मुस्ताङमा ४९ औं थाक खेलकुद प्रतियोगिता सुरु
जोमसोम : मुस्ताङको जोमसोममा शनिबारदेखि ४९ औं 'थाक खेलकुद च्याम्पियन रनिङशिल्ड' प्रतियोगिता सुरु भएको छ। यो थाकखोलामा बसोबास गर्ने थकालीहरुको प्रतियोगिता हो। उक्त प्रतियोगिता 'थाक खेलकुद च्याम्पियन रनिङशिल्ड' २०२७ सालदेखि हरेक वर्ष नियमति रुपमा संञ्चालन हुँदै आइरहेको छ।
प्रतियोगिता सञ्चालन थाक खेलकुद तथा सांस्कृतिक विकास संघ मुस्ताङले गर्दै आएको छ। घरेलु थाक खेलकुद क्षेत्रको विकास र थाकक्षेत्रका विभिन्न गाउँमा बस्ने युवाहरुबीच आपसी सम्बन्ध अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना भएको संघका अध्यक्ष चन्द्रमोहन गौचनले जानकारी दिए। उनले थाक खेलकुद प्रतियोगिता मुस्ताङको राष्ट्रिय पर्वको रुपमा संञ्चालन हुँदै आएको बताए।
असोजमा गरिने थाक खेलकुद प्रतियोगितामा जोमसोमदेखि तल्लोक्षेत्र घासासम्मका ८ टिमले नियमित सहभागिता जनाउँदै आइरहेका छन्।
प्रतियोगितामा पुरुष तथा महिला भलिबल, मिस मुस्ताङ, एकल गायन, तारो हान्ने खेल, थकाली गीत र विविध सांस्कृतिक कार्यक्रम रहेको संघकी उपाध्यक्ष शारदा शेरचनले जानकारी दिइन्।
प्रतियोगिताको उद्घाटन यूवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले गरे। मन्त्री विश्वकर्माले खेलकुदक्षेत्रको समग्र विकासले मात्र मुलुकले समृद्धि हासिल गर्ने बताए। मुस्ताङ जिल्ला हावापानी र भुगोलको हिसावले अधिक संम्भावना रहेको उल्लेख गर्दै मन्त्री विश्वकर्माले संसारमा खेलिने सबै प्रकारका उपयुक्त खेलकुद पूर्वाधार विकास गर्न मुस्ताङमा संम्भव रहेको जनाए। उनले मुस्ताङलाई हाईअल्टिच्युड खेल पर्यटनका रुपमा बिकास गर्न सरकारको योजना रहेको जानकारी दिए।
खेलकुदले मात्र राष्ट्रिय स्वाभिमान उचो हुने भएकाले सरकारले खेलकुद पूर्वाधार निर्माणमा जोड दिएको उनले बताए। सरकारले ७ वटै प्रदेशमा सुविधा सम्पन्न रंगशाला निर्माण र ७५३ वटै खेलग्राम निर्माण गर्ने सरकारले पहल सुरु गरेको मन्त्री विश्वकर्माको भनाइ छ। उनले सुशासन, विकास र समृद्धि आजको राष्ट्रिय आवश्यकता भएको जनाउँदै मन्त्री वर्तमान सरकारले खेलकुद क्षेत्रलाई उच्च प्राथमिकता राखेको जानकारी दिए।
‘नियमित खेलकुद प्रतियोगिता नहुँदा खेल प्रतिभा सुस्ताउँदै छन्। खेलक्षेत्रका लागि भरोसा जगाउन र दक्षता र क्षमता अभिवृद्धि गर्न खेलकुद गतिविधि नियमित रहन आवश्यक छ’, मन्त्री विश्वकर्माले भने। उनले मन्त्रालय र राखेपले खेलक्षेत्रको विकासका प्राथमिकता दिएको बताए।
कार्यक्रममा मुस्ताङका संघीय सांसद प्रेमप्रसाद तुलाचन, प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्याल, लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र थाक खेलकुद तथा सांस्कृतिक विकास संघकी उपाध्यक्ष शारदा शेरचन उपस्थित थिए।
प्रतियोगिता ४ दिनसम्म संञ्चालन हुने संघका सचिव दिपक लालचनले जानकारी दिए। यसअघि मन्त्री विश्वकर्माले सरकारले घोषणा गरेको एक स्थानीयतह एक खेलग्रामको अवधारणा अनुसार मुस्ताङको जोमसोममा कर्भडहलको समेत शिलन्यास गरे। मुस्ताङमा अब बन्ने नयाँ कभर्डहलका लागि चालु आ.व. २०७६-०७७ का लागि सरकारले ४० लाख बजेट विनियोजन गर्ने बताए।