बीपीमाथि मनलाग्दी

बीपीमाथि मनलाग्दी

प्रज्ञा र चेतनालाई थन्क्याएर अनुवादलाई केवल भाषान्तरको खेल मात्रै सम्झने गैरजिम्मेवार मानिसको हातमा पुग्यो भने बीपीको लेखनसमेत पाठक भड्काउने स्तरमा पुग्दो रहेछ।


हालैको दिन बीपी कोइरालाको निजी डायरी प्रकाशित भएको छ। आफ्नो भावोत्तेजक भूमिकामार्फत स्वनामधन्य गणेशराज शर्माले बीपीको २००७ पछि लेखिएको डायरी गायब बनाइएको क्षुब्धता प्रकट गरेका कारण (विश्वेश्वरप्रसाद कोइरालाको आत्मवृत्तान्त र जेल जर्नलमा) बीपीको डायरी बीपीको लेखनको लत लागेकाहरूको उच्च जिज्ञासामा थियो। त्यसो त बीपी प्रजातान्त्रिक आन्दोलन, नेपाली समाज र राजनीतिका एकजना दुर्लभ साक्षी पनि भएका कारण राणाशासन ढलेर भर्खरै नेपाली समाजले स्वतन्त्रताको उज्यालोतिर पाइला चालेका दिनमा त्यस समयका एकजना केन्द्रीय पात्रको डायरी समयको चलखेललाई चियाउने आँखीझ्याल हुने लालसा पनि हुने नै भयो। पदमबहादुर थापाले नेहरु स्मारक संग्रहालय तथा पुस्तकालयको प्राविधिक प्रक्रिया पूरा गरेर ल्याएको प्रतिलिपि अनुवाद भएर बीपी कोइरालाको डायरी (२००८–२०१३)का रूपमा बजारमा आएपछि कोइरालाको डायरी अब सर्वसाधारण पाठकको पहुँचमा आएको छ। थापासहित यो पुनीत कार्यमा सामेल व्यक्तिहरू धन्यवादका पात्र बनेका छन्।

०००

बीपीलाई पछिल्लो समय केही मानिस बहस र विमर्शभन्दा माथिको मानिस बनाउने दुःखमा छन्। तिनलाई बीपी जनसाधारणभन्दा परका महामानव लाग्छन्। भलै बीपीले सिंगो जिन्दगी जनसाधारणहरूको बीचमा जनसाधारण शैली, योग्यता र कर्महरूका साथ व्यतीत गरे। ‘सर्वसाधारणको भ्रम र अज्ञानताको आधारमा प्राप्त हुने महानताभन्दा मानिसको वास्तविक योग्यता र औकातको जानकारीमा हुने समुचित मूल्यांकनमा प्राप्त मान्यता नै स्थायी र सम्मानजनक हुनसक्छ (फेरि सुन्दरीजलको भूमिकामा) गणेशराज शर्माको शब्दलाई हुबहु साभार गर्ने हो भने बीपीको निजी डायरी त्यसैगरी बीपीको योग्यता र कमजोरी देखाउने ऐना हो। मानिसहरूमा वितरित अनेकन् भ्रम, जोडजाड पारिएका कथ्यहरूको बलमा अग्ल्याइएका बीपीभन्दा आफ्नै बुतामा उभिएका कमजोरीसहितका बीपीको छवि चिरस्थायी रहनेछ।

तिनै बीपीले २००८ सालको सत्ताको छिनाझम्टीदेखि २०१३ सालसम्मको आफ्नो राजनीतिक, व्यक्तिगत सक्रियताका दिनहरूमा लेखेको डायरी बीपीको योग्यता र कमजोरी, धैर्य र आक्रोश, गुण र अवगुणहरूको ऐनाका रूपमा खुलस्त तवरले उपस्थित छ। कहीँ बीपीमा आत्मश्लाघाको उच्च नमुना देखिन्छ कहीँ जिम्मेवारीको उत्कर्ष। कहीँ उनी द्वेषको घोडामा बेतोड बत्तिएका भेटिइन्छन् भने कहीँ करुणाको नदीमा बाँकाटे हानिरहेका। कहीँ उनी भारतप्रति आशामुखी देखिन्छन् कहीँ आक्रोशित। राजाप्रतिको उनको बुझाइको रेखाचित्र उसैगरी अस्थिर देखिन्छ। उनी खास निष्कर्षसाथ आफ्नै मित्रहरूको मण्डली पनि बनाउन नसकिरहेको अवस्थामा भेटिन्छन्। उनको निष्कर्ष कतिपय अवस्थामा गलत परिणामका साथ विघटित हुन्छ। उनी लेख्छन्— तुलसी गिरी, विश्ववन्धु थापा पूरा बफादारीसाथ उनमा समर्पित छन्। तर, बीपीको बुझाइविपरीत ती मानिसहरू बफादारीसाथ होइन, स्वार्थको सिँढी उक्लन मात्रै बीपीसँग निकटताको अभिनयमा थिए भन्ने पुष्टि हुन समयले उति लामो चक्कर मार्नै परेन।

डायरीमा उनी आफ्नो राजनीतिको व्यावहारिक अनुवादमा देश कस्तो बनाउने, त्यसका लागि कस्ता मानिसहरू छनोट गर्ने, तिनलाई कस्तो तालिम दिने र विकास कसरी गर्ने भन्ने योजनाहरूसहित प्रकट भइरहेको भेटिइन्छन्। ‘पहाडको बाटो हिँडिरहँदा मेरो मनमा एउटा विचार आयो। ऊर्जावान् युवक र युवतीको एउटा समूह बनाउने, तयसमा सामेल प्राविधिक, इन्जिनियर, ओभरसियर, कृषि वैज्ञानिक, चिकित्सक आदि सबैलाई एउटै भूगोलमा पुनर्बास गराई एउटा नमुना गाउँको विकास गर्ने। यस्ता व्यक्तिहरूले उचित प्रभाव सञ्चारित गर्छन्। त्यस्तो रचनात्मक कार्य हामीले मन्त्री भएर गरेका ठूल्ठूला गफभन्दा धेरै उत्कृष्ट हुनेछ (पृ ३६)।’ आजको दिनमा जस्तै त्यसबखत पनि सत्ताले उन्मत्त बनाएका कार्यकर्ता थिए र तिनलाई बीपीले नजिकबाट नियालेका थिए भन्ने पनि डायरी पढ्दा अनुभूत हुन्छ, ‘सत्ताले कांग्रेस कार्यकर्तालाई क्रमशः मदोन्मत्त बनाइरहेको देखिन्थ्यो (पृ ४१)।’

कहीँ उनी जीवनमा प्रेम, स्नेह, मित्रताको स्थानसमेत राजनीतिले अधिग्रहण गरिदिएको यथार्थमा आफू पुगिरहेको त होइन भनेर आफैंलाई सोधिरहेका हुन्छन्, ‘कहिलेकाहीँ मलाई लाग्थ्यो, राजनीति बढी भइरहेको छ। मभित्रका कोमल पक्ष प्रेम र मित्रता आदि पनि दमित भइरहेका थिए। जबजब यी पक्षहरू मेरो सम्झनामा सपनामाजस्तै आउन थाल्थे, मलाई एक्लोपनको अनुभव हुन्थ्यो (पृ ४५)।’ ‘जब म मेरो व्यक्तिगत खुसी र सन्तोषको कुरा सोच्छु, मलाई मेरो नैतिक अस्तित्वमा केही अभावको बोध हुन्छ (पृ ७८)।’

‘करिब एक वर्षदेखि सुशीलाले स्वतन्त्र जीवन बाँचिरहेकी थिइन्। प्रकाशले त मलाई सम्झँदैन पनि (पृ ४६)’ले एकातिर बीपी व्यक्तिगत पारिवारिक जीवनमा एकखाले उतारचढाव भोगिरहेका थिए भन्ने संकेत गर्छ भने अर्कोतिर त्यस बखतको समयमा समेत आफ्नी पत्नीले व्यतीत गरिरहेको स्वतन्त्र खालको जिन्दगीलाई पनि सहजै स्वीकार गरिरहेको अवस्थामा प्रकट हुन्छन्। बीपीले आफ्नो जीवनको सर्वाधिक स्वतन्त्रता उपभोग गरेको दिनमा लेखेको डायरीमा उल्लिखित कतिपय प्रसंग आजको दिनमा पनि नेपाली समाजले गर्ने बहसकै विषयका रूपमा उपस्थित छ, ‘सेनाको बफादारी विश्वासयोग्य थिएन।’ ‘हामी देशका जिम्मेवार व्यक्तिहरू निकै निरीह थियौं।’ ‘कमजोरहरूको सरकार बाहिरबाट नियन्त्रित हुन्छ।’ ‘भारत नेपाललाई कुल्चेर सिक्किमको हालतमा पु¥याउन चाहन्थ्यो।’ ‘अकर्मण्यता हिंसाभन्दा पनि खराब हुन्छ।’

कहीँ बीपीमा चरम आत्मकेन्द्रित प्रवृत्तिले फणा उठाएको पढ्न सकिन्छ, ‘मलाई लाग्यो अब मैले मात्रै देशको रक्षा गर्न सक्छु।’ ‘मलाई लाग्यो मैले नै देशलाई बचाउन सक्छु।’ ‘कहिलेकाहीँ लाग्थ्यो, म एक्लै यस स्थितिलाई नियन्त्रण गर्न सक्छु।’ कहीँ उनी राजाप्रति गम्भीर आरोपमा उत्रिएका भेटिन्छन्, ‘फगत तीन करोड रुपियाँका लागि राजा देशलाई नै दाउमा हालिरहेका छन् (पृ १५५)।’ महेन्द्रमाथि यो स्तरको कटाक्ष गर्नुको आधार बीपीले खुलाइदिएको भए त्यसले महेन्द्रको राष्ट्रवादको पाइजामामा कति ठाउँमा भ्वाङ परेको थियो, खुल्ने थियो। त्यसो नहुँदा यो फगत बीपीको महेन्द्रप्रतिको तीक्त आक्षेपमा विघटित छ।

०००

यति मात्रै लेखेर बीपीको डायरीमाथिको टिप्पणीमा पूर्णविराम दिन पनि सकिन्थ्यो। तर, यसको अनुवाद, सम्पादनका क्रममा भएको लापरबाही र मनलाग्दीले यो टिप्पणीमा थप शब्दहरूको माग गर्छ। किन पनि भने, कहीँ त यसको अनुवादले गम्भीर आपत्तिजनक स्वरूप धारण गरेको छ। ‘नेपाल कम्युनिस्ट पार्टी पुनः नेपाली कांग्रेसले गरिरहेका एकताको कोसिस बिथोल्न लागिप¥यो। पार्टीले दाजु मातृकाको सहयोग लिएर मलाई सरकारबाट हटायो। अब ऊ फेरि भद्रकालीलाई (मेरो हकमा जस्तै) ठूल्दाजुका विरुद्ध उक्साउन कोसिस गरिरहेको थियो। आफ्नो दूतका रूपमा नेपाल कम्युनिस्ट पार्टीलाई प्रयोग गर्ने भारतको चाल बुझ्न सजिलो थिएन। यो मात्र बुझिन्थ्यो कि ऊ हाम्रो राजनीतिलाई गलाएर भारतमा विलय गराउन चाहन्थ्यो (पृ ५५)’ मा केही टिप्पणी गर्नैपर्ने भएको छ। त्यस बखतको समयमा नेपाल कम्युनिस्ट पार्टी सरकार ढाल्न सक्ने या भारतको दूतका रूपमा नेपाली राजनीति कायापलट गर्ने हैसियतमै थिएन। बीपीकै आत्मवृत्तान्तमा उनी लेख्छन्– ‘विरोधी त त्यसबेला त्यस्तो के संगठित थिए र, दुई–चार जना कम्युनिस्टहरू थिए (पृ १६७)।’

आत्मवृत्तान्तमा कहीँ पनि बीपीले नेपाल कम्युनिस्ट पार्टीले भारतीय दूतका रूपमा काम गरेर आफूलाई सरकारबाट हटाउन र कांग्रेसमा विवाद जन्माउन कोसिस गरेको उल्लेख गरेका छैनन्। बरु, नेपाल कम्युनिस्ट पार्टीको छोटो रूपसँग मेल खाने सीपीएन नामका पात्र जो नेपालका लागि तत्कालीन भारतीय राजदूत थिए, ती बीपीविरोधी भारतीय खेलको सक्रिय पात्रका रूपमा क्रियाशील रहेको र कांग्रेसमा एकपछि अर्को पात्र उचालेर बीपीलाई अप्ठ्यारोमा पार्ने काममा सक्रिय रहेको उल्लेख भएको पाइन्छ। ती सीपीएन अर्थात् चन्द्रेश्वर प्रसाद नारायण सिंह (सिन्हा)। पूरा विश्वासका साथ भन्न सकिन्छ— बीपीले डायरीमा सीपीएन लेखेका थिए र अनुवादकले त्यसलाई नेपाल कम्युनिस्ट पार्टी बनाएका छन्। यो तथ्यसँग अपरिचित रहेका पाठकहरूले बीपीको डायरी पढ्दा नेपाल कम्युनिस्ट पार्टीलाई शैशवकालदेखि नै भारतीय दूतका रूपमा क्रियाशील शक्तिका रूपमा लिनेछन्। यो गम्भीर आपत्तिजनक योजनाबद्धता अनुवादक, प्रकाशकले आफ्नो राजनीतिक तुष्टि पूरा गर्न बीपीको काँधमा बन्दुक राखेर नेपाली कम्युनिस्ट आन्दोलनमाथि गरेको आक्षेपको फायर हो। अन्यथा अनुवादकलाई बीपीले यस प्रसंगमा नेपाल कम्युनिस्ट पार्टी शब्द प्रयोग गरेको देखाउन सार्वजनिक चुनौती दिन सकिन्छ।

०००

डायरीको अनुवाद पढ्दा अनुवादकमा रहेको वाक्य निर्माणको योग्यतासमेत स्खलित हुने स्तरमा प्रकट हुन्छ— व्यापारीहरू ठूल्दाई समर्थन गरिरहेका थिए (पृ ३४), मैले गृहयुद्धको बेला प्रहरी संगठन पनि विघटित गर्ने आदेश दिएँ (पृ ३५), उनी तत्कालै कुनै पनि कदम चाल्न सक्नुहुन्नथ्यो (पृ ५१), एहाँ निकै नरम देखिएँ (पृ ७०), म आएको यहाँका केही ठूला व्यापारी रुष्ट थिए (पृ ९३), एनको भ्रष्टाचारका पनि केही यहाँ फैलिएका रहेछन् (पृ १६६)। मितिहरूमा मनलाग्दी उत्तिकै छ– ९ साउन २०१० को मिति पछि एकैपटक आउँछ १२ श्रावाण ( श्रावण पनि होइन) २०१३। १३ गते चाहिँ श्रावाण होइन श्रावण नै छ (त्यो श्रावण २०१३ श्रावण १० मा पुगेर श्रावगण बन्छ।) त्यो मिति पछ्याउँदै जाँदा ५ भाद्रमा पुगेर भने त्यो डायरीको पाना १२ श्रावण २०१० पछि एकैचोटि २०१३ पुगेको होइन रहेछ, अनुवादकको खेलाँचीले २०१३ भएको रहेछ भन्ने बुझ्न सकिन्छ। किनकि, ५ भाद्रपछि निरन्तर २०१० कै मितिहरू क्रमबद्ध तवरले आउँछ। तर यो सिलसिला यत्तिकैमा रोकिँदैन। २० पुष २०११ बाट २१ पुष २०१० हुन्छ। तर २२ पुष भने २०११ कै मिति क्रमबद्ध छ।

शब्दहरूमा खेलाँची र अशुद्धि उत्तिकै छ, समास र विभक्तिका नियमहरूको उसैगरी धज्जी उडाइएको छ— प्रधानमन्त्रि, काग्रेस, सरकर, महत्वाकाञ्क्षी, अए, समना, परामार्श, अन्वरत, सर्त, थाह, वानपन्थी, चाहछन्, खेजिरहनु, खोजिरअनु, अखाडा, प्रतिक्रिया वादीहरूको, हुेने, अपवाहप्रति, खूब, जनइच्छाभन्दा, उपन्याषचाँही, पसलपछाडि, भेट्दैहुनुहुन्छ, गराईनसकेकोले, कांग्रेसकाकार्यकर्तामा, पर्दपछाडिबाट। यी त केही प्रतिनिधिमूलक उदाहरण मात्रै हुन्। पानैपिच्छे र कतिपय ठाउँमा त हरफैपिच्छे यस्तो मनोमानीले पाठकको पठन धैर्यकै परीक्षा लिन्छ।

प्रज्ञा र चेतनालाई थन्क्याएर अनुवादलाई केवल प्राविधिक स्तरको भाषान्तरको खेल मात्रै सम्झने गैरजिम्मेवार मानिसको हातमा पुग्यो भने बीपीको लेखनको अनुवादसमेत कति दिग्दारलाग्दो बनेर पाठक भड्काउने स्तरमा पुग्दो रहेछ भन्ने दृष्टान्त बनेको छ, यो डयरीको अनुवाद। योभन्दा बढ्ता बीपीमाथिको हेलचेक्य्राइँ र मजाक अरू के हुनसक्छ ?


@gaunkomanchhey


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.