‘विकासले फड‍्को मारेको छ’

‘विकासले फड‍्को मारेको छ’

काभ्रेको विकटमा पर्ने महाभारत गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बा गाउँपालिका अध्यक्षमध्ये सबभन्दा कान्छा हुन्। तर उनको काम भने अब्बल छ। शिक्षा, स्वास्थ्य, खानेपानी र विकास निर्माणलाई तिव्रताका साथ अगाडी बढाइरहेका उनीसँग दृष्टिकोण, जोस र जाँगर पनि त्यतिकै छ। नागरिकता बनाउन सदरमुकाम धुलिखेल पुग्न दुई दिनको पैदल यात्रा गर्नुपर्छ। तर उनको पहलमा गाउँमै इलाका कार्यालय स्थापना भएसँगै नागरिकता बनाउनेलगायत सरकारी कामकाजमा जनतालाई सहज भएको छ। उर्जा मन्त्रालयसँग सहकार्य गरी महाभारत गाउँपालिकामै पहिलो पटक विद्युतको केन्द्रीय प्रशारण लाइन विस्तार गराएका छन्। यस्ता धेरै जनमुखी काम गरेका महाभारत गाउँपालिकाका अध्यक्ष जिम्बासँग अन्नपूर्णकर्मी रोजन तामाङले गरेको कुराकानीः

गाउँपालिकाको विकास कसरी गरिरहनुभएको छ ?

संघियतापछि महाभारत गाउँपालिकाले विकासमा फड्को मारेको छ। गाउँपालिकाबाट जिल्ला सदरमुकाम पुग्न २ दिन हिड्नु पथ्र्यो। धुलिखेलमा पुगेर नागरिकता बनाउनेलगायत अन्य सामान्य कामका लागि स्थानीयले हजारौं रुपैयाँ खर्च र समय दिन बाध्य थिए। अहिले डाँडापारीमै नागरिकता बनाउने काम हुन थालेको छ। गाउँमै सिंहदरबार आएको हामीले अनुभूती गराएका छौं। सेवा प्रदान गरेका छौं।

तपाइँको गाउँपालिकामा विद्युतको केन्द्रीय प्रशारण लाइन विस्तार गर्न कसरी सम्भव भयो ?

काभ्रे राजधानी काठमाडौंबाट नजिक भए पनि विकासमा कर्णालीभन्दा दयनीय अवस्थामा रहेको कुरा पार्टीका नेतादेखि मन्त्रीसम्मलाई अवगत गरायौं। हाम्रो गाउँपालिकामा विद्युतको केन्द्रीय प्रशारण लाइनले कतै छोएको थिएन। तर अब डाँडापारि भरिनै केन्द्रीय प्रशारणबाट विद्युत आपुर्ती हुने अन्तिम तयारीमा छौं।

दुई वर्षमा तपाईले गर्नुभएको खास काम ?

नेपालको संविधानले तीन तहको सरकार कल्पना गरेको छ। संघ, प्रदेश र स्थानीय सरकार। स्थानीय सरकार नितान्त नयाँ अभ्यास भएकाले सुरुमा हामीलाई केही समस्या थिए। हामीले पहिलो पटक, व्यवस्थापकीय अधिकार, न्यायिक अधिकार र कार्यपालिकाको अधिकार पाएका हौं। यो अधिकार पाएसँगै हामीले गाउँको सिंहदरबारको अनुभूती गराउने प्रयास गर्दै आएका छौं। जिल्ला सदरमुकाम धुलिखेलमा हुने काम त्यही हुन थालेको छ।

नागरिकता लिन जनता धुलिखेलसम्म धाउनु पथ्र्यो। त्यो कामका लागि गाउँमै सह–सचिव पुगेर सेवा प्रदान गरेका छन्। जन्मदर्ता गर्न १८ घन्टा हिड्नु पर्ने, भनेको बेला सचिव नभेट्टाउन समस्याको अन्त्य भएको छ। प्रशासनिक क्षेत्रमा व्यापक सुधार भएको छ।

काभ्रेको विकट गाउँपालिकालाई सुगम बनाउने प्रयासको थालनी भएको हो त ?

काभ्रेको महाभारत जिल्लाको सबैभन्दा विकट गाउँपालिका हो। अहिले पनि जिल्ला सदरमुकाम पुग्न सिन्धुली हुँदै जानु पर्छ। १२ महिनामै सडक सञ्चालन गर्न सम्भव पनि हुँदैन। सबै वडामा सडक सुविधा पुर्‍याउन सकिएको छैन। एक किलोमिटर सडक बनाउन करोडौ खर्च गर्नुपर्ने बाध्यता छ। तापनि प्रयास गरीरहेका छौं। महाभारतका अनेक विषय राष्ट्रिय मुद्धा बन्न सकेको छैन। यस्तो अवस्थामा पनि महाभारतलाई चिनाउने र यहाँको समस्या बाहिर ल्याउने प्रयास थालेका छौं। सबैभन्दा महत्वपुर्ण कुरा महाभारत गाउँपालिकालाई चिनाउनु छ।

राष्ट्रिय प्राथमिकतामा यहाँको कुनै पनि योजना परेको थिएन। त्यो समस्या समाधान गर्न नितीगत व्यवस्थाको सुरुवात गरेका छौैं। ख्यातीप्राप्त राष्ट्रिय व्यक्तित्वलाई महाभारत ल्याएका छौं। विस्तारै त्यहाँका योजना राष्ट्रिय योजनासँग जोडिन थालेको छ। विद्युतको केन्द्रीय प्रशारण लाइन विस्तारका लागि १ अर्ब ५४ करोडको काम भइरहेको छ। गाउँपालिकालाई केन्द्रसम्म जोड्न केन्द्रीय सरकारले बजेट नहालेको अवस्थामा यो वर्ष प्रदेश सरकारले चार करोड दिएको छ।

गाउँपालिकामा शिक्षा र स्वास्थ्यको अवस्था कस्तो छ ?

शिक्षा र स्वास्थ्यको अवस्थामा सुधार भएको छ। शिक्षा र स्वास्थ्यलाई विशेष महत्व दिएर कामअघि बढाएका छौं। निर्वाचनपूर्व गाउँपालिकामा ५ वटा स्वास्थ्य संस्था रहेकामा अहिले प्रत्येक वडामा बर्थिक सेन्टर सेवासहित स्वास्थ्य संस्था स्थापना भएको छ। अहिले नौ वटा स्वास्थ्य संस्थाले स्थानीयलाई सेवा प्रदान गरीरहेको छ। उपचार नपाएर धेरै आमा र नवजात शिशुको हरेक वर्ष मृत्यु हुने गरेको थियो।

हामीले अध्यक्ष स्वास्थ्य कार्यक्रममार्फत गर्भवती महिलालाई स्वास्थ्य चौकीसम्म ल्याउन स्वास्थ्य स्वयमसेविका परिचालन गरी स्वास्थ्य केन्द्रमा ल्याउने व्यवस्था गरेका छौं। त्यसपछि मातृ तथा शिशु मृत्युदर शून्यमा झरेको छ। एक जना गर्भवतीलाई स्वास्थ्य संस्थामा ल्याउने स्वयमसेविकालाई प्रोत्साहन स्वरुप ५ सय रुपैयाँ उपलब्ध गराउन थालेका छौं। स्वास्थ्य संस्थामा ११ जना कर्मचारी रहेकामा दरबन्दीअनुसार सेवा प्रदान गरेका छौं।

दुर्गममा औषधीको समस्या ?

प्रत्येक नागरिकलाई स्वास्थ्यमा पँहुच पुर्‍याउन नेपाल सरकारले ३५ थरीका औषधी निःशुल्क प्रदान गरे पनि हामीले ६८ थरीका औषधी निःशुल्क प्रदान गर्दै आएका छौं। सामान्य रोगको उपचार गर्न शहर धाउनु पर्ने अवस्थाको अन्त्य भएको छ। पहिले नाममात्रैको बर्थिङ सेन्टर थियो। कर्मचारी बस्दैनथ्यो। तर अहिले बर्थिङ सेन्टरमा काम पनि त्यतिकै हुन थालेको छ।

महाभारत गाउँपालिकामा पर्यटन विकासको कुनै योजना ?

हामीसँग भर्जिन डेस्टिनेसन धेरै छ। पर्यटन सम्भावना बोकेका स्थान कति छन भन्ने हाम्रो गाउँपालिकाको नामबाटै थाहा हुन्छ। यहाँ कृषि, पशुपालन, पदयात्राका लागि सम्भावना धेरै छ। हामीसँग रैथाने बाली र बिउको भण्डार छ। काभ्रेमा रसायनिक मलको प्रयोग बिनै उत्पादन हुने भएकाले काभ्रेको डाँडापारिका अर्गानिक उत्पादनले राम्रो बजार पनि पाएको छ। त्यस्तै यहाँ धेरै हिम श्रृंखला, साँस्कृतिक र प्राकृतिक सम्पदा पनि त्यतिकै छन्। त्यसका लागि होमस्टे, होटल स्थापनाका लागि पहल थालेका छौं।

चुनावी प्रतिबद्धता कति पूरा भए ?

हामीले निर्वाचनका बेला घोषणापत्र सार्वजनिक गरेका थियौं। मैले भनेका सबै काम घोषणापत्रमा आधारित छन्। हामी जनतालाई झुक्याउने नभई उहाँहरुकै घर आँगनमा पुगेर जनताकै चाहनाअनुसार विकासको खाका तयार पारेका छांैं।

जनताले दिएको सुझावको आधारमा काम गर्ने गरेकाले अथाह माया र भरोसा पनि पाएका छौं। मेरो कार्यकालमा महाभारत गाउँपालिकालाई विभिन्न राष्ट्रिय योजनासँग जोड्ने छु।

गाउँपालिकामा कर्मचारी बस्न नमान्ने समस्या छ नी ?

हाम्रो गाउँपालिका विकटमा छ। सुगम गाउँपालिकामा त कर्मचारी जान मान्दैनन् भने विकट गाउँमा जान मान्ने कुरै भएन। तर पनि हामीले कर्मचारीलाई सेवा सुविधा प्रदान गरेर गाउँमा बस्ने व्यवस्था गरेका छौं। तै पनि भनेजस्तो कर्मचारी र दरबन्दी अनुसारको व्यवस्था हुन सकेको छैन। गाउँपालिकाले आन्तरिक स्रोतवाट कर्मचारीको व्यवस्था गरेको छ। विगतमा गाउँ विकास समिति भएको समयमा समेत सचिव गाउँमा कमै जान्थे। तर अहिले त्यो अवस्थाको अन्त्य गर्न सफल भएका छौं।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.