्म र देउवालाई कम्युनिस्ट मेनिफेस्टो।
किनेको सबैभन्दा महँगो पुस्तक ?
सायद जेम्स जोयसको ‘युलिसिस’।
बढ्ता होहल्ला भएको औसत पुस्तक
धेरै छन्।
कम होहल्ला भएको गज्जबको पुस्तक ?
रोशन शेरचनको ‘मस्तिष्कहरूको मृत्यु’ र ‘धोबीघाट एक्सप्रेस’, तीर्थ गुरुङको ‘पाठशाला’।
रोजाइमा कुन विधा ?
सबै।
तपाईंको विषयगत अनुसन्धानात्मक लेखनी ?
मास्टर्सका लागि गरेको थेसिस मात्र। अरू छैन।
के कहिल्यै कुनै किताब चोर्नुभएको छ ?
चोर्ने कल्पनासम्म गरेको पनि सम्झना छैन।
पढिसकेका किताब कसरी व्यवस्थापन गर्नुहुन्छ ?
स्कुल र पुस्तकालयहरूलाई उपहार दिन्छु।
किताबमा गाता हाल्नुभयो ? अहिले पनि हाल्नुहुन्छ ? प्लास्टिकको कि कागजको ?
पहिला पहिला खुबै हाल्थेँ। अहिले त ओरिजिनल कभरमा नै पढ्न मजा लाग्छ।
किताब मनमनै पढ्नुहुन्छ कि सस्वर बाचेर ?
मनमनै।
कुन लेखक भेट्न चाहनुहुन्छ ?
असरफ फैयाद। उनलाई साउदी अरब सरकारले मृत्युदण्डको सजाय सुनाएपछि उनको जीवनरक्षाका लागि विश्वव्यापी अभियानअन्तर्गत हामीले अक्षर समूह, चितवनका तर्फबाट नेपालमा कार्यक्रमको नेतृत्व गर्यौं। उनको लेखनबाट प्रभावित भएर होइन, आत्मीयताका कारण।
तपाईंले लेख्न चाहिरहेको पुस्तक ?
पर्यावरण साहित्य लेखनमा केही गम्भीर काम गर्ने मेरो सपना हो। यही विषयमा काव्य या उपन्यास लेख्न मन छ।
किताबबारे कुनै एक रोचक घटना ?
मास्टर्स पढिरहेका एक दाइले मेरो र्याकबाट झिकेर रातभरिमा जर्ज अरवेलको ‘एनिमल फार्म’ पढ्नुभएछ। भोलिपल्ट बिहान भन्नुभयो, ‘जीवनमा टप टु बटम पढेको पहिलो किताब यही हो।’ मैले त्यो दिन हामी नेपालीको पठन संस्कृति कति कमजोर छ भनी गहिरोसँग बोध गरेको थिएँ।
कुराकानी : विमल