मुग्लिङ-नारायणघाट सडक खण्ड : १४ नयाँ पुल बन्ने

मुग्लिङ-नारायणघाट सडक खण्ड : १४ नयाँ पुल बन्ने

काठमाडौं : नारायणघाट-मुग्लिङ सडकखण्डका पुलको क्षमता विस्तार गरिने भएको छ। दुई लेन चौडा सडकमा मध्यमस्तरका पुल छन्। सडक विभाग पुल महाशाखाले सडकको आकार अनुरूप पुल विस्तार गर्न लागेको हो।नारायणघाट-मुग्लिङ सडकखण्डका पुलका डिजाइन एन्ड बिल्ड मोडालिटीमा निर्माण गरिनेछ। डिजाइनमा हुने प्राविधिक त्रुटि अन्त्य गर्न डिजाइन एन्ड बिल्ड मोडलमा निर्माण गर्न लागिएको महाशाखा प्रमुख दीपक भट्टराईले बताए। यो मोडालिटीअनुसार डिजाइन गर्नेले नै पुल निर्माण गर्नेछन्। डिजाइन गर्नेले नै निर्माण गर्ने भएकाले निर्माणको क्रममा समस्या देखिँदैन। निर्माणको क्रममा डिजाइन सच्चाउनुपर्ने अवस्था देखिए सरकारी पक्षको सुझावको आधारमा सुधार गर्न सकिन्छ।

‘नेपालका धेरै पुल सरकारी निकायले तयार गरेका डिजाइनका आधारमा ठेकेदारले निर्माण गर्ने चलन छ। यसले गर्दा डिजाइन र निर्माणमा एकरूपता कायम हुन सकेको छैन’, उनले भने, ‘डिजाइन र निर्माण एउटैले गर्दा प्राविधिक समस्या आउँदैन।’३६ किलोमिटर नारायणघाट-मुग्लिङ सडकखण्डमा १८ वटा पुल पर्छन्। चारवटा पुल ठेक्का लागेर निर्माणको चरणमा छन्। बाँकी १४ वटा पुल निर्माण गर्न ठेक्का निकालिएको हो। अहिले पनि यही पुल सवारी सञ्चालनका लागि योग्य छन्। तर, सडकको तुलनामा पुल सानो हुँदो दुर्घटनाको जोखिम उच्च छ।

विश्व बैंकको ऋण सहयोगमा मध्यमस्तरको नारायणघाट-मुग्लिङ सडक एसियाली मापदण्डअनुसार विस्तार गरिएको छ। यो सडक २०७५ जेठमा दुई लेनमा विस्तार भइसकेको छ। सडक फराकिलो बनाइए पनि पुल साँघुरो छ।अहिलेका पुललाई यथास्थितिमा राखेर नयाँ पुल बनाउन लागिएको हो। पुराना पुल भत्काएर नयाँ बनाउँदा सवारी आवागमनमा बाधा उत्पन्न हुन्छ। यो सडक काठमाडौं उत्पयकालाई तराईसँग जोड्ने मुख्यमार्गको रूपमा छ। भारतबाट पनि धेरै सवारी यही बाटो हुँदै काठमाडौं भित्रिन्छन्। यो सडक खण्डमा दैनिक १० हजारको हाराहारीमा सवारी गुड्छन्।

यो खण्डमा पर्ने तीनवटा पुल जटिल भौगोलिक संरचनामा निर्माण भएका छन्। यी तीन पुल ९ मिटरमा मात्र विस्तार गरिनेछ। बाँकी पुल ११ मिटरको हुनेछ। पैदल यात्रुका लागि पुलमा फुटपाथ पनि निर्माण गरिनेछ।

‘नारायणघाट-मुग्लिङ सडकखण्डमा पर्ने तीनवटा पुल जटिल भौगोलिक संरचनामा निर्माण भएका छन्। यो खण्डमा पर्ने सबै पुल सवारी चल्न योग्य छन्’, भट्टराईले भने, ‘सडकको क्षमताअनुसार नै पुल विस्तार गर्नुपर्ने हुन्छ। तीन पुल भएको स्थानमा सडक विस्तार गर्ने पर्याप्त ठाउँ नभएकाले फुटपाथको चौडाइ घटाइनेछ।’

सुरक्षित रूपमा सवारी सञ्चालन गर्न सडककै आकारका पुल आवश्यक हुन्छ। अहिलेका पुल दोहोरो सवारी आवागमन गर्न सक्ने क्षमताका छन्। सडकको स्तरभन्दा पुल न्यून क्षमताका भएकाले विस्तार गर्न लागिएको हो। यी पुललाई कसरी बढाउने भन्ने विषयमा महाशाखा र विश्व बैंकका प्रतिनिधिले स्थलगत अध्ययन गरेका छन्। विश्व बैंक र प्राविधिकको सुझावका आधारमा पुराना पुललाई यथास्थितिमा राखेर नयाँ बनाउन लागिएको हो।

विश्व बैंकको दुई अर्ब ९० करोड सहुलियत ऋणमा नारायणघाट-मुग्लिङ सडक दुई लेनमा विस्तार गरिएको हो। सडक निर्माण सम्पन्न भएर सञ्चालनमा आइसकेको छ। तर, सडकको क्षमताअनुसार पुल नहुँदा सवारी आवागमनमा समस्या छ। २०३६ सालमा बनेका यो सडकका पुल जीर्ण भइसककेको छ। नयाँ सडक बनेपछि पुलको पनि स्तरवृद्धि गर्नुपर्ने अवस्था छ।

यो खण्डमा पर्ने पुल निर्माण गर्न पनि विश्व बैंकले सहयोग गर्ने प्रतिबद्धता जाहेर गरेको छ। तर निर्माणअघि भने विश्व बैंकले रकम उपलब्ध गराउने छैन। निर्माणका लागि नेपाल सरकारले लगानी गर्नुपर्ने हुन्छ। यी पुल एसियाली हाइवे स्ट्यान्डर्ड अनुसार निर्माण हुनुपर्नेछ। विश्व बैंकको मापदण्डअनुसार पुल निर्माण भएको खण्डमा मात्र ऋण उपलब्ध गराउनेछ।
महाशाखाले चालु आर्थिक वर्षभित्रमै पुल निर्माण प्रक्रिया अघि बढाउन ठेक्का निकालेको जानकारी दिएको छ। यी पुल निर्माणको जिम्मा पाउने कम्पनीले तीन वर्षभित्र सम्पन्न गर्नुपर्ने हुन्छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.