मनको आवेग चिरफार

मनको आवेग चिरफार

उपन्यासले किशोरावस्थाका केटीहरूको अवचेतन मनको आवेगलाई राम्रोसँग केलाउन सकेको छ।


हाम्रो शास्त्रले उमेरलाई चार भागमा विभाजन गरेको छ। तर चल्तीका आख्यानकार अमर न्यौपानेले आफ्नो पछिल्लो उपन्यास गुलाबी उमेरमा उमेरलाई पाँच भागमा विभाजन गरेका छन्। उनले १२ वर्षसम्म पल्लवी, १३ देखि १९ वर्षसम्म गुलाबी, २० देखि ४० वर्षसम्म मखमली, ४१ देखि ६० वर्षसम्म बैजनी र त्यसभन्दा पछिको उमेरलाई अश्मानी उमेर भनेर नामकरण गरेका छन्।

जीवनको यात्रा शिखरको पनि हुन सक्छ; शूलीको पनि। यी दुवै गन्तव्यमा पुर्‍याउने साइतको शिलान्यास गर्ने उमेर यही गुलाबी उमेर हो भन्ने अमरको मान्यता छ। टिनएज मानिने १३ देखि १९ का सात वर्षमा किशोरीमा देखा पर्ने चाहना, रहर, आवेग र शारीरिक परिवर्तनले आउने हलचल नै उपन्यासको मुख्य कथानक हो।

जादूगरझैं न्यौपानेले यस कृतिमा पनि आफ्नो भाषिक क्षमतालाई सुरुबाट नै सुरुचिपूर्ण र कथालाई क्रमैसँग बाँध्न सकेका छन्। सरसर्ती पढ्दा पुस्तकले तानिरहन्छ र पाठकलाई पठनको मेलो पसेपछि अन्तिम नपुगेसम्म निस्कन दिने अवस्था छैन। उनले यस पुस्तकमा गुलाबी उमेरका प्रभावलाई सूक्ष्म र मिहिन तवरबाट प्रस्तुत गरेका छन्। समयक्रममा पात्रको जीवनमा देखा पर्ने बालमानसिकता र किशोरावस्थाको अवचेतन मनको सुन्दर उत्खनन गर्न उपन्यासकारले कुनै कसर बाँकी राखेका छैनन्।

समयक्रममा हाम्रो सोचाइमा परिवर्तन आएको छ। हिजोआज हामीलाई छोराछोरीबीचको भिन्नता देखाउन मन लाग्दैन। उपन्यासकी मुख्य पात्र ऋतु अर्थात् वेदांशीका बाबुआमा पढेलेखेका अभिभावकका प्रतिनिधि पात्र हुन्। उनीहरूको आँखाले पनि छोराछोरीलाई बराबर देखेको छ। तर ऋतु जन्मिएको आठ महिनामा उसको दाजुको मृत्युले गर्दा ऋतुले आफ्नोपन बाँच्न पाएकी छैन। १३ वर्षको उमेरसम्म बुबाआमाले उसलाई छोरा (केटा)जस्तै बनाइदिनुले के थाहा हुन्छ भने हाम्रो समाजमा जति पढेका मानिसहरू भए पनि छोरा र छोरीलाई समान नदेख्ने आँखाहरू अझ छन् भन्ने कुरा प्रमाणित हुन्छ। समाजले देखावटी परिवर्तन गरेको भए पनि भित्री रूपमा आफूलाई परिवर्तन स्वीकार गरेका छैनन्। बुबाआमाको रहर होला ऋतुमा छोरा देख्नु र उनलाई छोराकै रूपमा हेर्नु। तर एकजना मानिसले आफ्नो प्रकृतिले दिएको अस्तित्वलाई आफ्नै खुसीमा राख्न नपाउने हो र ? ऋतुले आफ्नो अस्तित्वकै कारण लेस्वियनको आरोपसमेत खेप्नु परेको छ। यसमा दोषी को ? बाबुआमा नै होइनन् र ? त्यसैमाथि छोरीले आफूलाई बाबु सम्बोधन नगर्न बिन्ती गर्दा पनि बुबाआमाले त्यसलाई स्वीकार गर्न सकेका छैनन् र कृतिको अन्तिमसम्म पनि छोरीलाई बाबुबाट नै सम्बोधन गरिएको छ। लेखकले यस्ता उतारचढावलाई सुन्दर तरिकाले देखाएका छन्।

फ्रायडले मनको तीन तहमा सबैभन्दा बढी चल्ने तह अवचेतन मन हो भनेका छन् र उपन्यासमा पनि धेरैमात्रामा अवचेतन मन प्रयोग गरिएको छ। मान्छे खुसी हुँदा होस् वा दुःखी हुँदा चेतन मनको उपस्थिति एकदम कम हुन्छ। ऋतुलाई उसकी आमाले खुसी भएकै बेलामा भनेकी थिइन्। ऋतु तिमी रहरले जन्मिएकी हैनौ, बाध्यताले जन्मिएकी हौ। पछि त्यही कुरा उनीहरूको झगडामा पटकपटक आएको छ। बालबालिकालाई उनीहरूले सिक्ने बेलामा कस्तो कुरा सिकाउनुपर्छ र उनीहरूको मनोभावनासँग कुरा गर्दा सकेसम्म चेतन मनले कुरा गर्नुपर्छ भन्ने पक्षलाई उपन्यासकारले राम्रोसँग उठाएका छन्।

ऋतुलाई पहिला आमा र बुबाले जन्मदिनमा दिने उपहार सबैभन्दा प्रिय लाग्थ्यो। उमेरले हिँडाउँदै गर्दा र मनमा पलाएको गुलाबी भावनालाई मार्न नसक्दा उनीहरूको जीवनमा विभिन्न दुर्घटना देखिने कुरालाई राम्रोसँग उठाउन सक्नु लेखकको क्षमता हो। ऋतु जति घमण्डी छे, त्यति नै कोमल पनि। त्यसैले त पटकपटक उसले आफूलाई धोकाको ढोकासम्म उभ्याउनु परेको छ। कोही खुसी हुन्छ भन्ने अचेतन मनले धेरैको प्रेम प्रस्तावलाई एस भनिदिँदा उसलाई त्यही केटाहरूले लगाएको लाञ्छना सही सक्नुको छैन। उसले जानेर कसैलाई एस भनेकी थिइन। एउटा शब्द आफूले बोलिदिँदा उनीहरूले संसारमा पाउने सबै खुसी पाउँछन् भने के बिग्रिन्छ र भन्ने भावनाले मात्र बोलेकी थिई। त्यस्तै उसलाई जुन दिन वेश्याको आरोप लाग्छ, त्यस दिनबाट पलाएको अस्तित्वलाई पनि उसले नियन्त्रण गर्न नसकेपछि फेरि दुर्घटना निम्तिएको छ। आवेगलाई नियन्त्रण गर, जीवन आफै सुध्रिनेछ भन्ने पक्ष ऋतुको जीवनमा घटेका हरेक घटना साक्षी हुन्।

ऋतु आफू प्रेममा छे, उसले नजानिँदो रूपमा आफैंलाई नाटक सिकाउने शिक्षकलाई मनले प्रेम गरेकी छे। उसको प्रेमी समर्पणलाई गर्ने प्रेम र नाटक गुरु हिमेश सरलाई गर्ने प्रेमको स्वरूप फरक होला तर पनि उसले नजानिँदो रूपमा दुवैलाई प्रेम गरेकी छ। ऊ कपटी होइन निर्दोष छे, यसैले उसले दुवै जनालाई आफ्नो जीवनबाट टाढा बनाउन खोजेकी छैन।

समर्पण र हिमेश सरले एकअर्कालाई राम्रो मानेका छैनन् तर पनि उसले दुवैलाई एकअर्काले राम्रो भनेका छन् भनेकी छ। उपन्यासमा यस उमेरको अवचेतन मन निश्छल, निश्चल र फुरुंग परेको हुन्छ भन्ने पक्षलाई उद्घाटित गरिएको छ। लेखनमा कथन र प्रतिकथनको प्रयोग गरी समय र उनलाई आफ्नो गुलाबी उमेरको कथा लेख्न प्रेरित गर्ने शिक्षकलाई सूत्रधारका रूपमा प्रस्तुत गरिएको यस उपन्यासले किशोरीले आफ्नो गुलाबी उमेरमा गर्ने आवेगात्मक निर्णयलाई सुललित रूपमा उत्खनन गरेका छन्।

मानिसले आफूले बुझेको समाज र सम्प्रदाय अरूको समाज र सम्प्रदायसँग मिल्छ भन्ने छैन तथापि हामीमाथि प्रकृतिले गर्ने व्यवहार र प्राकृतिक रूपमा आउने परिवर्तन भने सम्भवतः नजिकै रहन्छ भन्ने लाग्छ। गुलाबी उमेरमा देखा पर्ने मनोविज्ञानलाई मिहिन रूपमा केलाइए पनि खड्किएको एउटै कुरा के हो भने लेखकले उपन्यासकी पात्र ऋतु अर्थात् वेदांशीको पहिलो रजश्वलाको समयलाई व्याख्या गरिएको घटना। लेखक न्यौपानेले कृतिमा ऋतु पहिलोपटक रजश्वला हुँदा घरमा नभनेको र केही थोपामात्र रगत देखिएको कुरा उल्लेख गरेका छन्। यो पक्षचाहिँ केही कमजोरी हो।

२०६३÷६४ सालतिर आइपुग्दा त्यसैमाथि चितवनको शिक्षित परिवारमा हुर्किएकी एउटी केटीले रजश्वलाको बारेमा आमालाई र साथीहरूलाई भन्न डराउनुचाहिँ अलि समयसापेक्ष सन्दर्भ होइन कि भन्ने लाग्छ। त्यस्तै ऋतुकी साथी सुकुनलाई रजश्वलाको बारेमा जानकारी नभएको देखाइएको छ। आफ्नो शरीरबाट रगत बग्दा मुटुबाट निस्किएको भनेर आफ्नो प्रेमीलाई चिठी लेखेकी छ। कक्षा ८ मा पढ्दै गरेकी र प्रेम गर्न थालिसकेकी केटीले रजश्वलाबारे थाहा पाउन नसक्ने भन्नेचाहिँ हुन्न। त्यसैले एउटै उपन्यासमा एउटा पात्रको पहिलो रजश्वलालाई सामान्य अवस्था र अर्को पात्रको रजश्वलालाई भयानक घटना बनाएर देखाउनु उपन्यासको कमजोरी पाटो हो।

जुन दिन आमाले छोरीलाई आफ्नो विगत बताएकी छन्, त्यही कुरा आमा र छोरीबीचको द्वन्द्वमा बारम्बार तगारो बनेर आएको छ र महिलाबीचको द्वन्द्वलाई प्रस्तुत गरिएको छ। घरमा केटा मान्छे भएमा मात्र छोराछोरीले टेर्ने, आमाको कुरा नमान्ने कुरालाई नजानिँदो रूपमा प्रस्तुत गरिएको छ। जहाँ छोरीले घर हुँदाहुँदै घर छाडेर डेरामा बस्न थाल्नु, आमाले धेरैपटक बोलाउँदा घर नआउनु र बुवाले भन्दा साँच्चै घर जानुपर्ने र बुवा भएको भए आफूले घर छाड्नु नपर्ने कुरा छोरीको मनमा खेल्नु जस्ता घटनाले नारीले नारीको अस्तित्व स्वीकार गर्न सक्दो रहेनछ भन्ने कुरालाई देखाइएको छ।

नारी पात्रकै पक्षमा लेखिएको यस उपन्यासमा नारीबीचको द्वन्द्वलाई बलियो रूपमा उठाइएको छ। घरमा पुरुष पात्र नहुँदा आमा र छोरी दुवैको आआफ्नो प्रेमी हुनुले नारी अझ पनि घर सम्हाल्न कमजोर छन् भन्ने सन्दर्भलाई इंगित गरेको भान हुन्छ। यो पक्ष पक्कै पनि अबको समाजमा उपयुक्त छैन। त्यसैमाथि नारीवादको दृष्टिकोणबाट हेर्ने हो भने त यस कुरामा विरोधाभास आउन सक्छ। आजको समाजलाई लेखकले त्यसरी व्याख्या गर्न हुने थिएन। यस पक्षमा पनि लेखकले अलिकति ध्यान दिनुपर्ने थियो कि भन्ने हो। त्यतिमात्र होइन, किशोरावस्थाका धेरै सवाल र मनोविज्ञानलाई उठाइए पनि समाधानका पक्षहरू भने त्यति गहन रूपमा देखाइएको पाइँदैन। जे होस्, उपन्यासले किशोरावस्थाका केटीहरूको अवचेतन मनको आवेगलाई राम्रोसँग केलाउन सकेको छ।


पुस्तक : गुलाबी उमेर

लेखक : अमर न्यौपाने

मोल : रु. ४९८

पृष्ठ : ३७९

प्रकाशक : फाइनप्रिन्ट बुक्स


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.