नेपाल भ्रमण वर्ष २०२० : सपना ठूलो, सुरसार सुस्त

नेपाल भ्रमण वर्ष २०२० : सपना ठूलो, सुरसार सुस्त

काठमाडौं : स्थायी शान्तिसँगै देशमा पर्यटक आगमन बढ्दो छ। वृद्धि दर भने सीमित छ। सन् २०२० लाई सरकारले भ्रमण वर्ष घोषणा गर्दै २० लाख नै पर्यटक भि¬त्र्याउने लक्ष्य राखेको छ। त्यो हासिल गर्न जुन रफ्तारमा लाग्नुपर्ने हो, त्यसमा ढिला भइरहेको विज्ञहरूले औंल्याएका छन्।

हाल वार्षिक करिब १२ लाख पर्यटक आइरहेका छन्। विदेशी पर्यटक भित्र्याउने एकमात्रै हवाई मार्ग त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हो। सन् २०१८ मा हवाईमार्गबाट ९ लाख ६९ हजार र स्थलमार्गबाट दुई लाख ३ हजार गरी कुल ११ लाख ७३ हजार पर्यटक नेपाल भित्रिएका छन्।

पर्यटन व्यवसायी एवम् नेपाल पर्यटन बोर्डका पूर्वसदस्य राजेन्द्र सापकोटा भन्छन्, ‘तयारी विनाको लक्ष्य पूरा गर्न कठिन छ। सन् २०२० लाई आधार वर्षका रूपमा मनाउनुपर्छ।’ २५ लाख पर्यटक भित्र्याउने लक्ष्य बनाएर त्रिवर्षीय योजना तय गर्नुपर्ने सुझाव उनको छ। उनले भने, ‘अहिलेकै जस्तो कमजोर पूर्वाधार, सेवासुविधा र प्रवद्र्धनले लक्ष्यअनुसार पर्यटक भित्र्याउन सकिन्न।’

नेपाल भ्रमणबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरू बीबीसी, सीएनएन, ट्रिप एडभाइजर तथा भारत र चीनका उत्कृष्ट टीभी च्यानलमा व्यापक प्रचारप्रसार गर्नुपर्ने सुझाव उनको छ।
सरकारले पर्यटक आकर्षित गर्ने प्याकेज ल्याएको छैन। कम्तीमा २०२० मा नेपाल आउने पर्यटकलाई भिसा फ्री गर्ने, नेपाल आएपछि कुन गन्तव्यमा जाँदा के सुविधासेवा पाइने त्यसको स्पष्ट व्यवस्था गर्ने, हिमाल आरोहणमा आकर्षित गर्न रोयल्टीमा छुट दिने लगायतका सहुलियत दिनुपर्ने सुझाव व्यवसायीको छ।

नेपाल वायुसेवा निगमले जापान उडान सुरु गरे पनि जहाज खाली उड्नुपर्ने अवस्था छ। ‘सरकारले जापानी पर्यटक आकर्षित गर्न खै त प्याकेज बनाएको ? ’ एक व्यवसायीले प्रश्न गरे। भारतीय पर्यटकलाई मात्रै लक्षित गरेर पशुपति दर्शन वा पूजा प्याकेज दिने हो भने पनि उल्लेख्य उपलब्धि हासिल हुने सुझाव व्यवसायीको छ।
‘हालसम्मको तयारीअनुसार १२ लाखबाट १८ लाख पर्यटक पुर्‍याउन सकियो भने सफलता मान्नुपर्ने हुन्छ’, नेपाल भ्रमण वर्ष २०११ का राष्ट्रिय कार्यक्रम संयोजक योगेन्द्र शाक्यले भने। शाक्यका अनुसार छोटो तयारीमा एकैपटक धेरै पर्यटक ल्याउनुपर्ने भएकाले चुनौती धेरै छ।

विदेशमा नेपाल भ्रमणबारे प्रवद्र्धन गर्दा ‘लाइफटाइम एक्सपिरियन्स नेपाल’ भन्ने नारा नै बुझाउन सजिलो नभएको शाक्य बताउँछन्। उनले भने, ‘विदेशी पर्यटक नेपाल किन आउने र के हो लाइफटाइम एक्सपिरियन्स नेपाल भन्ने बुझाउन सक्नुपर्छ।’त्रिभुवन विमानस्थलबाट सन् २०१८ मा ७२ लाखले आवागमन गरेको तथ्यांक छ। तीमध्ये पर्यटक नौ लाख ६९ हजार थिए।
२०१८ मा स्थलमार्गबाट आएका दुई लाख बढाएर पाँच लाख पुर्‍याउने हो भने पनि भ्रमण वर्षमा १५ लाख पर्यटक हवाई मार्गबाटै ल्याउनुपर्ने हुन्छ। तर, यसका लागि विमानस्थलको क्षमता कमजोर छ। रात्रि उडानमा वायु सेवा कम्पनी आकर्षित छैनन्। उडान व्यवस्थित गर्न नसक्दा घण्टौं होल्ड गर्नुपर्ने अवस्था छ।

भैरहवाको गौतमबुद्ध विमानस्थल २०२० को सुरुदेखि नै सञ्चालनमा आउने भनिए पनि उपयुक्त तयारी छैन। विदेशी वायुसेवालाई भैरहवाबाट उडान गर्ने आधार पनि तय हुन सकेको छैन।
नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय कार्यक्रम संयोजक सुरज वैद्यका अनुसार त्रिभुवन विमानस्थलको क्षमता १५ लाखभन्दा बढी नभएकाले स्थलमार्गबाट पाँच लाख ल्याएर लक्ष्य पूरा गर्नुपर्नेछ। पर्यटक कसरी बढाउने र कुन बाटो भएर ल्याउने भन्ने विषयमा योजना बनाइरहेको जानकारी वैद्यले दिए।

नेपाल पर्यटन बोर्डका सीईओ तथा भ्रमण वर्ष २०२० का सदस्यसचिव दीपकराज जोशीका अनुसार पूर्वाधार नै प्रमुख चुनौती हो। विमानस्थल सुधार गरेमा १० प्रतिशत पर्यटक बढी आउने अनुमान उनको छ। २४ सै घण्टा विमानस्थल खुला गर्ने र रात्रि उडानलाई प्राथमिकता दिने हो भने लक्ष्य प्राप्त गर्न कठिन छैन।

उनले अफ सिजनमा पर्यटनको गतिविधि बढाउने, लुम्बिनी विमानस्थल सञ्चालनमा ल्याउने, ८÷१० वटा नयाँ वायुसेवालाई भित्र्याउने र बजारीकरण बढाउनुपर्ने बताए। केही व्यवसायीले तयारी कम भएकाले २०२० लाई तयारी वर्षका रूपमा मनाउन र यसलाई सन् २०२२ सम्म लैजान प्रस्ताव गरेको जोशीले बताए। सबैको सुझावलाई सकारात्मक लिँदै पर्यटक लोभ्याउने गरी योजना बनाइरहेको जानकारी उनले दिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.