बाजुराका स्याउले बल्ल बजार पायो
बाजुरा : बाजुराका स्याउले अब धनगढी र काठमाडौंका बजार पाउने भएका छन्। स्याउमा अनुदान दिएर धनगढी र काठमाडौं ढुवानी गर्न लागिएको हो। स्याउ ढुवानी गर्न खच्चर प्रयोग गर्न थालिएको छ। बाजुराको उत्तरी क्षेत्रमा स्याउ मनग्गे उत्पादन भएको छ।
बारीमै कुहिने अवस्था आएपछि कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिएर स्याउ मार्तडी लगेको छ। फलेका स्याउ बारीमै कुहिने अवस्थासम्बन्धी समाचार अन्नपूर्णले प्रकाशित गरेपछि कृषि ज्ञान केन्द्रले ढुवानी अनुदान दिएर स्याउ मार्तडी ढुवानी सुरु गरेको हो। ज्ञान केन्द्रले ६ सय क्विन्टल स्याउ ढुवानीका लागि अनुदान दिएको छ। सदरमुकामदेखि स्याउ फलेको क्षेत्र कोल्टी जाने सडक अवरुद्ध भएपछि स्याउ बिक्रीबारे अन्योल थियो।
पहिलोचरणमा स्वामीकार्तिक खापर गाउँपालिकाको जुकोट र साप्पाटा क्षेत्रको स्याउ खच्चरमा पिलुचौरसम्म ढुवानी गरी त्यहाँबाट कालिकोट-सुर्खेत हुँदै नेपालगन्ज, धनगढी तथा काठमाडौं पुर्याइने कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख गोविन्द सिजापतिले जानकारी दिए।
ढुवानी अनुदानका लागि छुट्ट्याएको रकम अपुग र ढुवानी कष्टकर हुने भएकाले अन्य ठाउँको स्याउसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने उनले बताए।‘काठमाडौंका व्यापारीले एक सय क्विन्टल अर्डर गरेका छन्। धनगढी ६० क्विन्टल पठाइएको छ’, सिजापतिले भने।
ज्ञान केन्द्रको प्राविधिक टोली बारीमै गएर स्याउलाई तीन ग्रेड गरी ढुवानी गरिरहेको छ। स्याउ ढुवानीको जिम्मा चारवटा सहकारीलाई दिइएको छ। स्वामीकार्तिक खापर गाउँपालिकामा ‘ए’ ग्रेडको प्रतिकिलो २५ रुपैयाँ, ‘बी’ ग्रेडको २० र ‘सी’ ग्रेडको १५ रुपैयाँ प्रतिकिलो खरिद गरिएको छ। पाण्डुसेनबाट ‘ए’ ग्रेडको प्रतिकिलो ५५ रुपैयाँ, ‘बी’ ग्रेडको ५० र ‘सी’ ग्रेडको ४५ रुपैयाँमा खरिद गरी ढुवानी गर्न थालिएको छ। पाण्डुसेन, सदरमुकाम मार्तडीबाट करिब ३१ किलोमिटर टाढा छ।
जुकोट र साप्पाटा क्षेत्रको स्याउ खच्चरमा पिलुचौर ढुवानी गरी त्यहाँबाट कालिकोट-सुर्खेत हुँदै नेपालगन्ज, धनगढी र काठमाडौं पुर्याइने।
स्याउ बिक्न थालेपछि किसान खुसी भएका छन्। ‘वर्षौंदेखि स्याउ फलाउँथ्यांै। ढुवानी नहुँदा कुहिएर नाश हुन्थ्यो। यसपटक कृषि ज्ञान केन्द्रले ढुवानी अनुदानमार्फत ढुवानी गरिदिने भनेपछि खुसी लागेको छ’, स्वामीकार्तिक खापर गाउँपालिका-३ जुकोटका किसान महेन्द्रबहादुर शाहीले भने।
गाउँपालिकाको जुकोटमा मात्र दुई सयभन्दा बढी परिवारको स्याउ बारी छ। ‘यस वर्ष किसानको मुहारमा खुसी देख्यौं’, कृषि ज्ञानकेन्द्र बाजुराका कृषिप्रसार अधिकृत मीनप्रसाद जैशीले भने।
पाण्डुसैन, कोल्टी, जुकोट, जगन्नाथ, कोटिलालगायत स्थानमा स्याउ राम्रो फलेको छ।
‘स्याउ फलेअनुसार बजार पाएको भए यो क्षेत्रमा भोकमरी हुने थिएन’, जुकोटका किसान उत्तम शाहीले भने, ‘हाँगा भाँच्चिने गरी फल लागेको छ।’
कृषि ज्ञान केन्द्र बाजुराका अनुसार यहाँका किसानले दुई सय ३० हेक्टर क्षेत्रफलमा स्याउ लगाएका छन्। यस पटक जिल्लामा एक हजार ५० टन स्याउ उत्पादन भएको कृषि प्रसार अधिकृत जैशीले बताए।
यो क्षेत्र खाद्यान्न संकट हुने क्षेत्र हो। वर्षभर काम गरेर खेतबाट तीन महिना खान नपुग्ने ठाउँमा स्याउको बजारीकरणमा ध्यान दिए, खाद्य संस्थानको चामलको भर पर्नु नपर्ने किसानले बताएका छन्। स्याउ फल्ने सिजनमै सडक पनि अवरुद्ध हुने भएकाले किसानले मेहनतअनुसार मूल्य पाउन सकेका छैनन्।