बैतडीमा कांग्रेसको विरोध सभा
बैतडी : कांग्रेसले बैतडीमा मंगलबार विरोध सभा गरेको छ। दोश्रो चरणको राष्ट्रिय जागरण अभियान समापन समारोहलाई कांग्रेसले विरोध सभामा परिणत गरेको हो।
पार्टी कार्यालय गोठलापानीबाट जुलुस निकालेर गढी हुँदै शाहीलेकको लोकतान्त्रिक चोकमा कोणसभाको आयोजना गरेको हो। जुलुसमा सहभागीले ‘बढ्दो महंगी भ्रष्टाचार नियन्त्रण गर, अलोकतान्त्रिक विधेयक खारेज गर, हत्या हिंसा बलत्कार ः नेकपा सरकारको उपहार’ जस्ता नारा लगाएका थिए।
कोणसभालाई सम्बोधन गर्दै पूर्ववाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले वर्तमान सरकार अलोकतान्त्रिक हुँदै गएको आरोप लगाए। केन्द्रीय प्रतिनिधि रघुवर भट्टले सरकारले लोकतन्त्र मास्न मिडिया काउन्सिल विधेयक ल्याएको आरोप लगाए।
त्यस्तै कार्यक्रममा केन्द्रीय प्रतिनिधि पुष्प शाहले नेपाली कांग्रेसले लोकतन्त्रको रक्षाका लागि जस्तोसुकै कदम पनि चाल्ने चेतावनी दिए।