निमुखाको शवमाथि ठूलाबडाको साँठगाँठ

निमुखाको शवमाथि ठूलाबडाको साँठगाँठ

नाटक राजनीतिज्ञ, प्रहरी र सम्पादकले नहेरी नहुने छ।


अनामनगरस्थित मण्डला नाटकघरको मञ्च। मञ्चमा चुक घोप्ट्याएजस्तो अँध्यारो छ। सुई खसे आवाज आउँछ। तर, यो निस्तब्धता मञ्चमा बिस्तारै छिरेको उज्यालोले चिर्छ। मञ्च सनै सनै उज्यालिँदै जान्छ। उज्यालिएको मञ्चमा सबैभन्दा पहिला देखिन्छन्, लमतन्न सुतेका राजन खतिवडा। उनको अनुहारमा चुनजस्तै केही पोतिएको छ। उज्यालाको अर्को झड्काले चिनाउँछ रमेश बुढाथोकी र सुषमा निरौलालाई। यसपछि मञ्चमा पालैसँग देखिन्छन्— विजय बराल, सोमनाथ खनाल, शेखर चापागाईं, मिलन कार्की, प्रमिला खनाल, राज न्यौपाने आदि आदि। र हैरान हुने कुरा के छ भने यी सबै राजन खतिवडाको लासमाथि खान्की लिएर बसेका छन्। केही बेरमै गिलास एकअर्कामा ठोक्किन्छन्, केही क्षणअघिको मुर्दाशान्ति रमेश बुढाथोकीको ‘महाभोज’को आवाजसँगै उत्सवमा परिणत हुन्छ। राजन खतिवडा लुसुक्क उठेर नबुझिने गीत गाउँदै दर्शकको बीचबाट अलप हुन्छन्।

स्पोइरलर अलर्ट।

‘महाभोज’को अन्तिम दृश्य हो यो। यो दृश्यमा राजनीतिज्ञ, प्रहरी, पत्रकार सबैजना लासमाथि बसेर भोजन गरिरहेको देखिन्छ। नाटकको शीर्षक यही दृश्यबाट लिइएको हो। त्यसैले यो स्पोइलर हो। तर, स्पोइलर नलाग्न पनि सक्छ। किनकि नेपालका हरेक सत्ता यसरी नै कहिले सहिदका लासमाथि त कहिले विकास र समृद्धि र समानताको वकालत गर्ने निमुखा मानिसको लासमाथि बसेर डकार मारिरहेका छन्। खाने बेलामा राजनीति, प्रहरी र पत्रकारिताको साँठगाँठ लोभलाग्दो छ। त्यसैले यो दृश्यले अहिलेको सत्तालाई सम्झाउँछ जुन १३ हजार सहिदको लासमाथि बनेको छ। विगतको सत्तालाई सम्झाउँछ जहाँ हजारौं जनताले न्याय र विकासका बलिदानी दिए तर जो सत्तामा आए, उनीहरूका लागि हरेकको बलिदान उत्सवको मेन्यु बन्यो। देश, काल, परिस्थिति सर्लक्क देखाउने नाटक ‘महाभोज’यति बेला मण्डलामा मञ्चन भइरहेको छ।

नाटकको कथा विशु (राजन खतिवडा)नामको दलित व्यक्तिको मृत्युको वरिपरि घुम्छ जो गाउँको पढेलेखेको युवा हो। ऊ किसान र मजदुरको शोषणदेखि पिरिएको छ र उनीहरूलाई निरन्तर आफ्नो शोषणविरुद्ध लड्न जागरुक बनाइरहेको छ। तर, एक दिन लड्दा लड्दै षड्यन्त्रको सिकारमा परेर मारिन्छ। तर, विशुको हत्या राजनीतिक पार्टीलाई आफ्नो दुनो सोझ्याउने अवसर बन्छ। उपचुनावको मुखमा भएको विशुको मृत्युलाई चुनावी मैदानमा रहेका राजनीतिक पार्टीे भोटमा बदल्न भरपूर प्रयास गर्छन्। तर, विशुको साथी विनोद (मिलन कार्की) सत्ताको यो चाहनामा तगारो बन्छ। विनोद विशुले उजागर गर्न नसकेका प्रमाण बोकेर हत्यारालाई नंग्याउन चाहान्छ तर राजनीतिका खेलाडी मुख्यमन्त्री रमेशविक्रम (रमेश बुढाथोकी)ले विनोदलाई नै विशुको हत्याराको रूपमा पेस गरेर फसाउँछन्। अन्यायसँग लड्दालड्दै विनोदले पनि देहत्याग गर्छ।

लोकतन्त्रमा जनताको स्थान कहाँ हो ? राजनीतिका खेलाडीले यो प्रश्नलाई यसरी उल्झाएका छन् कि यो प्रणाली जनतालाई फसाउने जालका रूपमा सीमित भएको छ। र, यो जालको हर कडी कुटिल राजनीतिज्ञको औंलाको इशारामा खुम्चिएको छ। उनीहरूको इशारामा राजनीतिका खोटा सिक्का समाजमा राज गरिरहेका छन् भने खरा सिक्का कुनातिर मिल्किएका छन्। ‘महाभोज’ले एकातिर राजनीति र अर्कोतिर यसमा जनताको नियतिलाई दारुण रूपमा पेस गरेको छ।

नाटक ‘महाभोज’ भारतीय लेखिका मन्नु भण्डारी लिखित सोही नाममा प्रकाशित नाटकको भावानुवाद हो। पहिले उपन्यासका रूपमा आएको कृति पछि नाटकमा रूपान्तरित भएको थियो र यसलाई भारतमा दुवै माध्यममा रुचाइएको कृतिमध्ये एक मानिन्छ। यही नाटकलाई कवि तथा गीतकार विप्लव प्रतीकले अनुवाद गरेका हुन्। सन् १९७७ मा बिहारको पटनामा भएको नरसंहार यो नाटकको पृष्ठभूमि हो। पटनाको बेलछीमा दर्जनभन्दा बढी दलितको निर्ममतापूर्वक हत्या गरिएको थियो। तर, यो घटनालाई उसबेला प्रतिपक्षमा रहेको इन्दिरा गान्धी नेतृत्वको कांग्रेस र सत्तामा रहेको जनता पार्टीले एक अर्काविरुद्धको षड्यन्त्रको रूपमा प्रयोग गर्ने भरपूर प्रयास गरेका थिए। उसबेला इन्दिरा गान्धी पीडितलाई भेट्न हात्ती चढेर गएको घटनाका रूपमा पनि यसले चर्चा पाएको थियो।

जानकारका अनुसार यो हत्याकाण्ड राजनीतिक आडप्राप्त दुई आपराधिक समूहको दुश्मनीको परिणाम थियो तर दुवै राजनीतिक पार्टीले यो घटनालाई स्वार्थपूर्तिका लागि दलित नरसंहारका रूपमा प्रचार गरे। तर, यथार्थ जे भए पनि यसले कानुन र न्याय व्यवस्थाको पतन, सत्ता र व्यवस्थाको अपराधीकरण र लोकतन्त्रको चौथो खम्बाको नैतिक पतनको अवस्था बयान गथ्र्यो। अनि यो अवस्था न भारतमा फेरिएको छ न नेपालमा। जे कुरामा पनि चरम राजनीतिकरण दुवै देशको नियति हो। तर, दुःखको कुरा के हो भने नाटकमा वर्णित स्थिति परिस्थिति सुध्रनुको साटो सुन्ने, देख्ने र बुझ्ने तमाम सीमा पार गरेर झन् क्रूरतम् रूप धारण गरेर झन् धेरै खतरनाक र अराजक हुँदै गइरहेको छ। मानवता र लोकतन्त्र विशुको लासमा परिणत हुन अभिशप्त छन्।

इटालियन नाट्यकर्मी दारियो फो भन्छन्, ‘रंगमंच, साहित्य, कलात्मक अभिव्यक्ति जो आफ्नो समयका बारेमा बोल्दैनन् त्यसको कुनै प्रासंगिकता हुँदैन।’ ‘महाभोज’को सबैभन्दा ठूलो सफलता यही हो कि यसले वर्तमान समयको तस्बिर हुबहु उतारेको छ।

नाटकमा बहसका लागि पर्याप्त ‘इस्यु’ छन् तर केन्द्रमा छन् थ्री पी अर्थात् पुलिस, प्रेस र पोलिटिक्स। कसैको जीवन कसैका लागि राजनीति गर्ने मैदान कसरी बन्छ, यो बुझ्न निर्मला पन्तको हत्या तथा बलात्कारको घटना पर्याप्त छ। निर्मलाको परिवार आज पनि न्यायका लागि तड्पिरहेको छ तर यही घटना कुनै समय सत्तारूढ दलको सातो लिने घटना बनेको थियो। प्रहरीको निम्छरो अनुसन्धान र प्रेसको लहैलहैले सयौं निर्दोष पीडित बनेका थिए। निर्मलाको न्यायका लागि लड्दालड्दै सनी खुनाले शहादत प्राप्त गरे। तर, अझै निर्मलाले न्याय पाएकी छैनन्। ‘महाभोज’मा देखाइएका घटनाक्रम निर्मलाको घटनाक्रमभन्दा कतै भिन्न छैनन्।

नाटकको सबैभन्दा सबल पक्ष यथार्थको चित्रण हो। नाटकमा राजनीतिको चरित्र चित्रण दुरुस्त छ। रमेशविक्रम बनेका रमेश बुढाथोकीले नेपाली नेताको चरित्रलाई गज्जबसँग आत्मसात् गरेका छन्। ‘मुखमा राम राम र बगलीमा छुरा’ हाम्रा नेताको चरित्र हो। सार्वजनिक ठाउँमा लोकतन्त्र र सुशासनको डिङ हाँक्ने तर पर्दापछाडि निरंकुशताको अभ्यास गर्ने नेताको चरित्रसँग हामी सबै परिचित छौं। रमेशविक्रम पनि केही बेरका लागि लोकतान्त्रिक र आदर्शवादी देखिन्छन्। झोंकी सिजापति (विजय बराल)लाई राजनीति ठन्डा दिमागले गरिने कामको रूपमा मात्र व्याख्या गर्दैनन्, प्रतिपक्षको जुलुस भाँड्न जान लागेको सिजापतिलाई आदर्श राजनीतिको पाठ पनि पढाउँछन्। यस्तै धारणा उनको प्रेसमाथि पनि छ। भन्छन्, ‘प्रेस भनेको हाम्रो ऐना हो। त्यही ऐना हेर्ने आँट हामीमा हुनुपर्छ।’ तर, अन्त्यतिर आइपुग्दा प्रेस न प्रहरी कसैलाई आफ्नो काम गर्न दिँदैनन्।

नाटकमा यस्तै चोटिलो चित्रण प्रहरीको पनि छ। नेताझैं प्रहरीको पनि जवाफदेहिता जनतासँग हुनुपर्ने हो। तर, प्रहरीको सम्पूर्ण कार्यकुशलता नेताको बफादार बन्नमा पोखिने गरेको छ। संगठनमा रीता चाम्लिङ (सिर्जना सुब्बा)जस्ता इमानदार प्रहरी पनि छन् तर उनीहरूको इमानदारिता राजनीतिलाई बिझाउँछ। सत्यको उत्खनन गरेको पुरस्कार, सेवाबाट ‘सस्पेन्ड’ हुन्छन्। नाटकमा यस्तै घत लाग्ने चित्रण प्रेसको पनि छ। प्रेसले कसरी संवेदनाको व्यापार गरिरहेको छ र राजनीतिको स्वार्थपूर्तिका लागि धर्मच्यूत भइरहेको छ, नाटकमा सजीव चित्रण छ। भवानी गिरी (सोमनाथ खनाल), दिनेश पन्त (शेखर चापागाईं)को भूमिकामार्फत नाटकले प्रेस र राजनीतिको नेक्ससले पार्ने असरलाई छर्लंग पारिदिएको छ। तर, नाटकले सबै मानिस बेइमान छैनन् है बताउन प्रहरीमा रीता चाम्लिङ भएझैं यहाँ पनि सत्यको खोजीमा लागिरहने गौरी (प्रमिला खनाल)को चरित्र स्थापित छ। तर, दुवै ठाउँमा इमानदार हारेका छन् र यो पनि आजको सबैभन्दा ठूलो यथार्थ हो।

नाटक जति समयको यथार्थ चित्रणमा अब्बल छ, कलात्मक प्रयोगका लागि पनि उत्तिकै स्मरणीय छ। विमल सुवेदीले परिकल्पना गरेको मञ्चले गाउँदेखि सहरको झल्को दिन्छ। उमेश तामाङको लाइटिङ परिकल्पना पनि जोडदार छ। तर, राजनीतिक दाउपेचको कथालाई पनि कलात्मक बनाएको छ उत्सव बुढाथोकीको संगीतले। नाटकको भाव व्यक्त गर्ने विप्लव प्रतीकका गीतमा उत्सवको संगीत सुनिरहँ लाग्ने छ। मुख्य मुख्य समयमा संगीतको प्रयोगले नाटकको भावलाई संचारित गर्न मात्र होइन २ घन्टा लामो नाटक निरस हुनबाट जोगाउन पनि यसको भूमिका छ। निर्देशक अनुप बरालले बरालले नाटकलाई एपिक थिएटरको शैलीमा प्रस्तुत गरेको बताएका छन्। नाटकमा यो शैलीको उद्देश्य मनोरञ्जन दिनु नभई दर्शकमा विचार पैदा गराउनु हुन्छ। यसले नाटक हेरुन्जेल होइन हेरेपछि यसमा दर्शकले चिन्तन गरून् भन्ने अपेक्षा हुन्छ। त्यसैले बरालले सोहीअनुसारका विम्ब प्रयोग गरेका छन्।

नेताको तस्बिर अंकित मुकुण्डो लगाउने कार्यकर्ता शक्तिशाली विम्ब हुन्। यसले कार्यकर्ताको चाकडीको हद मात्र देखाउँदैन, कार्यकर्ताको विचार र अनुहार दुवै नभएको सत्य बयान गर्छन्। यस्तै अन्य प्रयोग कोरसको माध्यमबाट पनि गरेका छन्। सूत्रधारको प्रयोग पनि आफैंमा रोचक लाग्छ। सीमान्तकृतको समस्या अनुप बरालको चासोको विषय रहँदै आएको छ। यसअघि उनले निर्देशन गरेको ‘कोर्ट मार्सल’मा पनि उनले दलित सिपाहीको पीडा उजागर गरेका थिए। यो नाटकको केन्द्रमा पनि दलित नै छन् तर कोर्ट मार्सल जहाँ जातप्रथाले पारेको प्रभावमाथि केन्द्रित थियो भने यो नाटक जातसँगै राजनीति र यसले सिर्जना गरेका अन्य संरचनाको दुर्दान्तसम्म पुगेको छ।

नाटकमा २८ जना कलाकारको अभिनय छ र कसैको अभिनयमा पनि खोट लगाउने ठाउँ छैन। एक दृश्यमा देखिनेदेखि लामो समयसम्म देखिने सबै कलाकारले प्रभावशाली अभिनय गरेका छन्। रंगमञ्चका तीन पुस्ताको उपस्थिति रहेको नाटकमा दयाहाङ राई, बुद्धि तामाङ, विकास जोशी, प्रदीप कुमार चौधरी, उमेश तामाङ, आर्जेस रेग्मी, सन्दीप श्रेष्ठ, रञ्जना ओली, राज न्यौपाने, सपना चौधरी, सीके विष्ट, देविन चौधरी, घनश्याम जोशी, कविराज राई, सबिन घलान, सागर दाहाल, विप्लव प्रतीक आदि कलाकारको अभिनय छ।

ब्रेख्तले भनेका छन्, ‘अँध्यारो समयमा अँध्यारोको गीत पनि सुमधुर सुनिन्छ।’ ‘महाभोज’ यस्तो समयमा आएको छ जहाँ राज्यका संरचनासँग अपेक्षा धेरै छन् तर ती संरचना निरन्तर आममानिसको नजरमा विश्वास गुमाउँदै गइरहेका छन्। त्यसैले यो पनि यो नाटक सुमधुर छ। नाटक सर्वसाधारणले हेर्दा हुने तर राजनीतिज्ञ, प्रहरी र सम्पादकले नहेरी नहुने छ।


@samipya13


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.