बैठक

बैठक

कुनै कामदार घाइते भएर मरे नै पनि उसको बदलामा अर्को आइहाल्छ। उसले नगरे अर्काले गरिहाल्छ। तर मेसिन बिग्रिए काम रोकिन्छ। घाटा हुन्छ।


अकस्मात् मालिकले बैठकमा बोलायो।

परदेशको ठाउँमा कारखानाको विशेष बैठक कक्षमा आप्रवासी मजदुरले विरलै मात्र जान पाउने भएकाले बैठकमा जाने खबरले मन चंगा भयो। यौटा बिना सीपको आप्रवासी कामदारले साहुजीसँगै बसेर छलफल गर्न पाउने भयो। फेरि तत्काल उत्साह हराई पनि हाल्यो। म त सतही मान्छे पो ! सतही मान्छेका खुसीहरू दीर्घकालीन कहाँ पो हुन्छन् र ! साँच्चै कुन सामान बिग्रिएछ ? अब कति गाली खानुपर्ने होला !

बैठक कोठामा पुगेपछि मैले आलमारीमा सजिएका सामानहरू हेर्दाहेर्दै अनायासै सुमसुम्याउन पुगेछु।

‘नछो ! ती सामानहरू तैंले छुन मिल्दैन।’ तत्कालै कसैले मलाई आदेश दियो। सुनेर मेरो मन खिन्न भयो। मलाई त्यो आदेशको प्रतिकार गर्न मन लाग्यो— यी सामानहरू मैले पनि बनाएको हुँ। यिनीहरूमा मेरो पनि मेहनत मिसिएको छ। यिनको सौन्दर्यमा मेरो पनि पसिनाको रङ पोतिएको छ। तर प्रतिकार गरिहाल्न भने सकिनँ, बरु मैले आफ्नै समाज सम्झिएँ जहाँ— मूर्तिकार आफैंले बनाएको मूर्ति पुज्न पाउँदैन। जहाँ नकर्मीले धार भरेको चुलेसीले सब्जी काटिन्छ तर त्यही नकर्मी अछूत हुन्छ। जहाँ सूचीकारले सिएको लुगाले लाज छोपिन्छ तर त्यही सूचीकार तल्लो जातको भइदिन्छ। जहाँ नौ महिना कोखमा बोकेर जन्माएको सन्तानलाई आमाले आफ्नो नामबाट नागरिकता दिलाउन सक्दिनन्।

‘अहो ! हिजो आफैंले फलामको पातासँगै हातै घोटेर निकालेको सामान आज मेरो लागि अछूत भयो। हिजो आफैंले रंगाएको सामान आज मैले छुँदा बिग्रन्छ अरे।’ हाम्रो घरदेशमा जातको, घर्मको, लिंगको, वर्गको विभेद छ। परदेशमा पद, प्रतिष्ठा, धनको विभेद रहेछ। मैले बुझेँ आखिर विकसित देश नै किन नहोस् विभेद त जहाँ पनि हुँदो नै रहेछ। फरक रछ त केवल विभेदको प्रकृतिमा। मान्छेको उच्च चेतनास्तर र जीवनशैलीले पनि विभेदमा खासै फरक नपार्दो रहेछ। —विभेद त प्रवृत्ति पो रहेछ।

मैले छुन मिल्दैन, कारण म एक मामुली मजदुर। मलाई लाग्यो, मजदुरको पसिना मात्र छूत हुँदो रहेछ। आजसम्म पसिनालाई संसारको कुनै पनि कुनामा प्रतिबन्ध लगाइएको थाहा छैन।

सामुन्नेको कुर्सीमा बस्न मलाई डर लाग्यो। सोचेँ, ‘यो अमिरहरूको कुर्सी हो।’ —यौटा निम्नस्तरको मजदुरले अमिरहरू बस्ने कुर्सीमा बस्नुहुन्छ कि हुँदैन होला ?

यत्तिकैमा साहुजीको इन्ट्री हुन्छ।

हामी सतर्क भयौं। यतिबेरसम्म सबैले आआफ्ना मनमा दोहोर्‍याई, तेहर्‍याई हामी गाली खान आएका हौं भनेर गमिसकेका छौं।

मैले सम्झिएँ— गाउँका हुनेखानेहरू देख्दा हामीजस्ता हुँदाखानेहरू लुक्नुपथ्र्यो। गाउँमा साहु भनेकै तिनै हुन्थे जसका घरबाट अलैंची फलेपछि, अदुवा खनेपछि, अम्रिसाको फूल (कुचो) थुतेर अथवा धान खेती हुनेहरूले मंसिरमा खलाबाटै धान तिर्ने गरी उधारो खाइएको हुन्थ्यो। मलाई अझै पनि ती साहुजीहरूको नाम सुन्दामात्र पनि डर लाग्छ, जो मंसिर लागेपछि किसानले नुहागी खान नपाई गरिबको खलाखलामा बोरा बोकेर ब्याजी धान उठाउँदै हिँड्थे। बल्ल बुझ्दैछु, असलमा साहुजी भन्नु त रोजीरोटीको स्रोत मात्र नभएर भयको पोको पनि रहेछ।

साहुजी सरासर आयो र मेरै सामुन्नेको कुर्सीमा बस्यो। एकफेर सबैको अनुहार पढ्यो र अघिल्लो हप्ता मात्र नेपालबाट आएको साथीतिर हेरेर प्रश्न गर्‍यो, ‘वर्ष दिनपछि काम गरिस्, थाकेको होलास् ? ’

यहाँका स्थानीयको विश्वास छ, ‘साहुजी भनेको भगवान् हो। आमा बुवाभन्दा पनि माथि हुन्छ।’ सोचेँ, अहो ! वास्तवमै हाम्रो साहुजीको कति ठूलो मन ! मैले अहिलेसम्म कुनै साहुजीले मजदुरलाई ‘गलिस् ? ’ भनेको सुनेको थिइनँ। बरु साहुहरूको गाली टन्नै खाएको छु। माझनहरूको एक कचौरो भात टर्रो वचनले धेरै पटक मुछेर निलेको छु। माझनहरूको स्नेहको एक शब्द पनि सगरमाथा हुँदो रहेछ। यो सत्य हो ‘हामीले राम्रो काम गरेका थियौं र गरिरहेका छौं।’ साहुले बुझेर पक्कै केही बक्सिस दिन लागेछ। नभए पनि अब धन्यवाद त पक्कै भन्नेछ। कस्तो आषाबादी मन, अहो ! मामुली मान्छेहरूको मन स्यानै कुरामा पो बाँचेको हुदो रहेछ। मामुली मान्छे स्यानै कुरामा पो खुसी हुन सक्दो रहेछ।

‘तिमेरु विदेशीले टेरेनौ।’ साहुको खस्रो बचनले हाम्रो आशामा चट्याङ पर्‍यो। मैले बुझेँ, मामुली मान्छेको खुसी क्षणभंगुर पनि हँदो रहेछ। वास्तवमै अमिरहरूको एकै शब्दले पनि ठूलो महŒव राख्दो रहेछ। धनसँग ठूलो गर्जनको स्रोत हुदो रहेछ !

एकै शब्दमा साहुजी भने रोकिएन। ‘भोको शेर गर्जिएपछि आफ्नो अस्तित्व लुकाउनुनै बेस।’ हामी सबैले घोसेमुन्टो लगाएर साहुको गर्जन सुनिरह्यौं। संसारमा सबैभन्दा ठूलो शक्ति भोकसँग हुन्छ। यति बेला हाम्रो साहुजी नाफाको भोको छ।

कारखानामा काम गाह्रो छ। पानी पिउने, शौचालय जाने अथवा आराम गर्ने सबै निश्चित समयमा गर्नुपर्छ। प्रत्येक सेकेन्डले ठूलो महŒव राख्छ। त्यहीमाथि साहुजीको किचकिच। साहुजीले हामीसँगै काम गर्ने भएर पनि होला, हाम्रो डिपार्टमा कामदारहरू जहिल्यै अपुग भइरहन्छन्। स्थानीयहरू धेरै टिक्दैनन्। यसरी कामदार अदलबदल हुँदा लोड हामी विदेशीलाई पर्छ। परदेशमा नाइँ, थाकेँ, काम गर्दिनँ नभनेकै राम्रो।

केही दिनअघिको कुरा हो, यौटा मजदुरले काम छाड्यो। ऊ एकदमै विषालु रसायनमा काम गथ्र्याे। कामदार अपुग भएपछि त्यही रसायनमा हामी विदेशीलाई काम गर्ने आदेश आयो। हामीले सोच्यौं— स्वास्थ्यभन्दा ठूलो धन हैन। हामी धन कमाउन त जरुर आएका हौं तर स्वास्थ्य बिगार्न हैन। हामीलाई थाहा छ, कारखानामा काम अवरुद्ध भइराखेको छ। तर, आफूलाई मारेर काम गर्नु पनि त भएन। आफैं मरे धन केका लागि ? हामीले रसायनमा काम गर्न नसक्ने जानकारी दियौं। यसैको रिसमा रहेछ साहुजी। उसलाई काम किन गरेनन् भन्दा पनि ठूलो इस्यु रहेछ मेरो कुरा यिनीहरूले टेरेनन्। मालिकको कुरा मजदुरले नटेर्ने छुट परदेशमा सायदै छ।

साहुजी एकतमास मतिरै हेरेर गर्जिरहेछ। ऊ थरीथरीका उदाहरणहरू दिइरहेछ। जस्तै— ड्राइभरले बाटो खराब आयो, म गाडी कुदाउँदिनँ भनेर घुर्की लगाउँदा गन्तव्यमा पुगिन्छ ? तराजुको एक भागमा भार धेरै भयो भने के हुन्छ ? बगानभरि लटरम्म फसल लागेको छ, कामदार भेटिएन भने फसल कुहिन दिने ? घरको एकतिरको थाम भाँचियो भने अर्को थाम लगाउनुपर्छ कि पर्दैन ? कारखाना भनेको तराजुजस्तै हो। लटरम्म फसल लागेको करेसा बारीजस्तै हो। थामहरूले अड्याएको घरजस्तै हो। सबैले ब्यालेन्समा राख्नुपर्छ। कहाँ को छैन, मेरो काम यो हैन गर्दिनँ, डेन्जर छ, थाक्छु भनेर हुन्छ ? ऊ मलाई नै प्रश्न गर्छ। मसँग जवाफ छैन। हैन, जवाफ त छ। मैले जवाफमा प्रतिप्रश्न गरेको भए हुन्थ्यो, ‘कहिले पो कामदार पूरापूूूर छन् र हाम्रो डिपार्टमा ? कारखानालाई ब्यालेन्समा राख्ने जिम्मेवारी मजदुरको हो र ? जानेको र सक्ने काम नै सबैले गर्ने हैन र ? चित्त नबुझेको कुरा नकार्ने अधिकार सबैलाई हँदैन र ? ’ तर राख्न सकिनँ।

अझै मालिक थप्छ, तिमीहरू अब बिनासीपका कामदार हैनौ। यत्रा वर्षहरूमा तालिमप्राप्त योग्य कामदार भइसक्यौ। आफैं काम देखेर गर्ने हो। तर, जब तनाखा दिने बेला आउँछ खै कुन्नि के सोच्छ साहुजी, भर्खर कारखानामा आएको अयोग्य कामदारलाई समान तनाखा दिन्छ। म बुझ्दिनँ— योग्यता काम गर्दामात्र उपयोग हुन्छ अथवा योग्यताले प्रतिफलमा पनि असर गर्छ ? योग्यताले उसको जीवनशैलीमा फरक पार्दैन भने योग्यताको के अर्थ ?

म सोचिरहेछु, विगत सात वर्षयता यो कारखानामा मैले धेरै पसिना बगाएको छु। म हरेक काममा सतर्कता अपनाउँछु। भरसक सामान नराम्रो नआओस् भनेर सुरक्षित काम गर्छु। पिसाब फेर्ने, पानी पिउने समय पनि कम नै मिल्छ। तर, जब साहुजीले मलाई देख्छ, ऊ सबैभन्दा पहिले मेरो शरीरमा हेर्ने गर्छ। सायद ऊ मेरो पसिनाले लुगा कत्तिको भिजेका छन् भनेर जाँच्तो हो। सायद उसले मेरो अनुहारमा थकान छ कि मुस्कान भनेर जाँच्तो हो। मलाई थाहा छ, मेरो मुहार हँसिलो भएको दिन मेरो साहुको मुहार अँध्यारो हुन्छ। मैैले थाकेर निन्याउरो मुहार लगाएको साँझ साहुजी औधी खुसी देखिन्छ। पसिनाले निथ्रुक्क भिजेको दिन सधैं ढाप मार्ने गर्छ। म सोच्थेँ, साहुजीको मन ठूलो छ। खुब माया देखाउँछ। तर, आज हेक्का भयो, असलमा साहुजीले राम्रो काम गरेको देख्दो रहेनछ। लाखौं सामानको थुप्रोमा पनि यौटा बिग्रिएको सामान परैबाट देखिन्छ। यौटै भए पनि कमजोरी मात्र खोजिँदो रहेछ। भनिन्छ नि ‘सयौं गुन गर्दा पनि यौटा बैगुन खोजिबस्छ मान्छे।’ त्यही भयो ‘रसायन छ असर गर्छ’ भन्ने एक शब्दले म बैमान ठहरिएँ। साहुजीले कहिल्यै पनि मजदुरको मुहारमा खुसी देख्न चाहँदो रहेनछ। मजदुरको शरीरमा पसिना नभए काम ठगेको अर्थ पो लाग्दो रहेछ। साहुजीले त मजदुरको शरीरमा स्फूर्ति र मुहार सधैं थकित देख्न पो चाहँदो रहेछ। बारबार म यसैको सिकार पो भइराखेको रहेछु।

— साहुजी हुनु भनेको राजा हुनु रहेछ। राजा भगवान् होइन शासक हो। शासकले शासन गर्छ।

हिजो मात्र साथीले काम गर्दागर्दै दुर्घटनामा परेर हातका दुई औंला जरैबाट छिनाल्यो। बैठक कोठामा जानुभन्दा अगाडि मैले सोचेको थिएँ, उक्त साथीको कुरा पनि गर्नेछ साहुले, सतर्क हुन सिकाउनेछ। दुर्घटना भएकोमा सहानुभूति दिनेछ। तर त्यसो भएन। बरु दुर्घटना भएर काम रोकिएकोमा ऊ चिन्तित देखियो। साहुको लागि यौटा कामदार यौटा मेसिन जत्तिको पनि मूल्यवान् हुँदो रहेनछ। मलाई थाहा छ, यौटा मेसिन बिग्रँदा साहुको अनुहार कस्तो हुन्छ भनेर। अझै याद छ, हिजो यौटा मेसिन बिग्रँदा कसरी बिग्रियो ? किन बिग्रियो ? कहिले बन्छ ? छिटो बना भनेर साहुने कयौं बार कयौं प्रश्न सोधेको। तर आज कामदार घाइते हुँदा उसलाई कुनै फिक्री छैन।

साहुजी सोच्तो रहेछ— कुनै कामदार घाइते भएर मरे नै पनि उसको बदलामा अर्को आइहाल्छ। उसले नगरे अर्काले गरिहाल्छ। तर मेसिन बिग्रिए काम रोकिन्छ। घाटा हुन्छ।

साहुजी अझै रोकिएको छैन। बारबार ऊ मलाई बिनागल्ती कराइरहेछ। कारण म मैले काम गर्ने डिपार्टको सबैभन्दा पुरानो विदेशी कामदार हुँ। उसले सोचेको छ —मैले सबै विदेशी कामदारलाई भड्काएँ।

कराउँदा कराउँदै थाक्यो सायद। केही छिनको मौनतापछि साहुजी एकाएक नम्र भयो। भन्न लाग्यो, ‘भन त तिमीहरूलाई के लाग्छ ? किन नगरेको त्यहाँ काम ? ’

साहुको लचकताले हामीहरूले थोरै राहतको श्वास फेर्‍यौं। सबैभन्दा सुरुमा मेरै छेउमा भएको साथीलाई माथिको प्रश्न तेस्र्यायो। प्रश्न सुनेर साथीले मेरो अनुहारमा हेर्‍यो। साहुजीमा मप्रतिको शंका झन् थपियो।

साहुजीले अब मलाई प्रश्न गर्‍यो।

‘भन त गणेश तेरो विचारमा के लाग्छ ? ’

म बोलिनँ। शिर निहुर्‍याइरहेँ। स्थानीयहरू ठूला मान्छेको सामुन्नेमा खानु परे मुख लुकाएर, कोल्टे फर्किएर, छलिएर खान्छन्। ठूला मान्छेले गाली गर्दा, ठूला मान्छेसँग बोल्दा आई टु आई कन्ट्याक नभएर माउथ टु इयर कन्ट्याक भए हुन्छ भन्नेमा विश्वास गर्छन्।

‘भन न’, फेरि उसले सोध्यो।

म अझै पनि मौन छु।

अति नम्र भाषामा तेस्रो पटक साहुजीले सोधेपछि मैले भन्नैपर्ने भयो। थोरै शिर उठाएँ। यसो गर्दा साहुका नजरसँग मेरा नजर ठोकिए। एकाएक मलाई भान पर्‍यो, मेरो सामुन्नेमा नम्र भाषामा बोलिरहेको साहुजी हुँदै हैन। सामुन्नेको सिकारलाई कसरी आक्रमण गरौं भनेर नजर नचाउँदै सिंह बसिरहेको छ।

अनकनाउँदै ‘साहुजी मेरो पेटको समस्या छ। दबाई खाइरहेको छु।’ यतिमात्र बोलेको के थिएँ मेरो कुरालाई बीचमै काटेर ऊ कड्किहाल्यो, ‘समस्या नहुने मान्छे को छ यो दुनियाँमा ? तेरो पेटसँग मेरो कारखानाको के सम्बन्ध ? के फाइदा ? मैले त तेरो कामको पारि श्रमिक दिएकै छु त। तँ यौटा कामदार होस, म साहु। साहुले अह्राएको कामदारले टेर्नुपर्छ।’

साहुजीको आशय थियो, उसको सवालको मैले जवाफ दिएर गल्ती गरेँ। म नबोलेरै बस्नुपथ्र्याे। उनीहरूको बुझाइमा आफूभन्दा ठूलाबडासँग मुख लाग्नु, कुरा फर्काउनु, वादविवाद गर्नु अपराध हो। मैले अपराध गरेँ। जसरी कुनै अपराधीलाई प्रहरीहरूले इन्काउन्टर गर्छ, त्यसरी नै साहुले मेरा शब्दशब्दमा इन्काउन्टर गरिरहेछ। जसरी कुनै चलचित्रमा खलनायकले नायकमाथि आक्रमण गर्छन्, त्यसरी नै आक्रमण गर्न साहुले मौका पो हेरिरहेको रहेछ। खासमा साहुजी चाहँदो रहेछ यौटा मजदुर नमरे अर्को मर्छ। के भो त ! काम चैं रोकिनु भएन।

मसँग भन्न त मुख्य कुराहरू बाँकी नै थिए। जस्तो कि— कडा रसायनमा काम गरे हामी अविवाहित पुरुषमा यौन समस्या हुनसक्छ। दुर्घटना भए अंगभंग त हुन्छ नै, दुर्घटना नभए पनि शुक्रकीट उत्पादनमा ह्रास आउँछ। पछि सन्तान नहुन सक्छ। तर यहाँनिर बोल्नुको अर्थ थिएन। यति बेला हामी बोल्न हैन सुन्न आएका थियौं।

साहुजीले अब भने कामको कुरा छाडेर बिग्रिएका सामानको कुरा निकाल्यो। प्रत्येक कामदारलाई दोषी देखायो। कामदारको यौटा स्यानो गल्तीले कारखानाले बेहोर्ने ठूलो घाटाका कुरा गर्‍यो। प्रत्येक वर्ष मजदुरका प्रतिनिधि र मालिकहरूबीच छलफल गरेर रोजगार विभागले बढाइदिएको सेलरीको प्रतिशतको कुरा गर्‍यो। आफूले उक्त रकम दिन सक्ने नसक्ने अवस्था र आधारको कुरा गर्‍यो। जसरी गत सालभन्दा यो साल जति प्रतिशत तलब बढेको छ, उसरी नै काम पनि त्यति प्रतिशत नै राम्रो र धेरै आउनुपर्ने आशयको तर्क राख्यो। एक किसिमले उसको तर्क पनि ठिकै थियो। तर उसले देख्नुपथ्र्यो, कामदारले पाउने मासिक बोनस काटेको। देखेन उसले मजदुरले पाउँदै आएको वार्षिक बोनस आफैंले काटेको। देखेन मजदुरहरूले पाउँदै आएको सेवासुविधा काटेको।

साहुको यौटै आशय थियो— जे गरेर भए पनि काम गर्दैनौं भनेको ठाउँमा हामीलाई काम गर्न राजी बनाउनु।

एकाध घन्टासम्म पनि हामीले हुन्छ भनेर नभनेपछि हामीलाई बैठककोठामा बसाइराखेर कारखानाका मेसिनहरू नचलेको उसलाई भेउ भयो। मेसिनहरू नचल्नु भनेको साहुलाई घाटा हुनु हो। साहुजी कुर्सीबाट जुरुक्क उठ्यो र आदेशको भाषा बोल्यो, ‘यो सिंगो कारखानाको सबै काम एकै हो। क्याप्टेनले जहाँ जहाँ काम अह्राउँछ, त्यहाँ त्यहाँ गर्दिनँ नभनी गर्नू।’ त्यसपछि सरासर आफ्नो बाटो लाग्यो।

साहु उठेर गएको धेरै बेर पछिसम्म पनि मेरो मगजमा यौटा प्रश्न घुमिरहेछ, ‘सबै कुरा बुझ्ने, सबै कुरा देख्ने, सबै कुरा सुन्ने साहुले मजदुरकै कारण म साहुजी भएको हुँ भन्ने कुराचैं किन नबुझेको होला ?


@bhujutti कोरियामा मजदुरी गर्छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.