हिंसापछि सडकमा गर्भवतीहरू
इटहरी : मागी बिहे गरेकी मोरङकी रितालाई ६ महिनामै परिवारले दाइजोको निहुँमा मानसिक र शारीरिक यातना दिन थाल्यो । विदेशमा रहेका पतिलाई समस्या सुनाइन्, तर उनले पनि बेवास्ता गरे । ६ महिनाकी गर्भवती उनी माइत गइन् । माइतीको आर्थिक अवस्था पनि कमजोर भएकाले उनी सडकमा आइन् । सडकमा कष्टपूर्ण दिन बिताइरहँदा उनको मानसिक स्वास्थ्यसमेत बिग्रियो ।
इलामकी तारा राईलाई त अझ परिवारले झुक्याएर बोल्न नसक्ने अनि मानसिक स्वास्थ्य पनि बिग्रिएको व्यक्तिसँग बिहे गरिदिएका थिए, जसले उनलाई ढुंगा, मुढा, लाठी लिएर कतिखेर मार्न आइपुग्थ्यो, टुंगो हुँदैनथ्यो । बाँच्न गर्भवती तारा माइत गइन्, बाबुआमाले पनि राख्न चाहेनन् । अनि बाध्य भएर माइती छाडिन् । ‘बूढाले पनि बुझेन, परिवारले पनि बुझेन,’ भन्ने उनी कसैले नबुझिदिएपछि तराई झरिन् । बटुवाको अनुहार टुलुटुलु हेर्दै सडकमै दिनरात काट्न थालिन् । हिंसा र तनावले उनी विक्षिप्तसमेत भइन् ।
रिता र तारा अहिले दुवै इटहरीस्थित मायाघर नेपाल नामको संस्थाको संरक्षणमा छन् । नियमित उपचार र रेखदेख पाएपछि अहिले दुवै खुसी छन् । आफैं पनि मायाघरको व्यवस्थापन र काममा सक्रिय छन् । सडकमा भोगेको कष्ट सम्झन पनि चाहँदैनन् । उनीहरू घर जान चाहँदैनन् । ‘जाने ठाउँ कहीँ छैन, म मायाघर छाडेर कतै जान्नँ,’ दुवै एकस्वरमा भन्छन् । पारिवारिक हेला र हिंसा पीडित भएर महिलाहरू सडकमा आउने क्रम बढेको छ । सडकमा उनीहरू असुरक्षित छन् ।
एकातिर खाना र सुत्नको टुंगो नहुने, अर्कोतिर बिरामी हुँदा झन् समस्या । त्यसमा पनि आवारा र बदमास केटाहरूले गर्ने दुव्र्यवहार सम्झन पनि चाहन्नन् रिता । ‘मैले धेरैलाई कुटेँ अनि कतिलाई त प्रहरीलाई भनेर थुन्न लगाएँ,’ उनले भनिन्, ‘प्रहरीले सहयोग गर्नुभयो ।’
तारा त गर्भवतीसमेत थिइन् । गत महिना मायाघरमै छोरी जन्माइन् । उनीजस्तै पछिल्लो एक महिनामा चार जनाले मायाघरमै छोराछोरी जन्माइसकेका छन् । ‘तीन जना बहिनी र एक जना भाइकी दिदी हुन पाएँ,’ मायाघरमै बस्ने अर्पणा भन्छिन् ।
सडकमै बलात्कार, सडकमै सुत्केरी
‘यातना र तनावले मानसिक समस्या उत्पन्न भएका महिलाहरूका लागि सडक नै सब थोक हो,’ अधिकारकर्मी सुभद्रा प्याकुरेल भन्छिन्, ‘उनीहरूको उद्धार गर्ने, उपचार गर्ने कुनै सरकारी संयन्त्र नै छैन ।’ उनका अनुसार मानसिक समस्या भएका महिला बलात्कृत भएर गर्भवती भइसक्दा पनि होस् पाउँदैनन् । यस्तोमा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्न सक्छ ।
एक जना जोगीसँग लागेर आसामबाट नेपाल आएको बताउने मीनाले भर्खरै छोरा जन्माइन् । तर गर्भ कसको हो भन्ने उनैलाई थाहा थिएन । ‘बाटोमा थिएँ, एउटा जोगीले भेटेर मसँग हिँड् भनेर यता ल्यायो,’ उनी भन्छिन् । ‘अनि यो बच्चाचाहिँ कसको हो त ? ,’ सोध्दा फिस्स हाँस्दै भन्छिन्, ‘त्यै जोगीको होला ।’ उनलाई न आफ्नो घरको ठेगाना थाहा छ, न बाटो नै ।
ओरेक नेपाल र माइती नेपालले नराख्ने भनेपछि प्रदेश १ को सामाजिक विकास मन्त्रालयले मायाघर पठाइएकी मीनाले आएको एक महिनामा नै बच्चा जन्माइन् । ‘एक महिना ढिलो भएको थियो भने सडकमै असुरक्षित प्रसूति हुनसक्थ्यो,’ मायाघर नेपालकी सचिवसमेत रहेकी सुभद्रा प्याकुरेलले भनिन् ।
छानो बाँड्दै मायाघर
इटहरीका केही समाजसेवी महिलाले सञ्चालनमा गरेको मायाघरमा अहिले २५ जनाभन्दा बढी महिलाले आ श्रय लिइरहेका छन् । तीमध्ये ५ जना एक वर्षमुनिका बालबालिका छन् । ४ जनाको जन्म त्यहीँ भएको हो भने एक जनालाई विराटनगरको कोसी अन्चल अस्पतालबाट उद्धार गरेर ल्याइएको संस्थाकी कार्यक्रम संयोजक राधिका थापा बताउँछिन् ।
मायाघरमा हुने सबैका बेग्लाबेग्लै कथा व्यथा छन् । तर सबैको साझा मर्म यही हो कि ‘सडकबाहेक हाम्रो जाने ठाउँ कतै छैन ।’ अनि अर्को झन् तितो यथार्थ, उनीहरूलाई राख्ने भरपर्दो ठाउँ न्यून छन् । इटहरी उपमहानगरपालिकाले पनि सेफ हाउस सञ्चालनमा ल्याएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिइन् । तर पूर्वका अन्य ठाउँमा महिलालाई आ श्रय दिने अर्को ठाउँ छैन ।
सडकमा आएका मानसिक स्वास्थ्य ठीक नभएकाहरूलाई संरक्षण गर्ने निकाय नदेखेपछि राधिका दासीले मायाघरको सुरुवात गरेकी हुन् । उनी आफैं पनि हिंसापीडित महिला हुन् ।
खोला किनारको साढे ९ कठ्ठा जमिनमा सुविधासम्पन्न भवनमा हिंसापीडित महिला राखेर रोजगारी उन्मुख बनाउने उनको सपना छ । तर दैनिक खर्च चलाउनै मुस्किल छ । ‘समस्या नै समस्या छन्, अहिले कुनै संस्थाले नराखेका महिलालाई हामीकहाँ पठाइदिन्छन्,’ सचिव प्याकुरेलले भनिन्, ‘पूर्वाधारदेखि सञ्चालन खर्च सबै कुराको अभाव छ ।’
पुरुष राख्ने ठाउँको अभाव रहेको उन िबताउँछिन् । भन्छिन्, ‘अस्ति २ जना पुरुष हुँदा बाहिर टेन्ट टाँगेर त्यहीँ सुतायौं ।’ मायाघरले अहिलेसम्म सरकारी तवरबाट दह्रो सहयोग पाएको छैन । ‘सहयोग पाए धेरैभन्दा धेरै महिला दिदीबहिनीलाई आ श्रय दिने योजना छ,’ दासीले भनिन् ।