बहसमा सत्यमोहन र महेशराज
इतिहासकार महेशराज पन्तले केही महिनाअघिको एक लेखमा सत्यमोहन जोशीले पुरातत्त्व र संस्कृति विभागको डाइरेक्टर हुँदा ‘मूर्ति उखेल्नेबाहेक केही काम नगरेको’ लेखे।
सयवर्षे जोशिला जोशी पन्तको त्यो लेख पढेर, असन्तुष्ट भए, तर मनमनै। उनले लिखित र मौखिक रूपमा कुनै प्रतिवाद गरेनन्। फुर्सदसितको हालैको भेटमा भने उनले मूर्ति संरक्षणका लागि आफूले गरेको ‘असल काममाथि चार्ज’ लगाएको असन्तुष्टि पोखे।
जोशीले राजा मानदेवले बनाएको मन्दिरको मूर्ति रातारात क्रेनको सहयोगमा उठाएर यसलाई ६ महिनासम्म गुपचुप राखेथे। नेवारहरूले कुलदेवता भनेर पूजापाठ गर्दै गरेको मूर्ति रातारात हराएपछि ठूलै खैलाबैला भयो। ‘मैले उखेलेको भन्ने थाहा मात्र पाएका भए मलाई जे पनि गर्न सक्थे। धन्न मेरो नाम कसैले पोलेन’, जोशी त्यो गोप्य योजनाबारे भन्छन्, ‘मैले त्यो मूर्ति संरक्षणका लागि ठूलो जोखिम मोलेँ।’
‘चोरी बढेको थियो। विवरण लिएको सात दिनमै मूर्ति हराउने समस्या थियो। त्यस्तो बेलामा मैले त्यो मूर्ति संरक्षणको जोखिम मोलेँ’, जोशी भन्छन्, ‘यही कुरालाई लिएर एकजना मान्छेले मलाई चार्ज लगायो। त्यो मान्छे चिन्नुहुन्छ ? महेशराज पन्त हो।’
कसरी बनेको थियो मूर्ति
पाँचौँ शताब्दीमा राजा मानदेवले बुवा धर्मदेवको निधनपछि आमा राज्यवतीको मन शान्त पार्न राजधानीको धोबीचौर (लाजिम्पाट)मा मन्दिर बनाएका थिए। त्यहाँ विष्णु विक्रान्त (त्रिविक्रम वामन)को ठूलो मूर्ति थियो। मूर्तिको पादपीठ (सबैभन्दा तल) छन्दोबद्ध कविताको एक श्लोक थियो। त्यहाँ चन्द्रमाको तिथिबाट चल्ने क्यालेन्डरको साल बहाने शाक्के सम्वत् ३८९ वैशाख शुक्ल दिवा २ लेखिएको थियो।
जोशीका अनुसार यो तिथिमितिसहितको छन्दोबद्ध कविता सबैभन्दा पुरानो र ऐतिहासिक हो। मन्दिर लडिसकेकाले त्यहाँ गोठालाहरूले मूर्तिमा हतियारले हानेका डाम थिए। नेवारी समुदाय भने कुल देवता मानेर मूर्तिमा पूजापाठ गर्थे। मूर्ति कलात्मक थियो। २०१५ सालको आमचुनावपछि राजनीतिक चहलपहल बढेको थियो। त्यसले नेपालमा मूर्ति चोरी बढ्दो थियो। त्यो मूर्तिलाई चोरी हुनबाट कसरी जोगाउने भन्ने चिन्ता जोशीमा थियो। मन्दिर भत्किसकेको भए पनि प्रस्तर (ढुंगा)को मूर्ति भएकाले केही भएको थिएन।
‘डाइरेक्टर भएकाले मलाई त्यो मूर्ति कसरी संरक्षण गर्ने भन्ने चिन्ता थियो’, जोशी भन्छन्, ‘ठूलो योजना र तयारीपछि मध्यरातमा क्रेनको सहायताले आफ्नै उपस्थितिमा मूर्ति उखेलेर घण्टाघरस्थित वीर पुस्तकालयमा ६ महिनासम्म गुपचुप राखेँ। वीर पुस्तकालय पनि पुरातत्त्व विभागअन्तर्गतकै भएकाले त्यहाँ गुपचुप राखेको थिएँ। मेरा कर्मचारी कसैले यो कुरा बाहिर खोलेनन्। त्यसैले म बचेँ। मूर्ति हराएको खैलाबैला कम हुँदै गयो। उखेलेको ६ महिनापछि छाउनीस्थित संग्रहालयमा लगेर राखियो। त्यो मूर्ति अहिले पनि त्यहीँ छ।’
मूर्ति संरक्षण गरेर ठूलो लडाइँ जितेको ठानेका जोशी इतिहासविद् पन्तको टिप्पणीप्रति असन्तुष्टि राख्छन्। ‘म आफैं गएर मूर्ति अपहरण गरेँ। मैले आफ्नो निम्ति मूर्ति ल्याएको होइन। मैले घरमा ल्याएको होइन। ऐतिहासिक मूर्तिका निम्ति त्यो मेरो दूरदर्शिता थियो। म ‘डाइरेक्टर’ भएको कार्यालय सिंहदरबारमा थियो। मध्यरातमा त्यहाँ लाने कुरा भएन। मेरै विभागअन्तर्गतको वीर पुस्तकालयमा लगेर लुकाएँ’, जोशी थप्छन्, ‘पाँच÷छ महिनामा हलचल ‘कुल डाउन’ हुँदै गयो। अनि लगेर छाउनी संग्रहालयमा राखेर संरक्षण गरेको हो। के मैले अपराध गरँे ? ’
जोशी मूर्ति नउखेलिएको भए त्यसलाई खोज्न अहिले अमेरिका वा बेलायत पुग्नुपर्ने अवस्था आउने बताउँछन्। ‘सत्यमोहन जोशीले त्यत्ति नगरेको भए त्यो मूर्ति कि अमेरिका पुग्थ्यो, कि बेलायत, कि जर्मनी पुग्थ्यो, कि इटाली पुग्थ्यो’, जोशी भन्छन्, ‘मैले सम्झिएँ, यो त मूर्तिहरूको पनि ढुकढुकी हो। संस्कृत छन्द काव्यको पनि ढुकढुकी हो। यस्तो मूर्ति चोरी भए खतरा हुन्छ। यसलाई चोरी हुनबाट जोगाउन मैले अपहरण गरेँ। मेरा लागि होइन राष्ट्रका निम्ति गरेँ।’
जोशी यो मूर्ति संरक्षण गर्नु आफ्नो करामत भएको दाबी गर्छन्। उनी पुरातत्त्व विभागको ‘डाइरेक्टर’ हुँदाको एउटा महत्त्वपूर्ण काम नै यही मूर्ति अपहरणलाई मान्छन्। ‘राष्ट्रको इतिहास, राष्ट्रको सभ्यता, राष्ट्रको संस्कृति र मूर्तिकलाको इतिहाससँगै संस्कृतको पनि अहिलेसम्म पाइएको एउटा सबैभन्दा पुरानो तिथिमितिसहितको काव्य कृति भएको मूर्ति भएकाले मैले अपहरण गरेँ’, जोशी भन्छन्, ‘मूर्ति पनि यत्ति राम्रो कि यसको बयानै छैन। त्यस्तो मूर्तिलाई संरक्षण गर्नु नि सत्यमोहन जोशीले सबैभन्दा ठूलो करामत गरेको हो। उसले पुरातत्त्व विभागमा गएर सबैभन्दा ठूलो काम गरेको यही हो।’
मूर्तिको काव्य के हो ?
नेपाली भाषा साहित्यको जननी संस्कृत भएकाले यो मूर्तिको पादपीठमा लेखिएको काव्यको महत्त्व अझ बढी रहेको जोशीको भनाइ छ। ‘छन्दको लिखित सबैभन्दा पुरानो १६०० वर्षअघिको इतिहास विष्णु विक्रान्तको मूर्तिसँगै कुँदेर लेखिएको छ’, जोशी भन्छन्, ‘त्यो एउटा श्लोक स्रग्धरा छन्दमा रचिएको छ। नेपाली साहित्यको जननी संस्कृत हो। यसलाई स्वीकार गर्नुपर्छ। भानुभक्तलाई मात्र सम्झेर हुन्छ ? ’
लिच्छवि लिपिमा संस्कृत भाषाको कविता
‘मातु : श्री राज्यवत्या : हितकृतमनसः सव्र्वदा पुण्यवृद्ध्यै
राजा श्री मानदेव : शुभविमलमति : पात्र दानाम्बुवर्षी
लक्ष्मीवत्कारयित्वा भवनमिह शुभं स्थापयामास सम्यकविष्णुविक्रान्तमूर्ति सुरमुनिमहितं सर्वलोकैकनाथम्’। सम्वत् ३८९ वैशाख शुक्ल दिवा २ (वि.सं.५२५)
भावार्थ : असल सफा बुद्धि भएका, सत्पात्रमा पानीसरह दान बर्साउने राजा श्री मानदेवले हित गर्ने मन भएकी (आफ्नी) मुमा राज्यवतीको सधैं पुण्यको बढिबढाउ होस् भन्ने हेतुले राम्रो असल मन्दिर बनाउन लागाई देवता र ऋषिहरूले पुजिएका, सारा संसारका एउटै मालिक त्रिविक्रम (वामन) मूर्ति विष्णुलाई राम्ररी यहाँ स्थापना गर्नुभयो।
जोशीको पुस्तक ‘नेपाली कलाको रूपरेखा’ (प्राचीन र मध्यकालीन)मा उल्लेख भएअनुसार यस्ता मूर्ति काठमाडौं उपत्यकामा तीनवटा देखिएका छन्। पशुपति त्रिगंगाको खेतमा र अर्को चाँगुनारायणमा छ (२०७३ : पृ. ६६)। लाजिम्पाट र त्रिगंगाका मूर्तिको पादपीठको लिपिसमेत समान भएको जोशीको दाबी छ।
मेरा तीन आरोप
- महेशराज पन्त
सत्यमोहन जोशीसँग मात्र होइन, मलाई कसैसँग पनि लड्नु–भिड्नु छैन। अनुसन्धान भनेको नै सत्यको उद्घाटन हो। सत्यले मानिसलाई छुँदो रहेछ भन्ने कुराको अनुभूति गएको साउन १९ गते भयो। हनुमानढोका संग्रहालयको स्मारिकाको लोकार्पण त्यस दिन सत्यमोहन जोशीबाट हुने कार्यक्रम थियो। यस वर्षको स्मारिकाको प्रधान सम्पादकमा मेरो नाउँ देख्नेबित्तिकै उहाँको पारो तातेछ र मलाई मात्र होइन, संशोधन–मण्डलीय परम्परालाई तथानाम गालीको वर्षा गरी आधा घण्टाको भाषण उनले त्यतिमै टुंग्याएछन्। मैले उनलाई दिइएको ‘वाङ्मय शताब्दी पुरुष’ भन्ने उपाधिमा जोडिएको ‘वाङ्मय’ शब्दबाट त्यस शब्दको अर्थापकर्ष अर्थात् अर्थ घट्न गएको छ भनी त्यो लोकार्पण समारोह हुनुभन्दा झन्डै दुई महिनाअगाडि लेख छपाएको थिएँ। त्यस लेखमा मैले उनलाई तीनवटा आरोप लगाएको थिएँ।
सत्यमोहन जोशी पुरातत्त्व विभागको डाइरेक्टर हुँदा उनले गरेका तीनवटा नकामको चर्चा मैले गरेको थिएँ। तिनलाई शब्दान्तरमा भन्दा दृश्य यस्तो बन्छ—
१. पाटनदरबारको भण्डारखाललाई पुरातत्त्व बगैंचा भन्ने नाउँ राखी विभिन्न ठाउँका मूर्ति र शिलालेख ती ती ठाउँबाट उठाई कहाँकहाँबाट ती उठाइएका हुन् भन्ने स्रेस्तासम्म पनि खडा नगरी त्यस बगैंचामा लगेर थुपार्ने काम उनले गरे। यसले गर्दा, पहिले ती मूर्ति र शिलालेख कहाँ थिए भन्ने कुरा अन्वेषकहरूलाई थाहा नहुँदा अन्वेषण अपूरो हुने भयो। राजा मानदेवले वि.सं. ५२५ मा लाजिम्पाटमा स्थापना गरेको विष्णु विक्रान्तको पूजाआजा चलिरहेको मूर्ति आधा रातमा त्यहाँबाट उखेली पहिले घण्टाघर वीर पुस्तकालयमा, पछि छाउनी म्युजियममा लगेर राख्ने काम उनको पालामा भयो।
२.जति ‘जब क्रिएसन’ हुन्छ, त्यति विकास हुन्छ भन्ने सिद्धान्तको अनुसरणमा होला, एउटै म्युजियममा अटाउने कुरा थरीथरीका म्युजियम खडा गरी ऐतिहासिक सामग्री छर्ने काम पनि सत्यमोहन जोशीको पालामा भयो। उदाहरणको लागि, वीर पुस्तकालयमा पहिल्यैदेखि रहेका, केही लेखोट पुस्तकका चित्रमय गाता भक्तपुरमा खोलिएको राष्ट्रिय चित्र संग्रहालयमा र पुस्तकचाहिँ वीर पुस्तकालयमै राखियो।
३.पुरातत्त्व विभागले प्राचीन परम्पराअनुसार अंशुवर्माभन्दा अगाडिको लिपिलाई ‘गुप्त लिपि’ र अंशुवर्माको पालादेखिको लिपिलाई ‘कुटिला लिपि’ भन्दै आइरहेकोमा भारत र नेपालमा धेरै कुरा फरक छ भनी देखाउने इच्छा राजा महेन्द्रको भएपछि राजाको इच्छाअनुकूलको काम गरेर उनलाई रिझाउन २०१७ देखि सत्यमोहन जोशीले ‘पूर्वलिच्छवि लिपि’ र ‘उत्तरलिच्छवि लिपि’ भन्ने चलन चलाए। शास्त्रीय ढंगले भन्ने हो भने, ‘पूर्वलिच्छवि लिपि’ र ‘उत्तरलिच्छवि लिपि’ भन्ने नाउँको कुनै तुक छैन।
यी आरोपको प्रतिवाद उनी गर्छन् भने म अझ लम्बेचौडासँग लेख्न सक्छु। उनले शताब्दीपुरुषको उपाधि पाए भनेर मैले रिस गरेको होइन। मेरो जिकिर ‘वाङ्मय पुरुष’ हुने कोटिका विद्वान् सत्यमोहन जोशी होइनन् भन्ने मात्र हो।
एकचोटि एउटा कम्पाउन्डरले श्री ३ जुद्धलाई सन्चो नहुँदा निकै सेवा गरेछ। त्यस कम्पाउन्डरको सेवाशु श्रूषाले खुसी भई जुद्धशमशेरले उसलाई ‘तँ आजदेखि डाक्टर भइस्’ भनेछन्। त्यस बेला श्री ३ जुद्धका जेठा छोरा बहादुरशमशेर हजुरिया जर्नेल रहेछन्। उनले ‘डाक्टर त हामीले बनाउने होइन, विश्वविद्यालयले बनाउने हो’, भन्दै प्रतिवाद गरेछन्। ‘हामीले दिएकै पैसाले शिक्षण संस्था चल्ने हो, मैले जे भनेँ भनेँ, त्यो ठीक छ’, जुद्धशमशेरले भनेछन्। सत्यमोहन जोशीलाई दिइएको ‘वाङ्मय पुरुष’को उपाधिमा प्रश्न उठाउन त्यस्तै कठोर शासन नदोहोरिएसम्म बुद्धिजीवीहरू स्वतन्त्र छन् जस्तो मलाई लाग्छ।
लेखक–कवि क्रान्तदर्शी हुनुपर्ने हो। तर हामीकहाँ दुर्भाग्यवश एकाध अपवाद छोडेर सबै मसीजीवी जसको हातमा शासनको बागडोर छ, त्यसैको भाट बन्न पुगेका छन्। सत्यमोहन जोशी पनि त्यही भाटगिरीका एउटा कडी मात्र हुन्। उनको विद्वत्ताको विषयमा दुई वर्षभन्दा अगाडि मैले लेखिसकेकाले त्यही यहाँ दोहोर्याइरहनु आवश्यक छैन।