'१०१ हैन, १ वर्षे शिशु हुँ'
यति सुन्दर, भव्य संस्कृति, कला भएको, प्राकृतिक सौन्दर्य र सांस्कृतिक वैभव भएको देशमा मेरो जन्म भयो। यो सबैभन्दा ठूलो सन्तुष्टि हो। अनि अर्को जन्म हुन्छ भने नेपालमै जन्मिन पाऊँ।
२०१४ असार ९ मा गठन भएको नेपाली साहित्य–कला एकेडेमीमा प्राज्ञ पद पाउनेमध्ये माधव घिमिरे मात्र जिउँदा छन्। जुन राजाको सक्रियतामा एकेडेमी खुल्यो उनै राजा महेन्द्रसमेत ‘भाइ’ थिए, माधव घिमिरेका। अनेक शासन देखेभोगेका र सबैजसो शासनमा पद–पदक प्राप्त गरेका शताब्दी–पार घिमिरे जिउँदा इतिहास हुन्।
जिउँदा इतिहास अवश्यै हुन्। तर, आफूभन्दा तीन वर्ष मात्रै जेठा सरदार भीमबहादुर पाँडेले ‘त्यस बखतको नेपाल’ नाममा पाँपाँच भागमा ठेलीका ठेली इतिहास दिए। तर, घिमिरेले भने यसरी देखे–भोगेको शताब्दी–समयबारे एकमुष्ठ लेखेनन्।
उनी यस्तो लेख्न चाहँदैनथे वा लेख्छु भन्दाभन्दै समय फुस्कियो ? स्मरणशक्ति अझै तेज छ, घिमिरेको।
‘आफ्ना साथी सर्कल, देखेभोगेका शासक, आफ्नो समय–समाज–सोचबारे यहाँले केही लेखे÷लेखाए हुन्थ्यो नि ? ’
‘अरूका बारे किन बोल्नु र बाबु ? म आफ्नै कुरा गर्छु’ उनी आफ्नैबारे बोल्न थाले। उनको जन्मस्थान, जन्ममिति, बाल्यकाल, दुई वर्षमै मातृवियोगबारे पाँच मिनेट जति सुनेपछि मैले स्वास्थ्य–समयलाई ख्याल गर्दै कुरा काटें, ‘यो कुरा यहाँले नै धेरैपटक भनिसक्नुभएको छ, धेरैले लेखेका पनि छन्। मै केही सोधूँ कि ? ’
‘हुन्छ, तपाईंले मलाई सजिलो बनाइदिनुभयो’, आँखा पुछेर उनले भने।
आँखा किन पुछेथे त भन्दा, मैले रोक्नुअघि उनी लमजुङको भीरपुस्तुनको काखमा अवस्थित बाहुनडाँडा गाउँको सम्झनाले भावुक भएका थिए। भन्दै थिए, ‘अग्लाअग्ला डाँडा, पूर्वबाट घाम उदाउँदा घामको रेखा र छायाले उकाली–ओराली गर्ने, आठै प्रहर सुसाउने ती नदी–निर्झर...।’ भन्दाभन्दै कविज्यूका आँखामै नदी टिलपिल टिलपिल भएर कोसकोसबाट निर्झर झर्न थालेथ्यो।
घिमिरेको सयवर्षे जीवनको संक्षिप्त वैयक्तिक विवरण यहीं थाती राखौं होला। उनको जन्ममिति र स्थान, आमाबुवा र रुचि, शिक्षा र सम्बद्धता, पदक र पुरस्कार, प्रेरणा र पुस्तकको फेहरिस्त यहाँ लेख्नु भनेको फुर्सदका विज्ञ पाठकको सूचना–ज्ञानलाई कम आँक्नु हो। फेरि उही कुरा दोहोर्याई, तेहेर्याई छाप्नुको पनि के तुक र !
घिमिरे यस्ता भाग्यमानी लेखक हुन्, उनी शिशु कक्षामा ‘कुरा गर्छन् कसरी भँगेरा र भँगेरी...’ देखि विश्वविद्यालय कक्षामा ‘राजेश्वरी’, ‘अश्वत्थामा’का अवतारमा औपचारिक रूपमै पढिन्छन्। उनीबारे पीएचडी मात्र दुई दर्जनभन्दा बढी भइसकेको छ। तर धेरै पीएचडी शोधप्रबन्धमा घिमिरेको बायोडाटा र स्तुतिका शब्दजालभन्दा बढ्ता छैन। उनीबारे तिथिमिति मात्र जान्न ती ठेली पल्टाए पुग्छ।
वार्ताबाट नयाँ कुरा निकाल्नु पनि चुनौतीपूर्ण रहेछ। भदौ १२ गते उनको निवास, लैनचौरमा बिताइएको तीन घण्टा र गफिइएको डेढ घण्टाका हाइलाइट्स् यहाँ प्रस्तुत छ—
‘यत्तिका वर्ष हामीले सोधेका बासीतासी प्रश्नको जवाफ दिनुभयो। आज आफैंले आफैंलाई प्रश्न सोध्नुहोस् न, जुन प्रश्न अहिलेसम्म यहाँलाई कसैले सोधेन।’
कुरा सुरु गर्दा नै उनले ‘कान कम सुन्छु’ भनेका थिए। सुरुवातीमा म नखुलेकाले मेरो स्वर पनि खुलेन होला, वा प्रश्नै गोलमटोल छ। मैले यो प्रश्न दोहोर्याएँ।
‘मेरा दुई पूर्वज लेखनाथ र देवकोटालाई म धेरै मान्छु। उहाँहरूको शैली परिष्कारवादी र रोमान्टिक भनिएको छ। मलाई पनि यस्तै यस्तै परिचय गराउनुभएको छ, धेरै समालोचकले। तर, कुरा के भन्देखिन्, मेरो खास शैली–चिन्तन के हो त ? म गाउँमा हुर्केको, पूर्वीय दर्शन पढेको मान्छे। मेरा गीत–कविताहरू नितान्त गाउँले र सरल। सरल भईकन पनि मार्मिक किन भए त भन्दा मैले हाम्रो लोकजीवन–लोकसंस्कृतिबाट टिपेको। उदाहरणका रूपमा एउटा बालकविताकै कुरा गरौं, ‘कुरा गर्छन् कसरी, भँगेरा र भँगेरी, चुरबुर गर्छ भँगेरो, चिरबिर गर्छे भँगेरी।’ यसमा भँगेरो ‘चुरबुर’ र भँगेरी ‘चिरबिर’ किन भनियो होला, किन एउटै भनिएन होला ? यो सूक्ष्मतातिर कसैले ध्यानै दिएन।’
कविज्यू एकछिन रोकिए।
‘त भन्देखिन्, म पूर्वीय दर्शन, वेद, उपनिषद् पढेको मान्छे, यसैबाट मलाई धेरै प्रभावित देखे। तर म संस्कृतका सुकुमार शब्दलाई जिएर मात्र गीत–कवितामा ढाल्छु।’
सय वर्षअघि जन्मेको शिशु बालक–युवा–प्रौढ–वृद्ध हुँदै फेरि बालक भएको छ। घिमिरेले जिन्दगीमा थुप्रै बालगीत–कविता लेखे। उमेरको यो कुइनेटोमा आइपुग्दा फेरि ती बालगीत–कविता आफू सुहाउँदो लागेको छ उनलाई। उनी अब उमेरको नयाँ गणना सुरु गर्दै छन्— १०१ हैन, एक वर्ष पुग्छन्, अबको तीन दिनपछि मंगलबार।
‘यहाँको स्वास्थ्य कस्तो छ ? ’ यस्तो वाहियात प्रश्न सोध्ने यो कुनै तरिका हो ? जब शतक–पार मान्छे कान कम सुन्छु मात्र भनेर कुराकानी गर्न माथिल्लो तलाबाट ओर्लेर गफिइरहेछ। कुराकानी सुरु गरेको धेरै बेर भइसक्दा पनि उनमा कुनै अप्ठेरो, थकान, असजिलो देखिँदैन। बरु हरबखत स्मित मुद्रामा गफिइरहेका छन्, उनी।
‘ङ्याङङ्याङ् गर्दै बाँचेकै छु, काल पर्खिराख्या छु बाबु, मैले यस्तो कहिल्यै भनिनँ। अब त झन् नयाँ जीवन बल्ल सुरु भएको छ, यस्तो भन्ने कुरै छैन’, जवाफ दिँदा उनले बुढ्यौलीको आवाज क्यारिकेचर गरे। टाउको तलमाथि हल्लाएर अलि धिमा स्वरमा ‘बाँऽचेऽकैऽ छुऽ, काऽऽल पर्खिऽराख्याऽ छु, बाऽऽबुऽ’ भने। यो कस्तो क्यारिकेचर ! यो कस्तो अभिनय बुढ्यौलीको !
हिन्दू समाजमा ८४ वर्षमा व्यक्ति पूजा–संस्कार हुन्छ तर घिमिरेको पहिलो रचना छापिएकै ठीक ८४ वर्ष भएको छ। त्यो ‘ज्ञानपुष्प’ कविता। अनि, श्रीमती महाकाली घिमिरे पनि ८४ वर्ष नै पुग्नुहुँदै रहेछ, हामीले यो कुराकानी गरेको भोलिपल्ट भदौ १३ मा। यति कुराको भूमिका बाँधेर मैले उनलाई कुनै प्रश्न नसोधी केही सुन्न चाहें। उनले जवाफ सुनाउनेभन्दा पनि देखाउन पो थाले।
‘उभिन गाह्रो होला कि, सोफामा बसेर खिचौं’ भन्ने हाम्रो आग्रह लत्याउँदै बूढा उठे। सहकर्मी उमा विष्ट फटाफट फोटो खिच्दी भइन्, दम्पतीको। ‘पख्नुस्, अर्को पोज दिन्छु’ भनेर बूढा श्रीमती महाकालीलाई अँगालेर उभिए। एक हातले लट्ठी टेकी अर्को हातले श्रीमती च्यापेको मुस्कानसहितको तस्बिर हामीले खिच्यौं।
(फोटोको कुरा गर्दा कस्तो मीठो संजोग पनि के भयो भने घरमा रहेका उनका सहयोगी जसले भर्याङबाट ओर्लंदा कविज्यूलाई सहारा दिएका थिए। उनी कतै निस्केका रहेछन्। मलाई कविज्यूलाई बुईमा बोकेर माथिल्लो तला उकाल्ने अवसर जुर्यो। ‘म बोक्छु’ भन्ने मेरो जिद्दी किन पनि थियो भने हामी बेडरुममै पुगेर दुर्लभ फोटो खिच्न चाहन्थ्यौं।)
एउटा व्यक्तिका लागि ‘१००’ वर्ष आफैंमा संख्या मात्र होइन। यो त अनुभवको विश्वविद्यालय हो। यति लामो साधना र तपस्या, अवलोकन र अनुभव, बस् र उठ्बाट निःसृत अभिव्यक्ति, त्यो सूक्ति हो। १०० वर्ष पुगेका कवि घिमिरेलाई सके १०० वटै विषय, नभए जति सकिन्छ ती विषयमा सटीक आनुभविक अभिव्यञ्जनायुक्त उपदेश दिन लगाउने कि भन्ने मेरो इच्छा थियो। जस्तै— जन्म के हो ? जीवन के हो ? मृत्यु के हो ? आयु के हो ? प्रेम के हो ? विवाह के हो ? सन्तान के हो ? कविता के हो ? छन्द÷लयको महत्त्व के हो ? गद्य कविता के हो ? गीत के हो ? गीतिनाटक के हो ? बालबालिकाका लागि साहित्य के हो ? अँ, साहित्य नै के हो ?
यसरी नै उनले संगत गरेका देवकोटा, लेखनाथ, सम, भूपी, बीपी, पारिजात, शंंकर लामिछाने, राजाहरूको व्यक्तित्व–बुझाइ सार के हो ? पुस्तक के हो ? प्रकृति के हो ? अनि सम्झना÷स्मृति के हो ? खलिल जिब्रानको ‘द प्रोफेट’ टाइपमा घिमिरेका सय ‘दिव्योपदेश’ उनको ‘फुर्सद मिलेसम्म’ फुर्सदमा छापिनेछ।
फुर्सद मिलेसम्म ? हो, कविज्यूले रचिरहनुभएको ‘ऋतम्भरा’ महाकाव्य अब चाँडै पूरा गर्नु छ। घिमिरेका अनुसार अब डेढ वर्षमा महाकाव्यका बाँकी दुई सर्ग पनि पूरा हुनेछन्। यो महाकाव्यको कथा पनि रोचक छ।
लक्ष्मीप्रसाद देवकोटाले सोधे— के लेख्तै हुनुहुन्छ, कविज्यू ?
घिमिरेले भने— महाकाव्य लेख्तै छु।
अनि देवकोटालाई लाग्यो— ओहो ! म पनि लेखूँ न त महाकाव्य।
त्यतिबेला कुनै महाकाव्य नलेखेका देवकोटाले सातवटा महाकाव्य लेखे। महाकवि भई गइगए, ६० वर्षअघि।
घिमिरे देवकोटालाई महाकाव्य लेख्न प्रतिस्पर्धात्मक–प्रेरणा दिएको त्यही महाकाव्य अब पूरा गर्दैछन्। ‘पापिनी आमा’, ‘नयाँ नेपाल’, ‘गौरी’, ‘राजेश्वरी’, ‘राष्ट्रनिर्माता’, ‘धर्तीमाता’, ‘बोराको परदा’, ‘गौँथली र गजधम्मे’, ‘इन्द्रकुमारी’जस्ता खण्डकाव्य लेखे पनि उनको एउटा महाकाव्य लेख्ने धोको अब पूरा हुने–हुने बिन्दुमा पुगेको छ।
यहाँलाई सबैभन्दा ठूलो सन्तुष्टि के छ ?
के छ भन्देखिन्, यति सुन्दर, यति भव्य संस्कृति, कला भएको, प्राकृतिक सौन्दर्य र सांस्कृतिक वैभव भएको देशमा मेरो जन्म भयो। यो सबैभन्दा ठूलो सन्तुष्टि हो। अनि अर्को जन्म हुन्छ भने पनि यहीँ नेपालमा जन्मिन पाऊँ।
सबै खाले शासक, सबै खाले पाठकदेखि सेनासम्मको माया पाइरहनुभएको छ, कस्तो महसुस हुन्छ ?
(चार मिनेटको मौनतापछि) बाबु, आँखामा हेर्नुस्, (हेर्छु, टिलपिल टिलपिल छन्, आँखा) ठूलो स्वरमा तीनपटक भन्छन्— गद्गद्, गद्गद्, गद्गद्।
जीवन के रहेछ त ?
यो मैले ‘राजेश्वरी’मा लेखिसकेको छु :
एक्लो कोमलप्याउली कुसुम यो एक्लासमा फुल्न द्यौ
सन्ध्यामा छलिने कुनै किरण यो कैलाशमा डुल्न द्यौ
मान्छेबाट नकाट दुःख सुखको यौटै पनी यो क्षण
सारा सृष्टि सिँगार्छ इन्द्रधनुको यौटे पनी यो कण !
यति लामो आयु सोच्नुभएको थियो ?
मैले सधैं सकारात्मक र सिर्जनशील जीवन बिताएँ। यसैले यो सब भएजस्तो लाग्छ। मेरो जन्मशताब्दी समारोहमा निमन्त्रणा कार्ड छाप्ने कुरा भयो। छोराले मलाई केही लेख्नुस् न भन्यो। चार दिन चिन्तन गरेपछि मैले मेरा लागि र आउने निम्तालुका लागि पनि काम लाग्ने दुई पंक्ति लेखेँ :
बुढेसकालसम्मन् पनि जिउन जानौं
र, यो जिन्दगीको रस पिउन जानौं।
रस धेरै पिउनुभयो है ?
जब गौरीको निधन भयो, जीवन त अमूल्य रहेछ भन्ने बोध भयो मलाई। त्यतिबेला मृत्युसित साक्षात्कार भएको हुनाले मैले जीवनको मूल्य थाहा पाएँ। मैले नकारात्मक विचार, सोचलाई कहिल्यै बास दिइनँ। सधैं सकारात्मक र सिर्जनात्मक मात्र बनेँ। यही हो, जीवन–रस।
प्रेम के हो ?
तिम्रो प्रीति पैले हो कि मेरो प्रीति पहिले
जान्दिनँ म एकैचोटि के भो कुन्नि कहिले
यहाँलाई यी सब कसरी कण्ठस्थ छन् ?
म नछोईकन केही लेख्दिनँ। स्फुरण भयो भनेर म जहिले जे पनि लेख्दिनँ। म ती शब्द र भाव पहिला आफैं जिएर लेख्छु। त्यसले आफूलाई प्रभावित पार्छ कि पार्दैन ? प्रभावित पार्छ भने भुल्ने कुरै छैन। मेरो लेखाइको पद्धति यही हो।
आज के खानुभयो ?
बोडी, त्यो जुम्लाको मीठो हुँदो रहेछ। मासु चार टुक्रा। मासुको झोलसँग भात। यत्ति हो खानेकुरा।
आज पनि दारी काट्नुभएछ ? कुनै दिन नकाटी बस्नुभएन है ? म काट्दिनँ थिएँ। तपाईंसित भेट्ने भनेपछि म अल्छीले पनि आज दारी काटेर आएँ नि...
(हाँसो) दारी काट्दा राम्रो देखिन्छ, काट्नुहोस् न। पहिले त म सधैं आफैं काट्थेँ। अहिले छोराले काटिदिएको। तपाईंहरू आउने भएपछि, पत्रिकामा तस्बिर छापिने भएपछि ‘ह्यान्डसम’ भएर बस्नैपर्यो नि !
तपाईंलाई दुःखी बनाउने कुरा ?
मैले राष्ट्रिय भावनाका गीत धेरै लेखेँ। नेताहरूलाई पनि काम लाग्ने खालका छन्। तर, के भन्देखिन्, सिस्टम लागू गर्ने कुरा कहिल्यै भएन। बीपीपछि बल्ल बहुमत भएको सरकार आएको छ तर काम भएको छैन। प्रधानमन्त्री केपी शर्माले गर्न खोज्नुभएको छ तर सबैको साथ पाउनुभएको छैन। साथ लिन सक्नुभएको पनि छैन। उहाँले पनि सबै एक्लै म गर्न सक्छु भन्ने सोच्न भएन र अरूले पनि निःस्वार्थ भावले उहाँलाई सहयोग गर्नु पर्यो। वैयक्तिक स्वार्थ बिर्सेर नेपाल देशलाई उठाउने काम गर्नुस्, जापानले कसरी आफूलाई कसरी उठायो ? त्यसबाट सिक्नुस्। नेपाली हामी रहौंला कहाँ नेपालै नरहे... भन्ने सबैले बुझ्न जरुरी छ।
(हामीले कुरा गरिरहेको कोठामा केपी शर्मा ओलीका दुईवटा फ्रेम छन्, २०७६ असार २९ गते २०६औं भानुजयन्तीमा प्रधानमन्त्री केपी शर्मा ओलीसहितले गरेको अभिनन्दन। अर्को, विद्यादेवी भण्डारी, केपी शर्मा ओली, तीर्थ खनियाँसहितको त्रिविको मानार्थ महाविद्यावारिधि ग्रहण गर्दै गरेको फोटो।)
सयौं पुरस्कार, सम्मान, पदक पाउनुभएको छ। यो बैठक कक्षमा जम्मा दुईवटा मात्र फ्रेम छन्। दुवैमा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीकै हुनु यो के संयोग मात्रै हो ?
डेढ वर्षअघि म अस्पतालमा हुँदा सातौं दिन उहाँ मलाई भेट्न आउनुभयो। मलाई दिल्ली लैजाने निर्णय त्यहीं भयो। उहाँ मीठो साहित्यिक भाषा बोल्नुहुन्छ। म उहाँलाई के भन्न चाहन्छु भने, पार्टी र परिवार निर्माणतिर मात्र नलागेर देश निर्माणतिर लाग्नुहोस्। सबैलाई साथमा लिनुहोस्। स्वास्थ्य लाभका लागि प्रार्थना गर्छु।
२०२३ सालमा उत्तम कुँवरले निकालेको ‘स्रष्टा र साहित्य’मा वार्ता गरिएका सम, लैनसिंह, सिद्धिचरण, लेखनाथ, सूर्यविक्रम, भिक्षु, भूपी, शंकर लामिछाने, ऋद्धि, बाबुराम आचार्य, बालचन्द्र, एमबीबी जस्ता ३५ जनामध्ये अब तपाईं र श्यामदास मात्र जीवित हुनुहुन्छ। कस्तो लाग्छ ?
(जवाफ दिएनन्, जवाफ आँखामा देखाए— आँखा टिलपिल टिलपिल थिए।)
ऋतम्भराको मुटु
- माधव घिमिरे
ऋता उतार्छिन् मधुपात्रमा मधु
आत्मीयताको भरि भावना मृदु
थोप्ला खसाली जलका ठुला ठुला
ए ! घामपानी पनि पर्छ यै पला
सुधा शरीरैभरि स्वर्गको भारी
झरीरहे झै चिरयौवना परी
झरी छ झुक्तै रस झारि झर्झरी
मृत्पात्रमा अम्रित बर्सिएसरि
उठीरहेछन् रसबाट बुद्बुद
कि हर्षका हार्दिक भाव गद्गद
वैसाल् बाला सुषमा हिसी परी
छन् लाज आजै त्यसमा मिसेसरि
लाली चुहे झैँ नचुहे पनि अहो
केही दिए झैँ नदिए पनि छ त्यो
प्याला उचाली मधुमाधुरी पिऊँ
आँखा उचाली रससन्दरी पिऊँ
कि पालि पाली गरि प्रीति नै पिऊँ
र, स्वर्गको जीवन धर्तिमै जिऊँ
०००
झराल्न झर्दो मधु बिर्सिइन् उता
उचाल्न प्याला पनि बिर्सिए यता
झिलिक्क झैँ लोचन चार जो मिले
स्पर्शैविना स्वर्गिक द्वार जो खुले
पैलो पला पीरतिलाइ देखियो
कि कामलाई रतिलाइ देखियो
चैते तुंवालो जलले पखालियो
मिठो उज्यालो झलका उचालियो
नजीकमा नीरव उभिईरहूँ
कि लोचनैले सुषमा पिइरहूँ
आँखाभरी कोमल कान्ति पिल्पिल
पीयूष प्यालाभरि तुल्य टिल्पिल
चियाइरै‘छन् छन् सब त्यो पिऊँसरी
पियाइरै‘छन् सब यो दिऊँसरि
छन् पात्र दोटा तर स्वाद एक भो
त्यो साटियो या अरु क्यै उदेक भो
के भो ? भनूँ लाग्छ कि क्यार कुत्कुती
मारीरहेछन् विनुशब्द साउती
‘ऋतम्भरा’ महाकाव्यको सोमयाग सर्गबाट यी दुई गीत। यसमा नायक श्यावाश्व राजाकी छोरीकहाँ पुग्छ। त्यहाँ सोमयाग भइराखेको हुन्छ। त्यहाँ सोमपानको रमाइलो भइराख्या हुन्छ। ऋषिपुत्र नायकलाई सोमपान गराउने जिम्मा ऋतम्भरालाई दिइएको हुन्छ। सोमपान गराउँदाखेरिमा नायक तल मधुपात्र लिएर बस्या हुन्छ। उसका आँखा पनि त्यसै मधुपात्रमा प्रतिविम्बित छ। नायिकाको आँखा पनि त्यसैमा प्रतिविम्बित छ। सत्य कठोर–निठुर पनि हुन सक्छ, तर काव्यमा त्यसलाई मधुर बनाउनका निमित्त मैले यो दृश्य संयोजन गरेको हुँ। मैले यो अन्नपूर्णलाई छाप्न दिएर महाकाव्यको मुटु नै झिकेर दिएको छु।