‘हजुरआमाका कथा’को कथा

‘हजुरआमाका कथा’को कथा

‘मलाई बाबुआमाले घर गरेर खान नसके अरुणमा हाम्फालेर मर्नू तर माइती नआउनू ! भनेका थिए।’ ती हजुरआमा भोजपुरकी थिइन्।


‘ससुराले जग्गेबाट बोकेर बुहारीलाई घर ल्याए।’

‘सासूको गोडा नमिचेको कारणले सौता हालिदिए।’

‘सुत्केरी सासूलाई नस्याहारेका कारण ससुराले अर्की बुहारी ल्याउने धम्की दिए।’

‘आठ वर्षको उमेरमा छोराको विवाह गर्न नमानेका कारण ससुरा र बुहारीको मृत्युपर्यन्त बोलचाल भएन।’

उल्लिखित कुरा हामीले बाल्यकालमा पढेका बोधविक्रम अधिकारीद्वारा संकलित ‘दन्त्यकथा’जस्ता सुनिन्छन् क्यारे !

तर, यी कुनै ‘दन्त्यकथा’ होइनन्, ‘आमाव्यथा’ हुन्।

‘महत्त्व’ नदिइएका पात्रहरू आफैं ‘इतिहास’ मात्र होइनन्। उनीहरूले भोगेको समाज, रीतिथिति, उनीहरूमाथि गरिएको व्यवहार, उनीहरूले भोगेका कथाव्यथासमेत नेपाली समाजको इतिहास् हुन्। समय र समाजमा पुरुषसत्ताले जमाएको हैकमवाद र उनीहरूले गर्ने उपेक्षाबाट ‘हराएका इतिहास’समेत पनि आफूभित्र साँचेर राखेकै कारणले, त्यस्ता इतिहास ‘नहराउन दिइन’ पनि भूमिका खेलेका छन्।

त्यही ‘मौखिक इतिहास’लाई सानै रूपमा भए पनि संकलन गर्ने प्रयास हो, ‘हजुरआमाका कथाहरूको संकलन’।

ती जीवन्त इतिहासका पात्रहरूले धेरै दुःख भोगेका छन्, धेरै परिवर्तन देखेका छन् र बाँच्नमात्रैका लागि पनि धेरै संघर्ष गरेका छन्।

अझ केही अनुभव, उनीहरूका कथामा नाम दिएर लेख्न सकिएन। कारण, जीवनको यो क्षणमा आइपुग्दासम्म पनि उनीहरू परनिर्भर नै छन् र तलमाथि भनेको खण्डमा परिवारबाट विस्थापित भइएला भन्ने डरमा बाँच्न विवश छन्।

कति कथाहरू नामविहीन गराएर राख्नु परेको छ। कति कथाहरू उनीहरूले नै ‘भैगो, यो नलेखिदिनू !’ भन्ने अनुरोधको कारणले लेख्न सकिएन। आफ्ना परिवारको ‘इज्जत जाला भन्ने डर’, वृद्धावस्थामा ‘छोराछोरीले नहेर्लान्’ भन्ने पीर।

एउटी हजुरआमा, बालविववाह गरेर ‘कर्मघर’ पुगेपछि, कहिल्यै पेटभर खान नपाउने रहिछन्, अड्कलेर भण्डार कोठाबाट निकालिने चामलले उनको खाने पालो आउँदासम्म, कसौंडीको पिँध देखाउँदो रहेछ। एक दिन, भण्डार कोठाको साँचो उनको हातमा परेछ। पेटभरि भात खान पाउने आशामा अलि धेरै चामल झिकेर पकाइछन्। चामल त भयो तर पकाउने भाँडो त बढ्दैनथ्यो। चामल बढेर कसौंडीको मुखबाट हुसुसुस्स भएर निस्किएछ। डरले हतारहतार कसौंडीको मुखबाट बाहिर निस्किएको अधकल्चो भात, कचौराले उभाउँदै, बलेसीतिर फाल्न थालिछन्। तर त्यसो गर्दा पनि सुख पाइनन्। छिमेकी घरबाट पानी खस्ने बलेसीमा भात खसेपछि मानिसलाई चासो लाग्नु पनि स्वाभाविक नै हो। छिमेकीले घरकालाई बोलाइन्। ती बालिका बधूको मनस्थिति कस्तो भयो होला ? तर त्यो कथा अहिले, ती हजुरआमा बिर्सन चाहन्छिन्।

अर्की हजुरआमाको कथा अझै मार्मिक छ। उनीहरू बाहिर जिल्लाको मानिस, एउटा सम्पन्न परिवार, आफ्नै हातमा ताल्चा, साँचो बोकेर बसेका। तर परिस्थितिले काठमाडौंमा छोराको घरमा बास गरायो। ती वृद्ध दम्पतीको प्रेमविवाह भएको रहेछ। श्रीमतीलाई एकदमै माया गर्ने। कहिल्यै घरका कामसमेत नलगाउने। तर एक दिन, पारिवार विघटन भयो। वृद्ध बाबुको स्वाभिमानमा केही कुराले चोट लाग्यो। आफूले प्रेमविवाह गरेर ल्याएको प्रिय पत्नीसमेतलाई छाडेर, छोराको घर छाडे।

परिवारले धेरै खोजे, कतै पत्ता लागेन। २०५९ सालमा घर छाडेका उनको अझै पत्तो छैन। ती हजुरआमाले अब त आफ्ना पति फर्कन्छन् भन्ने आशा पनि मारिसकिन् तर उनी त्यो कथा खुलेर भन्न चाहन्नन्। कारण, उनी आफ्ना छोरा–बुहारीको चित्त दुख्छ भनेर संवेदनशील हुन्छिन्। यस्ता हुन्छन् हजुरआमाका कथाहरू, जीवनको अन्त्यसम्म परिवारको चिन्ता, भलै आफूहरू पीडा र तनावमा बाँच्नु परोस् !

अर्की हजुरआमा भन्दै थिइन्, ‘मलाई बाबुआमाले घर गरेर खान नसके अरुणमा हाम्फालेर मर्नू तर माइती नआउनू ! भनेका थिए।’ ती हजुरआमा भोजपुरकी थिइन्।

कथाहरूको एक पात्र, अर्की हजुरआमाले, श्रीमान्को मृत्युपछि कुटाइ मात्रै खाएकी होइनन्, जिल्ला नै छाडेर भाग्नुपरेको थियो।

यी कथा पढ्दै जाँदा समाज कसरी र कुन गतिमा रूपान्तरण हुँदै गएको छ भन्ने पनि थाहा हुन्छ।

आजका दिनमा, हामी पढ्न पाइएन भने सरकार गुहार्न सक्छौं। धेरै छोराछोरी पाउन घरपरिवारले जोड दियो भने ‘आफ्नो शरीरमाथिको अधिकार’को कुरा उठाउन सक्छौं। छोराछोरी नपाएको निहुँमा घरपरिवारले श्रीमान्लाई अर्को विवाह गर्ने सल्लाह दियो भने सीधै प्रहरी चौकी पुग्न र पुर्‍याउन सक्छौं। सम्पत्तिमाथिको अधिकारको नारा घन्काउन सक्छौं। तर ती दिनहरू त्यस्ता थिएनन्।

‘हजुरआमाका कथा’मा समेटिएका आमाहरू सबै ८० वर्ष काटेका महिला हुन्। उनका कथाहरूले, त्यो समाजमा महिलाका अवस्था कस्तो थियो भनेर जान्न, इतिहासका ठेली पल्टाइरहन पर्दैन। ती आमाहरूलाई पढ्न दिइएन। पढ्न त के, कतिपय आमालाई घरबाट बाहिर निस्कन पनि बन्देज थियो। यसको उदाहरण, कथाकी पात्र देवमाया मानन्धरलाई लिन सकिन्छ, जो पाकोमा जन्मिइन् र चसान डोमा उनको विवाह भयो। तर उनले घरबाट माइती वा माइतीबाट घर जाने १५ मिनेटको पैदलको दूरी कहिल्यै पनि एक्लै तय गरिनन्।

भोटाहिटीमा जन्मिएकी नारायणदेवीलाई, डिल्लीबजारको स्कुल टाढा भयो र त्यति टाढा छोरीलाई पठायो भने समाजले कुरा काट्छ भनेर पढ्दापढ्दैको दिनचर्या हटाइयो।

त्यति बेला ती छोरीहरूले निर्धक्क भएर पढ्न पाउने र पढ्न दिइहाले भने प्रायः भानुभक्त आचार्यको ‘बधू शिक्षा’ नै हुन्थ्यो, ताकि उनीहरू कर्तव्यनिष्ठ पत्नी र बुहारी बनून्।

अझै केही आमा त भर्खरभर्खर सती प्रथा अन्त्य भएपछि जन्मिएका थिए र कानुन पालनामा कडाइ हुने थिएन भने, उनका कतिपय दौंतरीहरू जिउँदै आगोमा होमिइसकेका हुन्थे।

त्यसैगरी उनीहरूलाई हाँस्न, बोल्नसमेत बर्जित थियो।

त्यो थियो हाम्रा आमाहरूका कथा।

असी वर्षअघि, विश्व मानचित्रकै इतिहास केलाउने हो भने, हाम्रा हजुरआमा तथा आमाका कथाहरू मात्र होइन, विश्वका अधिकांश आमा तथा हजुरआमाका कथाहरू त्यस्तै थिए। मात्रा तथा विषय फरक होलान् तर उनीहरूको आवाज दबाइएको थियो, दबिएको थियो।

अढाई दशकभन्दा बढी समयदेखि नेपाली महिलाको स्थिति अवलोकन गर्दै र त्यही विषयमा कलम चलाइरहँदा लाग्थ्यो— महिलाको कुरालाई महत्त्व दिइँदैन, उनीहरूका कुरा सुनिँदैन। पुरुषले भनेका कुरा वा उनीहरूका संस्मरणलाई इतिहासकै रूपमा क्वोट गरिन्छ तर त्यस्तै कुरा महिलाका मुखबाट सुन्दा, त्यसलाई प्रमाणित गर्न अर्को स्रोत खोजिन्छ।

एक दिन जीवनको नौ दशक नाघिसकेकी हजुरआमाले आफ्नो विवाहमा जुद्धशमशेरको सामाजिक सुधार ऐनका कारण तडकभडक नगरिएको बताएपछि लाग्यो— यी हजुरआमाहरूसँग त इतिहास लेखिनलायक, कति कुराहरूको स्रोत हुँदो हो। त्यति बेला दिमागले एउटा निर्णय गर्‍यो, यसलाई डकुमेन्टेसन गरिनुपर्छ।

यो कसैसँग सल्लाह गरेर वा सोधेर गरिएको निर्णय थिएन। केही समयदेखि नियमित लेखिरहेको स्तम्भ लेखनबाट पनि टाढा बसेकी थिएँ। सोचेँ, केही नगरी बस्नुभन्दा यो सुरुआत गर्‍यो भने हामीपछिका पुस्तालाई हाम्रो हजुरआमाको कथा सुनाउन काम लाग्छ।

लेख्छु, निर्णय त गरेँ तर केमा लेख्ने ? आफूले लेखिरहेकी साप्ताहिक पत्रिकामा लेखेर काम नै थिएन। यसका लागि गर्नुपर्ने मेहनत र उद्देश्यअनुरूपको पाठक र सर्कुलेसन त्यहाँ हुने थिएन।

किनकि, जुन बेला लेख्ने सोच बनाएँ, त्यति बेला पुस्तक प्रकाशित गर्ने अवधारणा बनाएकै थिइनँ। तर जब जब एकपछि अर्का कथाहरू निस्कँदै गयो, तब तब पाठकको अत्यधिक रुचिको विषयमा यी कथाहरू परे।

देशभित्रका भेटघाटमा मात्रै होइन, विदेशबाट समेत चासो लिएर मेसेज र फोन आउन थाले। हरेकको कुरा एउटै हुन्थ्यो, ‘यसलाई किताबको रूपमा निकाल्नुस् !’

अर्को कुरा, कुन उमेरको सीमा राख्ने ? त्यो पनि आफैं सोचेँ, ८० नाघेका महिलाहरूका अनुभव समेट्न सकियो भने, उनीहरूका अनुभव पनि राम्रो हुन्छ र उनीहरूले विवादित हुने ‘उमेर सीमा’ पनि काटिसकेका हुनेछन्।

तर समस्या, ती उमेरका महिलाहरू कहाँ खोज्ने ? आफ्नो खर्च र समयसमेत दिएर देशव्यापी रूपमा खोज्न जान त सक्तिनथेँ। आफूले देखेका र चिनेका सम्भावित तीन र चार जनाभन्दा बढी ८० काटेका महिलासँग सम्पर्क पनि थिएन। तर, बिस्तारै सम्पर्क पनि बढ्यो–सम्पर्कको सूचना पनि पाइयो र आज किताब निस्कन सम्भव भयो।

पहिलो योजनाअन्तर्गत रेकर्ड गरिएका तीनजनाको कुराकानीका पात्रमध्ये एक पात्र चोककुमारी पोखरेलले कुराकानी रेकर्ड गरेको र लेख्न सुरु गरेको बीचको अवधिमा आफ्ना श्रीमान् गुमाइसक्नुभएको थियो। उहाँसँग नभेटी त्यो कथा लेख्न मन लागेन। भेट्न गएँ। उहाँले त पति गुमाउनुभन्दा एक महिनाअगाडि नै आफ्नो ‘स्मरण शक्ति’ पनि गुमाउनु भएछ। त्यो मेरो कथाको पहिलो दुःखद क्षण थियो। धन्न मैले १३ महिना अगाडिको रेकर्डिङ सुरक्षित राखेकी थिएँ। (हाल उहाँ बितिसक्नुभयो। यो लेख्नुपर्दा दुःखित छु।)

कथा संकलनका क्रममा भएको अर्को दुःखद घटनाले झनै नमज्जा बनायो। अर्की पात्र, रुद्रकुमारी भुर्तेललाई कुराकानी गरेको बाह्रौं दिनमा नै गुमाएँ। उहाँको किरिया सकेपछि मात्रै त्यो कथा छापियो।

साथै अर्की पात्र तारादेवी राईलाई पनि कथा छापिएको केही समयपछि नै गुमाएँ। रुद्रकुमारीको उमेर ९० भइसकेको भए पनि उहाँको स्वास्थ्य खराब देखिँदैनथ्यो तर तारादेवी राईलाई क्यान्सरले जीर्ण बनाइसकेको थियो। उहाँहरूप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दै इतिहासको एउटा कालखण्डलाई दस्तावेजीकरण गर्ने मौका दिनुभएकामा सधैं आभारी रहनेछु।

नेपाली महिला ‘पढे भने बोक्सी हुन्छे’, ‘पढायो भने पोइल जान्छे’ भन्ने संस्कारमा हुर्कनु पर्‍यो। यो पुस्तकका धेरै पात्रको पढाइको तिर्सना र भोक, उमेरको आठ दशक कटिसक्दा पनि आलो घाउ भएर छातीमा टाँस्सिएको पाइन्छ।

उनीहरूले पढ्न नपाएकै कारण संसार देख्न पाएनन्। संसार नदेखेकै कारण, महिला हुनुको अस्तित्व बुझ्न र खोज्न सकेनन्। त्यसैले, समाजका हरेक कुराका हर्ताकर्ता पुरुषलाई बच्चा जन्माउनेदेखि बिनाज्यालाको चौबीसघन्टे कामदारका रूपमा सेवा गर्दै गए।

यस पुस्तकमा समेटिएका कथाहरूले इतिहासमा हराएका तथ्यहरू पनि पाठकसामु उजागर गरिदिएको छ।

उदाहरणका लागि दरबार स्कुलको भवनमा महिलालाई पनि पढाइने गरेको रहेछ। त्यसको खोजी गर्दै जाँदा सरदार भीमबहादुर पाँडेद्वारा लिखित ‘त्यस बखतको नेपाल (राणाकालीन आखिरी तीन दशक : पहिलो भाग, राणा व्यवस्था चरमचोटिमा’ चौथो संस्करण संवत् २०६१ पल्टाएँ। उक्त पुस्तकको पेज नम्बर ११४ देखि १३२ सम्म कतै पनि महिलालाई दरबार स्कुलमा पढाइन्थ्यो भनेर लेखिएको छैन। जब कि त्यहाँ मुसलमानहरूलाई छुट्टै कोठामा राखेर पढाउनेलगायतका हरेक मसिना कुराहरूको बयान गरिएको छ। त्यसका बीच नारायणदेवीको कुरालाई पद्मकन्या स्कुलको स्थापनाको इतिहासले प्रमाणित गर्छ। यसले के पनि देखाउँछ भने महिलाका कुरा घर र समाजमा मात्रै होइन, इतिहासमै लेखिन पनि योग्य ठानिँदो रहेनछ।

त्यसैगरी अर्की हजुरआमा नानीछोरी श्रेष्ठको कथाले समाजको पुरुषसत्तात्मक इतिहासलाई बलियोसँग स्थापित गर्छ। नानीछोरीका बुढा ससुरा पशुपतिका पुजारीका नातेदार ‘भट्ट’ रहेछन्। उनी रणमुक्तेश्वर महादेवस्थानका पुजारी पनि रहेछन्। उनले, एक नेवार महिलासँग प्रेमविवाह गरेछन् तर ती महिलालाई नेवार भएकै कारण भातभान्सा तथा पूजामा हुलिएन। त्यही कारणले भातभान्सा, पूजा चलाउन दोस्रो विवाह बाहुन महिलासँगै गरेछन् र आफूले, प्रेमविवाह गरेकी महिलाको थर ‘ श्रेष्ठ’ नै अपनाएछन्। आजसम्म पनि उनको परिवारमा बाहुनतिरको सन्तान ‘भट्ट’ र आफूलगायत जेठी श्रीमतीतिरका परिवार ‘ श्रेष्ठ’ नै रहेछन्।

इतिहासले नखुलाउने अर्को पाटो, नेपालका एक समयका प्रख्यात मिठाई व्यापारी बीएल शर्मा, जसलाई मानिसहरू मारवाडीका रूपमा चिन्छन्, उनले दोस्रो श्रीमतीका रूपमा मुसलमान महिला विवाह गरेका रहेछन्। त्यो विवाह गर्न उनले बकायदा धर्म परिवर्तन गरेर ‘मुसलमान’ बनेका रहेछन्; जुन कुरा काठमाडौंका धेरै जनमानसलाई थाहा थिएन। त्यो घटना त्यस समयको थियो, जुन समयमा मारवाडी र मुसलमानको विवाह कल्पनासमेत गर्न सकिन्नथ्यो।

ती कथाहरूले अर्को सशक्त सन्देश के पनि दिएको छ भने पतिहरू सहयोगी र आफ्नो पक्षमा बोलिदिने वा आफ्नो समर्थनमा उभिइदिने भए भने पत्नीहरूको जीवन धेरै सहज हुने र समाज र घरपरिवारबाट पीडित पनि नहुनुपर्ने रहेछ। उदाहरणका लागि चोककुमारी र पुण्यवताले आफ्ना श्रीमान्हरूकै कारणले सौतेनी माम्लोको सामना गर्नु परेन। उहाँहरूको परिवारले बेलैमा छोराछोरी नहुँदा श्रीमान्हरूलाई अर्को विवाह गर्न दबाब दिएका रहेछन्। तर उहाँहरूका श्रीमान्हरूले मान्नु भएनछ। पछि त सन्तान भएछ।

त्यति बेला केही बुझक्की पतिले अर्को विवाह नगरेर, पारिवारिक पीडाबाट मात्रै पत्नीहरूलाई साथ दिनुभएको होइन, पढ्नका लागि पनि प्रोत्साहित गर्नुभएको उदाहरण रत्ना राईलाई लिन सकिन्छ। तर उहाँले त्यसका बीच घरमा श्रीमती हुँदाहुँदै बाहिर अर्कीसँग सम्बन्ध राखेर पारिवारिक विखण्डन ल्याउन भने छाड्नुभएन। त्यस्तै सम्बन्ध राखेर परिवारको बिचल्ली गराउनेमा बीएल शर्मा पनि हुनुहुन्थ्यो।


@AmritaLamsal को पुस्तक ‘हजुरआमाका कथा’ आज सार्वजनिक हुनेछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.