घोप्टे युगको डिजिटल संस्कृति
‘चाडपर्वको बेला माइत गएर यसो दुःखसुखका कुरा गरौं, मन हलुंगो पारौं भन्नु पनि बेकारै रै’छ।’ ‘किन ? के भयो ? तपाईं त माइतबाट आउँदै छु भन्नुहुन्थ्यो....!’ ‘त्यही त बहिनी, अचेल पहिलाजस्तो कहाँ छ र ? आफन्त भेट भएपछि कुराकानीमा रमाउने ? भेट्नासाथ यसो सञ्चो–बिसञ्चो सोध्ने अनि सबै आआफ्नै मोबाइलमा घोप्टिने ! आमाले बनाएको खाजा खाएँ अनि हिँडिहालें म त। के बसिरहनु सबै लाटालाटीजस्ता !’ ‘त्यही त भन्या ! के भएको होला अचेल यस्तो ? मलाई पनि दिक्क लाग्छ।
दिनभरि काम गरेर घर पुग्छु, बाउ एउटा कुनामा र छोराछोरी अर्को कुनामा त्यसरी नै घोप्टिएका हुन्छन्। कोही आएको वास्ता न गएको वास्ता। आफ्नो काम सघाइदेलान् भन्नु त परै जाओस्, खाना पस्केर दसफेर बोलाउँदा पनि सुन्दैनन्।’ मेरो नजिकैको सिटमा बसेर यात्रा गरिरहेका महिलाको उक्त संवाद मलाई रमाइलो लागिरहेको थियो। किनकि, मेरो छेउमा बसेकी एउटी नानी निकैबेरदेखि मोबाइलमा मग्न थिइन्। सहचालकले भाडा माग्दै पटकपटक बोलाउँदा पनि प्रतिक्रिया नआएपछि ऊ झोक्किन खोजेको थियो र मैले उनलाई झक्झक्याएँ। त्यसपछि बल्ल उनले भाडा झिकेकी थिइन्।
अझ रमाइलो कुरा त, पछाडि बसेका एकजना युवा त त्यही घोप्ट्याइमा यसरी डुबेका रहेछन् कि उनलाई आफ्नो गन्तव्य आएको पत्तै भएनछ। अर्को स्टपमा यात्रु ओराल्न गाडी रोक्दै सहचालक कराउँदा पो बल्ल उनी झस्केछन् अनि आफ्नो स्टपमा गाडी किन नरोकेको भन्दै सहचालकलाई थर्काउन थाले। झण्डै हात हालाहाल भएको ! अन्य यात्रुले गल्ती उनैको हो भन्दै सम्झाएपछि बल्ल मुर्मुरिँदै बाटो लागे।
गाडीको त्यो रमाइलो यात्रा सकेर कामविशेषले कुनै सरकारी कार्यालयको फाँटमा के पुगेकी थिएँ झनै रमाइलो भयो। सेवाप्रदायी हातको मोबाइलमा घोप्टिएका थिए भने दुई सर्वसाधारण सेवाग्राही उभिएका उभियै ! काउन्टरमा पुगेर आफ्नो काम अघि सार्दा यस्तो जबाफ आयो, ‘एकछिन पख्नुस् न।’ ती उभिइरहेकामध्ये एकजनाले भने, ‘हाम्लाई पनि त्यसै भनेर कुराएका हुन्, खै के काम गरिरा’छन् कुन्नि ! टाढा जानु छ अबेर भइसक्यो। मैले धैर्य गर्न सकिनँ र भनें, ‘यहाँ सेवाग्राहीले प्राथमिकता पाउनुपर्छ, तपाईंको फेसबुकले होइन।’ मेरो कडा बोली सुनेर उनीहरू आँखा तर्दै कामतिर लागे।
यस्तै कटु अनुभवका साथ आफ्नो काम सकेर फर्कंर्दै गर्दा कुनै साहित्यिक कार्यक्रमका वक्ता एकजना गुरुले भन्नुभएको सम्झें, ‘अहिले हामी पाँचौं युग अर्थात् घोप्टे युगमा छौं।’ उहाँले भन्नुभएको थियो– धार्मिक मान्यताअनुसार सत्य, त्रेता, द्वापर र कलि गरेर चार युग भए पनि अब हामीले अर्को एउटा युग पनि समावेश गरेर पाँच युग मान्नुपर्ने हुन्छ। अहिले हामीले भोगिरहेको वैज्ञानिक युग नै घोप्टे युग हो रे ! जता गयो मानिसहरू मोबाइलमा घोप्टिएर मग्न भइरहने हुनाले यो पछिल्लो युगको नाम घोप्टे युग राखिएको हो भन्दै उहाँले निकै हँसाउनुभएको थियो।
व्यावहारिकता र हार्दिकतालाई एकातिर थन्क्याएर ‘आफ्नो’ र ‘पराया’ को मापक पनि यही सामाजिक सञ्जाललाई बनाउने परिपाटी बसिसकेको देखिन्छ।
यथार्थमा उहाँको त्यो हँस्यौली निकै मार्मिक व्यंग्य थियो। किनभने, आज जेसुकै भौगोलिक, सामाजिक÷सांस्कृतिक परिवेशमा पनि मानिसहरू यस प्रकारका डिजिटल संस्कृतिमा आफूलाई समायोजित गरिरहेका हुन्छन्। त्यसैले उनीहरूलाई अब नाता–सम्बन्ध, इस्टमित्र कसैको आवश्यकता पर्दैन। मोबाइल हातमा लियो अनि यन्त्रवत् औंलाहरू चलायो, समय बितेको पत्तै हुँदैन। न भोक, न तिर्खा न छटपटी ! परम आनन्दको अनुभूति ! न कसैलाई काम पाइनँ भन्ने पीर, न काम खोज्ने टण्टा ! सामाजिक सञ्जालका भित्ताहरूमा ‘पोस्ट्’ गर्नु, त्यसपछि आएका ‘कमेन्ट’ हरू हेर्नु, आवश्यक परे पुनः दोहोरी गर्नु। फेरि साथीहरूका ‘पोस्ट’ मा पनि ‘कमेन्ट’ वा ‘लाइक’ त गर्नैपर्छ अन्यथा ‘अनफ्रेन्ड’ भइएला भन्ने डर ! अनि त समय बिताउन के गाह्रो ? हाम्रोजस्तो बेरोजारले भरिएको देशमा यस प्रकारको डिजिटल संस्कृति स्थापित हुनु पनि ठूलै उपलब्धि हो !
डिजिटल संस्कृतिको सर्वाधिक लोकप्रिय पाटो हो फेसबुक। साना स्कुले विद्यार्थीदेखि पाको उमेरका अनि समाजको विविध क्षेत्रमा स्थापित व्यक्तित्वदेखि राजनीतिज्ञहरूसम्म सबैको मनोरञ्जन तथा सूचना प्रवाहको सर्वसुलभ माध्यम नै बनेको छ आज फेसबुक। त्यसैगरी इन्स्टाग्राम र ट्वीटर पनि उत्तिकै लोकप्रिय बनेको देखिन्छ। भौगोलिक रूपमा टाढा भएकाहरूलाई नजिक बनाउने अनि अपरिचितहरूसँग परिचय गर्ने, मित्रता बढाउने, सूचना सम्प्रेषणको सरल र सहज माध्यम हुनाले डिजिटल संस्कृतिको आफ्नै महत्त्व छ।
कुनै पनि कुराको सकारात्मकता र नकारात्मकता त्यसको प्रयोगमा निर्भर हुन्छ। त्यसैले हामीकहाँ अहिले गलत प्रयोगका कारण यो आलोचित भइरहेको छ। यसले एकातिर मानिसलाई असामाजिक र एकल बनाइरहेको छ भने अर्कोतिर प्रयोगकर्ताले यसलाई रिस–आवेग पोख्ने ठाउँ र मन नपरेकाहरूलाई गाली–गलौज तथा बदनाम गर्ने सरल माध्यमका रूपमा लिइरहेको देखिन्छ।
आजका केटाकेटी परिवारमा घुलमिल हुन र आफ्ना अग्रजहरूसँग विचार–विमर्श गर्न चाहँदैनन्। किनकि, उनीहरूका हरेक जिज्ञासाको समाधान ‘गुगल’ सँग छ। मनोरञ्जनका लागि उनीहरूले हजुरआमाका कथा किन सुन्ने ? ‘युट्युब’ मा सबै उपलब्ध हुन्छ। खेल्नका लागि साथी किन चाहियो ? मोबाइलमा नै चाहेजति खेल्न सकिन्छ। गृहकार्य गर्न कुनै सहयोगीको आवश्यकता पनि रहेन अब। इन्टरनेटका माध्यमबाट उनीहरू स्वयम् समाधान खोज्न सक्छन्। यसले केही हदसम्म अभिभावकलाई पनि सजिलो बनाएको छ।
अघिल्लो पुस्ताको पढाइ किताब र विद्यालयमा सीमित थियो भने अहिलेको पुस्ता ज्ञानको अथाह सागर हातमा लिएर घुमिरहेको छ। क्षणभरमै ऊ संसारभरिका सूचना प्राप्त गर्न सक्छ। किताब–कापी–कलम केही चाहिँदैन उसलाई। हत्केलाभरिको एउटा स्क्रिनमा आफूले खोजेको सबै कुरा पाउँछ अहिलेको भाग्यमानी पुस्ताले। यति धेरै फाइदा भएर पनि डिजिटल संस्कृतिभित्र अनेक नकारात्मक पक्ष पनि छन्। यो यस्तो विशाल पोखरी हो, जसमा राम्रा–नराम्रा, अमृतमयी–विषाक्त सबै तत्त्वको उपस्थिति छ। यसबाट जसले जे चाह्यो त्यही ग्रहण गर्न सक्छ। यही छनोट नै आज सबैभन्दा ठूलो चिन्ताको विषय बनिरहेको छ।
मानिसको स्वभावै हो नराम्रो कुरातिर छिटै आकर्षित हुनु। त्यसैले विशेषगरी किशोर पुस्ता इन्टरनेटका नकारात्मक विषयप्रति आकर्षित हुने गरेको देखिन्छ। हरेक अभिभावकसँग उनीहरूका सन्तानले हेर्ने, चलाउने सामग्रीबारे चियो गर्ने समय हुँदैन। त्यसैले खराब लतका कारण यस्तो पुस्तामा अनेक समस्या निम्तिएको पाइन्छ। खेल तथा अन्य मनोरञ्जनमा बढी समय दिनाले पढाइ बिग्रनु, किशोरीहरू यौन हिंसाको सिकार हुनु, बलबालिकालाई मस्तिष्कसम्बन्धी समस्या देखिनु र एकलकाँटे बन्नु डिजिटल संस्कृतिका केही नकारात्मक पक्ष हुन्।
डिजिटल संस्कृतिभित्र नै आज हाम्रो परम्परा र संस्कृति समाहित हुनुका साथै माया–प्रेम, श्रद्धा–सम्मान, आवेग–संवेगको प्रस्तुति र त्यसको मापन पनि हुने गर्छ। कसले कसलाई कति माया र सम्मान गर्छ भन्ने कुराको प्रमाण सामाजिक सञ्जालमा गरिएका पोस्ट र कमेन्टहरूले दिने गर्छ, भलै व्यवहार त्यसको ठीक विपरीत किन नहोस् ! कसले आफ्ना आमा–बाबुलाई कति माया र सम्मानपूर्वक राखेको छ भन्ने कुराको साक्षी पनि यही नै हुने गरेको छ। मातातीर्थ औंसी र कुशेऔँसीका दिन आमाबुवाका तस्बिर सजाएर काव्यात्मक भाषामा पोस्ट् गरिने भावनाले अचेल निकै प्रतिस्पर्धा गर्ने गर्छन्, भलै व्यवहारमा उनीहरूलाई आमाबुवाप्रतिको दायित्वबोधसम्म पनि नहोस् ! त्यसैले त अचेल सुनिँदै छ, ‘सबैभन्दा सजिलो माया त फेसबुकमा पो हुँदो रहेछ।’
यति मात्र कहाँ हो र ? व्यावहारिकता र हार्दिकतालाई एकातिर थन्क्याएर ‘आफ्नो’ र ‘पराया’ को मापक पनि यही सामाजिक सञ्जाललाई बनाउने परिपाटी बसिसकेको देखिन्छ। त्यसैले त आजका हामी हरपल मोबाइलमा निमग्न हुन्छौं। गर्धनको हाडै खिइने गरी यसैमा घोप्टिएर मनोरञ्जन गर्छौं, आफन्त खोज्छौं अनि शत्रुको पहिचान पनि गर्छौं। किशोर–किशोरीहरू प्रेम प्रस्तावदेखि ‘डेटिङ’ का योजना बनाउने अनि विश्वासघात भएपछि प्रतिशोध लिने तथा आत्महत्या गर्ने तरिका खोज्नसम्म यसैको भर पर्छन्। धन्य रहेछ, यो घोप्टे युगको डिजिटल संस्कृति !