कांग्रेसको दोस्रो जागरण अभियान : कहाँ कसरी सकियो?
कांग्रेले भदौ २४ बाट सुरु गरेको दोस्रो चरणको जागरण अभियान मंगलबार समापन भएको छ । ७७ जिल्लामा मंगलबार कार्यक्रम गर्दै कांग्रेसले अभियानको समापन गरेको हो । कांग्रेसले हरेक क्षेत्रमा केन्द्रीय प्रतिनिधि खटाएको थियो।
परासीमा जागरण समापनमै गुटबन्दी
कांग्रेसले संचालन गरेको राष्ट्रिय जागरण अभियान परासीमा पनि सकिएको छ। पश्चिम नवलपरासीमा भएको समापन कार्यक्रममा भने कांग्रेस जिल्ला स्तरका नेताबीचको गुटबन्दी देखियो।
यहाँ आयोजित कार्यक्रममा एक गुटका नेताहरु सहभागी भएनन्। कांग्रेस जिल्लास्तरमा संविधानसभा सदस्यद्धय विक्रम खनाल, देवकरण जयसवाल र केन्द्रीय सदस्य एंव प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कँडेलको दुई गुट छ। बीपी स्मृति दिवस र कांग्रेसले आयोजना गर्ने विभिन्न जिल्लास्तरिय कार्यक्रममा दुई गुटले छुट्टा छुट्टै कार्यक्रम गर्दै आएका थिए।
नजागरण अभियानको समापन कार्यक्रममा भने कार्यकर्ताहरुले गुटको असर नदेखिने विश्वास लिएका थिए। तर, जिल्ला समितिले सदरमुकाम परासीमा आयोजना गरेको जुलुस प्रदर्शन कार्यक्रममा पूर्वगृह राज्यमन्त्रीसमेत रहेका कँडेल पक्षधर कार्यकर्ताहरु सहभागी नभएको नेताहरुले बताएका छन्। कँडेलले आफ्ना पक्षधर कार्यकर्तालाई कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको अर्को गुटका नेताको आरोप छ। जिल्लामा देखिएका दुई गुट भने केन्द्रमा एउटै गुटका मानिन्छन्। दुवै गुट शेरबहादुर देउवा पक्षधर हुन्।
कालिकोटमा राष्ट्रपतिको विरोध
नेपाली कांग्रेस कालिकोटले राष्ट्रपतिको अभिव्यक्तिप्रति आपत्ति जनाएको छ। जागरण अभियानको समापन कार्यक्रममा राष्ट्रपति भण्डारीको विरोध गरिएको हो।
कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाको बोली नबुझिएको भनि अपमान गरेका भन्दै राष्ट्रपति भण्डारीको अभिव्यक्ति विरुद्ध यहाँ नाराबाजी समेत भए। प्रजातन्त्र प्राप्तिको आन्दोलनमा राणाहरुको यातनाबाट देउवाले प्रष्ट बोली गुमाउनु परेको भन्दै उनको अपमान गर्ने कुनै राष्ट्रपतिलाई कुनै अधिकार नभएको कांग्रेका नेता कार्यकर्ताहरुले बनाए।
कालिकोटका ९ वटै स्थानीय तहबाट आएका कांग्रेस नेता तथा कार्यकर्ताहरुले जिल्ला सदरमुकाम मान्म बजारको प्रतिमा चौकदेखि जिरोपोइन्टसम्म नाराबाजी सहितको विरोध र्यालीका साथै जिल्ला समन्वय समितिको खुलामञ्चमा विरोध सभा गरेको छ।
विरोध सभामा नेपाली कांग्रेसका केन्द्रीय प्रतिनिधि तिलकबहादुर मल्ल, नेपाली कांग्रेस कालिकोटका उपसभापति तथा क्षेत्र नं. १ का पार्टी सभापति शंकरप्रसाद उपाध्याय, नेपाली कांग्रेस कालिकोट-२ का पार्टी सभापति दमनबहादुर शाही, कांग्रेस नेता मिनबहादुर बोगटी, तारा शाह, शुशिला शाही लगायतका वक्ताहरुले वर्तमान अधिनायकबादी सरकारविरुद्ध कांग्रेसले फेरि एक पटक आन्दोलन गर्नुपर्ने अवस्था आएको बताए।
धरानबाट विश्वप्रकाशले के भने?
धरान पुगेका कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे सशक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन्। कांग्रेस जागरणसभा समापन कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन्। उनले ओली प्रधानमन्त्री भएपछि भ्रष्टचार बढेको र सरकारका हरेक निकायमा राजनीति हस्तक्षेप बढेको भन्दै आरोप लगाए।
'सरकारका हरेक क्रियाकलाप अमर्यादित, असंभव र आर्थिक अनियमितताका घटनामा मात्र केन्द्रित भएको भन्द्रै उनले भने,' आन्दोलनबाटै सरकारलाई ठेगाना लगाउँछौं। सदन र सडकमा कांग्रेस छ भनेर हेक्का राख्न नबिर्सनू।'
प्रवक्ता शर्माले भूमिगत आन्दोलन गरिरहेको नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको सरकारलाई तत्काल वार्तामा बोलाएर समस्या समाधान गर्न समेत आग्रह गरेका छन्। उनले सबै कम्युनिस्टको एकीकरण अभियान सुरु गरेका प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डसँग विप्लवसँग वार्ता गर्न ढिला नगर्न आग्रह गरेका छन्।
सुनसरीको धरानमा मंगलबार जागरणसभा समापन कार्यक्रममा बोल्दै शर्माले विप्लवको चन्दा आतंक र बम विस्फोटका घटना गलत भएको दावी गरे। उनले विप्लवलाई वार्ताका लागि तयारी हुन र सरकारलाई वार्ताको वातावरण बनाउन समेत आग्रह गरे। शर्माले सिके राउतलाई समेत शान्ति प्रक्रियामा ल्याउन सफल भएका प्रधानमन्त्री ओली र प्रचण्ड विप्लवसँग वार्ता गर्न असफल भएको आरोप लगाए।
पाल्पामा सरकारको कार्यशैलीप्रति प्रश्न
कांग्रेस पाल्पाले पाल्पामा सरकारको कार्यशैलीप्रति प्रश्न उठाएको छ। सदरमुकाम तानसेनमा कांग्रेसद्वारा आयोजित दास्रो चरणको जागरण अभियान समापन कार्यक्रममा वर्तमान सरकारको कार्यशैलीप्रति विरोध भएको हो।
विरोध सभालाई सम्वोधन गर्दै जागरण अभियानाका केन्द्रीय प्रतिनिधी काजीमान श्रेष्ठले वर्तमान सरकारप्रति जनताको अभिमत बुझ्न र वर्तमान दुई तिहाई सरकारको कार्यशैलीको विरोधमा कार्यकर्ताहरुलाई परिचालन गर्न जागरण अभियान गरिएको बताए।
वर्तमान दुई तिहाईको कम्युनिष्ट सरकारले जनतालाई राहतभन्दा दुख बढी दिएको, हत्या हिंसा बलात्कारका घटनाहरु बढ्दै गएको, महङ्गी, भ्रष्टाचार, कमिसन काण्ड बढ्दै गएको, शान्ति र न्याय शुसासन हराउँदै गएकोले कांग्रेस बाध्य भएर सरकार विरुद्ध आन्दोलनको तयारीमा जुटेको केन्द्रीय प्रतिनिधी श्रेष्ठले बताए।
विरोधसभामा पाल्पा पुर्वी क्षेत्रका प्रतिनिधि दोवाटे विक, पाल्पा पश्चिम क्षेत्रका प्रतिनिधि विष्णु पोखरेल, नेपाली कांग्रेस जिल्ला सभापति वीरबहादुर राना, नेपाली कांग्रेसकी कानुनी सल्लाहकार लालकुमारी राना, नेपाली कांग्रेसका जिल्ला सचिव अजयमान कर्माचार्यको उपस्थिति थियो। उनीहरूले यो सरकार बनेदेखि देशमा शान्ति अमन चयन, न्याय हराउँदै गएको, अख्तियार न्यायलय जस्ता संस्थाहररूमा कार्यकर्ता भर्ती गरेर संस्थालाई सरकार मुखी बनाएको, दुई तिहाईको नाममा देशमा लुटतन्त्र संचालन भएको आरोप लगाए।
ताप्लेजुङबाट सरकारलाई कांग्रेसको चेतावनी
कांग्रेस ताप्लेजुङले भ्रष्टाचार, मुल्यवृद्धिविरुद्ध खबरदारी सभा गरेको छ। सभामा मंगलबार कांग्रेस नेताहरुले वर्तमान सरकार भ्रष्टाचारलाईं संस्थागत गर्न उद्दत रहेको भन्दै आरोप लगाए।
सदरमुकाम फुङलिङमा दोस्रो राष्ट्रिय जागरण अभियानको समीक्षा सभा र र्यालीको आयोजना गरेको छ। कांग्रेस जिल्ला सभापति लिलादेवि बोखिमले स्थानीय सरकारले लगाएको कर घटाउन माग गरिन्। नेकपा सरकारले केन्द्रदेखि स्थानीय तहसम्मै ढाड सेक्नेगरी कर लगाएको भन्दै उनले यसलाई नसच्याए कडा आन्दोलन गर्ने चेतावनी दिइन्।
बैतडीको नारा : 'हत्या, हिंसा, बलत्कार नेकपा सरकारको उपहार’
कांग्रेसले बैतडीमा मंगलबार विरोध सभा गरेको छ। दोश्रो चरणको राष्ट्रिय जागरण अभियान समापन समारोहलाई कांग्रेसले विरोध सभामा परिणत गरेको हो।
पार्टी कार्यालय गोठलापानीबाट जुलुस निकालेर गढी हुँदै शाहीलेकको लोकतान्त्रिक चोकमा कोणसभाको आयोजना गरेको हो। जुलुसमा सहभागीले ‘बढ्दो महंगी भ्रष्टाचार नियन्त्रण गर, अलोकतान्त्रिक विधेयक खारेज गर, हत्या हिंसा बलत्कार नेकपा सरकारको उपहार’ जस्ता नारा लगाएका थिए।
कोणसभालाई सम्बोधन गर्दै पूर्ववाणिज्य राज्यमन्त्री नरबहादुर चन्दले वर्तमान सरकार अलोकतान्त्रिक हुँदै गएको आरोप लगाए। केन्द्रीय प्रतिनिधि रघुवर भट्टले सरकारले लोकतन्त्र मास्न मिडिया काउन्सिल विधेयक ल्याएको आरोप लगाए। त्यस्तै कार्यक्रममा केन्द्रीय प्रतिनिधि पुष्प शाहले नेपाली कांग्रेसले लोकतन्त्रको रक्षाका लागि जस्तोसुकै कदम पनि चाल्ने चेतावनी दिए।
काभ्रेमा पनि बढेको करकै कुरा
कांग्रेस काभ्रेले राष्ट्रिय जागरण अभियान सम्पन्न गरेको छ। जागरण अभियानको अन्तिम दिन मंगलबार जिल्लामा पनि विरोध कार्यक्रम सहित जगरण कार्यक्रम काभ्रेको बनेपामा गरिएको हो।
कांग्रेस जिल्ला समितिको आयोजनामा भएको उक्त कार्यक्रममा जिल्ला सभापति मधु प्रसाद आचार्य, केन्द्रीय प्रतिनिधि बिनोद गुरुङ, केशब चौलगाई र रत्न कार्कीले विरोध कार्यक्रममा सम्बोधन गरिएको कांग्रेस पार्टी जिल्ला सचिव दिनेश लामाले बताए।
जागरण अभियान काभ्रेको सबै वडागत तहहरुमा समेत सम्पन्न गरेको जिल्ला सचिब लामाले जानकारी दिए। अहिले सरकारको विरोधमा भएको जागरण अभियानमा महङगीं नियन्त्रण गर्न नसकेको कर बृद्धि हत्या बलत्कारको घटनाहरुमा सरकारले नै चासो नलिएको कारणले कांग्रेस पार्टीले गाउँगाउँमा र जिल्लाको सबै १ सय ३५ वडाहरुमा सरकारको बिरोधमा जागरण कार्यक्रम संचालन गरी मंगलबार जिल्लास्तरको कार्यक्रम सम्पन्न गरिएको बताए।
भैरहवामा पनि विरोध र्याली
भैरहवा सरकार विरुद्ध रुपन्देही कांग्रेसले भैरहवामा विरोध प्रर्दशन गरेको छ। दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको अन्तिम दिन रुपन्देही कांग्रेसले भ्रष्टाचार, मूल्यवृद्धि, महिला हिंसा, कर वृद्धि, हत्या, बलात्कार, संविधानको भावना प्रतिकुल विधयेक ल्याएको भन्दै सरकार विरुद्ध विरोध प्रर्दशन गरेको हो।
भैरहवाको बुद्धको चोकबाट निस्किएको र्यालीले सरकार विरुद्ध नाराबाजी गर्दै मिलन चोकमा सभामा परिणत भएको थियो।
दोस्रो राष्ट्रिय जागरण अभियान समापन तथा विरोध सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा पूर्वभौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री सीता गुरुङले सरकारले जनविरोधी गतिविधि गरिरहेको आरोप लगाएकी छन्।
जनताको अधिकार खोस्ने र संविधान मिच्ने दिशातर्फ सरकार अगाडी बढेको उनले बताइन्। उनले सरकारमा नभए पनि कांग्रेसले संविधानको रक्षा र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिन्। लोकतन्त्रमा पूर्ण प्रेस स्वतन्त्रता हुनुपर्ने भए तापनि अहिलेको सरकारले जनताको आवाज बोक्ने मिडियामाथि नै अकुंश लगाउन खोजेको र जनतालाई समेत तर्साउन खोजेको गुरुङको भनाइ थियो।
रुकुम पश्चिममा सरकारविरुद्ध नारा
रुकुम पश्चिम कांग्रेसले जिल्ला सदरमुकाम मुसिकोट खंलगामा मंगलबार विरोध सभा गरेको छ। दोश्रो चरणको राष्ट्रिय जागरण अभियान समापन समारोहमा कांग्रेस रुकुम पश्चिमले सरकारका विरुद्ध विरोध सभा गरेको हो।
मुसिकोट नगरपालिका-१ माथिल्लो बजारमा रहेको पार्टी कार्यालयबाट जुलुस निकालेर कालिका, जिप्रका लाइनबाट तल्लो बजार हुदै बाल मन्दिरमा पुगेर कोणसभाको गरेको हो।
रुकुम पश्चिमका ६ बटै स्थानिय तहबाट जुलुसमा सहभागी भएका स्थानीय कार्यकर्ताले ‘संविधानको पूर्ण रुपमा पालना गर, महंगी भ्रष्टाचार नियन्त्रण गर, अलोकतान्त्रिक विधेयक खारेज गर, हत्या हिंसा बलत्कार नेकपा सरकारको उपहार,’ जस्ता नारा लगाएका थिए।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापती प्रेमप्रकाश ओलीले सरकारका बिभिन्न अलोकतान्त्रिक गतिविधिका कारण अहिलेको व्यवस्था नै खतरामा पर्ने सक्ने चिन्ता व्यक्त गर्दै रुकुम पश्चिमका सबै स्थानीय तहले आम नागरिकका पक्षमा कुनै काम गर्न नसके आरोपसमेत लगाए। त्यस्तै कार्यक्रममा केन्द्रीय प्रतिनिधि यकराज डाँगीले नेपाली कांग्रेसले लोकतन्त्रको रक्षाका लागि नेत्रविक्रम चन्द नेतृत्वको पार्टी सँग बार्ता गरी निकास निकाल्न सरकारलाई आग्रह गरे।