आमाको खुसी

आमाको खुसी

मुर्रा भैंसीले पाडी पायो। घर मालिक खुसी भए। पाडीको नाम के राख्ने भनेर घरमा निकै चर्चा चल्यो। कसैले काली राख्ने भने। कसैले बेली राख्ने भने। कसैले खैरी राख्ने भने। कसैले सेती।

अन्ततः पाडीको नाम सेती राखियो। आफ्नो पहिलो सन्तान थियो। त्यसो हुनाले पनि मुर्राले औधी माया गर्थी। जिब्रोले हरदम चाटिरहन्थी। आफूतर्फ तान्दथी।

सेती जन्मँदा एकदम हृष्टपुष्ट र पोटिली थिई। दिन बित्दै जाँदा सोचेजस्तो ज्यान हुन सकेन। ऊ दुब्लाउँदै गई।

मुर्राको मनमा चिन्ता पर्न थाल्यो। एउटी आमा हुनाले ऊ पिरोलिन थाली। किन सेती दुब्लाई ?   मुर्रालाई उत्तर पाउन धेरैबेर लागेन। घाँस खान नसक्ने सेती पेटभरि दूध खान नपाएर दुब्लाएकी थिई। तैपनि मुर्रा भैंसी (आमा) ले सेतीलाई सोधी, ‘ आज मात्रै हो कि सधैं दूध अघाउञ्जेल खान पाउन्नस् , पेट त भोको जस्तो देख्छु।’

‘जहिले पनि यस्तै हो, एउटा थुन पनि पुरा चुस्न दिँदैनन् घर मालिकले।’ सेतीले गुनासो पोख्दै भनी, ‘मान्छेका छोराछोरीले आफ्नो आमाको दूध मजासँग पेटभरि खान पाउने, हाम्ले भने नपाउने। हाम्रो आधी पेट पारेर सबै दूध दोहेर लाने। किन हो आमा यस्तो अन्याय ? ’

‘यस्तै छ यहाँको चलन, यस्तै हो निर्दयी मानिसको चरित्र। भोलि तँ ठूली भएपछि आफंै बुभ्mने हुन्छेस् ’, भैंसीले सेतीलाई सम्झाउँदै भनी।

धेरै दिनदेखि सेतीको पेट अतृप्त थियो। पेट भोकले ख्याउँ ख्याउँ भएको थियो। तर के गर्नु ?    सेती सानी थिई। घाँस चपाउन सक्दैनथी। कुँडो पनि चपाएर निल्न जान्दैनथी। दूधको भर मात्र थियो। पेटभर खान नपाउँदा उसको पेट दापिएको थियो। बिचरा दुब्लाउँदै गएकी थिर्ई। भोकले अचाक्ली हँदा आमाको दूध खान तन्किन्थी। दाम्लोले बाँधेका कारण चुस्न असफल हुन्थी। बडो खिन्न भावमा मुख मिठ्याएर सेतीले भनी, ‘आमा कस्तो भोक लाग्यो। भोकले पेट बटार्‍यो, खप्नै सकिनँ।’

आमाले सेतीलाई प्रेमपूर्वक चाटी। मायाले मात्र पेट कसरी भरिन सक्थ्यो ! दूध चुस्न पाए पो। त्यसैले सेती आकुलव्याकुल भएकी थिई र आमालाई पीडा सुनाइरहेकी थिई।

गोठभित्र तीनवटा किला गाडिएका थियो। एउटा अलिकति माथि गाडिएको थियो। दुइै वटा तलपट्टि गाडिएको थिए। माथिपट्टिको किलामा सेती बाँधिएकी थिई। दुईवटा किलामा सेतीको आमालाई बाँधिएको थियो। दुईवटा किलामा भैंसीको गर्धन दुई तिरबाट बाँधिएको थियो। भैंसी (आमा) ले सेतीलाई छुन र चाटेर माया दर्शाउन सक्थी। तर आफ्नो दूध चुसाएर उसको भोक मेटाइदिन सक्दैनथी।

न त सेतीले कुनै तरहबाट आमाको दूध चुस्न सक्थी। जसरी सेती र उसकी आमाको दूध चुस्न सक्थी। जसरी सेती र उसकी आमालाई बाँधिएको थियो। त्यो घरधनीको जुक्ति र बठ्याईं थियो।

‘आमा भोक लाग्यो’, बिचरा सेतीले फेरि भनी। केटाकेटी उमेरकी उसले आमाको बाध्यता बुझ्न सक्दैनथी। छोरीलाई (सेती) लाई सान्त्वना दिन शब्द पनि उसँग थिएनन्।

‘मैले बुझेकी छु। तर मैले के गरांै त नि नानी ! देखिनस् कति बलियो दाम्लाले बाँधेका छन् मलाई’, आमाले बाध्यता दर्शाउँदै भनी।

‘तिमी आमा हौ। तिमीले त केही न केही उपाय निकाल्न सक्छेउ जस्तो लाग्छ। निकाल न केही न केही उपाय मेरो पेट भर्ने। तिमीले पनि केही गरिनांै भने मेरा लागि अरू कसले के गर्छ।’ सेतीले अलि लाडिएर भनी, ‘तिमी मेरी मात्र आमा हौ। तिम्रो दूध त मैले पो खान पाउनु पर्छ।’

‘मैले खान नदिएको हो त नि। त्यसो भए आँ न त तैले चुुसेर खाँ।’ आमाले अलि झिजो मानेर भनी

‘बाँधेको देखिनौं’, सेतीले पनि ओठे जवाफ लगाउँदै भनी।

छोरीका कुराले आमाको रिस चुलियो। उसले बिर्सिछ कि सेती भोकले आजित भएकी थिई। त्यसो हुनाले उसको जवाफ रिस मिश्रत थियो।

‘मलाई पनि दाम्लाले बाँधेको देखिनस् त तेरा आँखाले’ आमाले पनि रिसाउँदै भनी।

त्यसपछि सेती बोल्न छाडी।

आमाले एकछिन पछि सोची, ‘बिचरा सेती सानी छ। मानिसको बच्चा भए कति पुलपुल्याएर राख्थे।

कति जतनसँग पाल्थे। समयसमयमा दूध चुस्न पाउथी। पशु भएर यस्तो हालत भोग्न परेको छ। सानी हुनाले ठान्दी हो, आमा संसारकी ठूली प्राणी हुन्, उनले जे गर्न पनि सक्छिन्। जसरी पनि दूध चुसाएर पेटभरि दिन सक्छिन्। सानो छँदा म पनि त्यस्तै सोच्थेँ।’

तब आमाले उपाय रच्न थाली। के गरेर सेतीलाई दूध खान दिने होला र उसको भोको पेट भरिदिने होला। धेरै बेरसम्म सोची।

अनायास उसको मनमा एउटा उपाय फुर्‍यो। सेतीलाई बाँधेको दाम्लो बाबियाको थियो। त्यसलाई चपाएर चुडाल्न गाह्रो थिएन। आमाले अलि अगाडि सरेर दाम्लो चपाउन थाली। क्षणभर दाम्लो चुँडियो। सेती बन्धन मुक्त भई र दौडेर आमाको टाङमुनि मुन्टो छिराई। आमाको मनमनै प्रशंसा गर्दै दूध चुस्न थाली।

सेतीलाई त्यसरी दूध चुसाउन पाउँदा आमा औंधी खुसी भई। ममताले आमाको आत्मा रसायो। तर पनि कता कता आमाको मनमा चिसो पस्यो, ‘अहिले घर मालिकले देखेर लोरै लौरोले चुट्ने पो हो कि, नभन्दै मालिकले भकारा फाल्न आउँदा देख्यो।

त्यतिन्जेल सेती अघाइसकेकी थिई। मालिकले पाडी (सेती) लाई दूध चुस्दाचुस्दै छुटायो। गाली गर्दै दाम्लोले बाँध्न खोज्यो। तब उसले दाम्लो चुडिएको थाहा पायो।

तब मालिकले मोटो लौराले भैंसीलाई चुट्यो। लगातार तीन चार चोटीसम्म चुटिरह्यो। भैंसी (आमा) भने सेतीले दूध खाएर अघाएकोमा अति खुसी थिई। त्यो खुसीका अगाडि घर मालिकको चुटाइको चोट केही जस्तो लागेन। आमालाई कत्ति पनि दुखेको महसुस भएन।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.