पाँच लाख घण्टा भजन
जनकपुरधाम : लोकबाजा ढोलक, झाइल, करताल, हारमुनियमको धुनले जानकी मन्दिर गुञ्जिरहेको छ। ‘सीता राम, सीता राम, सीता राम—जय सीता राम’ को आलाप जप्न साधुसन्त व्यस्त छन्।
५८ वर्षदेखि जानकी मन्दिरमा आजन्म अखण्ड श्री सीताराम महायज्ञमा भइरहेको सुन्दा अचम्म लाग्नसक्छ। विश्वभरका हिन्दूको आस्थाको केन्द्र हो, जानकी मन्दिर। ५८ वर्षमा कीर्तन मण्डलीले २१ हजार एक ७० दिनसम्म सीताराम भगवान्को जपिसकेका छन्। पाँच लाख ८ हजार ८० घण्टा अविधिसम्म महायज्ञ निरन्तर भइरहेको सकेको छ। जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवका अनुसार, २०१८ सालमा समाजिक व्यक्तिहरूको सहयोगमा मन्दिरका तत्कालीन महन्थ रामशरण दासको अगुवाई अखण्ड महायज्ञ सुरु भएको थियो।
कीर्तन गर्ने साधुसन्तको भोजन गाउँगाउँबाट मुठ्ठी चामल, दाल संकलन गरेर व्यवस्थापन गरिन्थ्यो। २०५३ सालमा रामतपेश्वर दास वैष्णव मन्दिरको महन्थ भए। त्यसपछि मन्दिरकै तर्फबाट कीर्तन मण्डलीको भोजन व्यवस्थापन गरे। ‘कलियुगमा कुनै ठूलो महायज्ञ हो भने त्यो श्री सीताराम नै हो’, उनले भने, ‘सीताराम नाम जप सुन्नाले समाजमा धार्मिक सहिष्णुता बढाउँछ। धर्मको रक्षासँगै कीर्तनले मानवको आत्मा शुद्धि हुन्छ। विभिन्न पाप, क्षयबाट मुक्ति पाउने धार्मिक विश्वाससहित अखण्ड महायज्ञको
वर्षौंअघि सुरुआत गरिएको थियो जुन अहिले पनि निरन्तर छ।’ सीतारामको सैन कक्षनजिकै कीर्तन हुन्छ। जहाँ सवा लाख शालिग्राम, ३० हजार शिवलिंग स्थापना गरिएको छ। हावाहुण्डरी आओस् वा महाभूकम्प नै किन नआओस्, आजन्म अखण्ड महायज्ञ रोकिएको छैन। श्री सीतराम नाम संकीर्तनमा राजरंकदेखि फकिर, साधुसन्तसम्म सहभागी भइरहेका छन्। यहाँ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशिष्ट व्यक्तित्व आएर रमाउने गर्दछन्। उनीहरूले महायज्ञ सञ्चालनमा तन, मन र धनले सहयोग गर्दै आएका छन्।
संकीर्तनले जानकी मन्दिरको गरिमालाई बढाएको मात्रै छैन, मन्दिरलाई भक्तीमय बनाइदिएको छ। लोक बाजागाजाको धुनमा भइरहेको महायज्ञले मिथिलाको पहिचान बचाएको छ। त्रेता युगमा राम र सीताकोे विवाह भएको सम्झनामा प्रत्येक वर्ष विवाह पञ्चमी भव्य रूपमा मनाइन्छ। राम र सीताको वैवाहिक सम्बन्धले नेपाल—भारतबीच सदियौंदेखि ‘रोटीबेटी’ को सम्बन्ध स्थापित छ।
हजारौं वर्षदेखि ज्ञान, दर्शन तथा अध्यात्मको केन्द्र रहेको जनकपुरधाम मैथिली सभ्यताको केन्द्रविन्दु पनि हो। यसको आफ्नै भाषा मैथिली र लिपी छ। मैथिला नारीले बनाउने मैथिल चित्रकलाका भने विश्वमै प्रख्यात छ।