एकसाथ तीन कृति सार्वजनिक
काठमाडौं : आइतबार एकसाथ तीन कृति सार्वजनिक भएका छन्। स्व. दाहाल यज्ञनिधिको निबन्धसङ्ग्रह ‘जदौ’, घनश्याम राजकर्णिकारको ‘प्रतिनिधि नियात्रा’ र वीणा पौड्यालको ‘वेदपुराणका रत्नहरू’ सार्वजनिक भएका हुन्।
पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, प्रज्ञाप्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले संयुक्त रूपमा कृति विमोचन गरेका हुन्। ‘जदौ’ निबन्धसङ्ग्रह लुइटेल दिनेशले संकलन एवं सम्पादन गरेका हुन्। तीनवटै कृति शमी साहित्य प्रतिष्ठानले प्रकाशन गरेको हो।
प्रतिष्ठानको एघारौं वार्षिकोत्सवमा कृति विमोचनसँगै विभिन्न तीन प्रतिभालाई सम्मान गरिएको छ। १ लाख १ हजार १०१ रुपैयाँको ‘शमी साधना सम्मान’ माधव भँडारीलाई प्रदान गरियो भने ‘शमी युवा प्रोत्साहन पुरस्कार’ गायिका मेलिना राई र ‘शमी–समता लैङ्गिक अध्ययन पुरस्कार’ आश्वासन दाहाललाई प्रदान गरियो।
कार्यक्रममा पूर्वप्रधानमन्त्री नेपालले आफूले कहिलेकाहीँ साहित्यका निम्ति समय दिने गरेको बताए। ‘साहित्यले संस्कृति र समाजको विकासका निम्ति महत्त्वपूर्ण काम गर्छ’, उनले भने, ‘त्यसैले साहित्यिक कार्यक्रमलाई पनि समय दिने गरेको छु।’ नेपालले नेपाली समाजलाई अग्रगति दिन साहित्यसेवीको ठूलो योगदान रहेको बताए। ‘मिहिनेत खोज तथा अध्ययन गरेर यथार्थ कुरा थाहा पाइन्छ, तपाईँहरू खोज्नुहोस्’, उनले भने, ‘आज पश्चिमाहरू पूर्वीय सभ्यताको अध्ययन गर्न लालायित छन्। यसको मतलब हो, हामीसँग राम्रा कुरा छन्।’
कार्यक्रममा प्रा. राजेन्द्र सुवेदीले सम्मानित प्रतिभा छनोटको विषयमा जानकारी गराए। कार्यक्रममा प्रदीप नेपाल, ज्ञानु अधिकारी, माधव भँडारी, डोलेन्द्रप्रसाद शर्मा, घनश्याम राजकर्णिकारलगायतले मन्तव्य राखेका थिए।
कार्यक्रममा शताब्दी पुरुष जोशी, साहित्यकार वैरागी काइँला, समालोचक प्रा. डा. वासुदेव त्रिपाठी, साहित्यकार मोदनाथ प्रश्रित, पत्रकार भैरव रिसाललगायत विशिष्ट व्यक्तित्वको उपस्थिति थियो।