डोजरको ठक्करबाट बालकको मृत्यु, चालक फरार
दोलखा : डोजरको ठक्करबाट ४ वर्षीय बालकको मृत्यु भएको छ ।शनिबार अपरान्ह करिब साढे ४ बजेतिर सडक मर्मत गर्न प्रयोग गरिएको बा ३ क १२०६ नम्बरको डोजरले ठक्कर दिँदा विगु गाउँपालिका-५ चिलंखा लाइसेपका रमेश खड्काको ४ वर्षीय छोरा रोजन खड्काको मृत्यु भएको हो ।
विगु गाउँपालिका-८, खोपाचागु जाने सोरुङखोला-साङ्बा अवरुद्ध सडक पन्छाउने क्रममा डोजरले बालकलाई ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको दोलखा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम बोहराले जानकारी दिए ।
खड्का परिवार विगु गाउँपालिका-५, चिलंखा घर भई विगु गाउँपालिका-८ सोरुङखोला बजारमा होटल व्यवसाय लर्दै आएको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चरिकोट ल्याइएको छ ।
डोजर अपरेटर भीमेश्वर नगरपालिका-७ का ईश्वर बस्नेत फरार रहेको प्रहरीले जनाएको छ । डोजर इलाका प्रहरी कार्यालय सिंगटीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।