रुकुम पश्चिममा सरकार विरुद्ध कांग्रेसको नारावाजी
रुकुम पश्चिम : कांग्रेसले जिल्ला सदरमुकाम मुसिकोट खंलगामा सरकारको विरोध गरेको छ। दोश्रो चरणको राष्ट्रिय जागरण अभियान समापन समारोहमा मंगलबार कांग्रेसले सरकारका विरुद्ध विरोध सभा गरेको हो।
मुसिकोट नगरपालिका-१ माथिल्लो बजारमा रहेको पार्टी कार्यालयबाट जुलुस निकालेर कालिका, जिप्रका लाइनबाट तल्लो बजार हुदै बाल मन्दिरमा पुगेर कोणसभाको गरेको थियो। रुकुम पश्चिमका ६ बटै स्थानिय तहबाट जुलुसमा सहभागी भएका स्थानीय कार्यकर्ताले ‘संविधानको पूर्ण रुपमा पालना गर, महंगी भ्रष्टाचार नियन्त्रण गर, अलोकतान्त्रिक विधेयक खारेज गर, हत्या हिंसा बलत्कार नेकपा सरकारको उपहार,’ जस्ता नारा लगाएका थिए।
विरोध कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला सभापती प्रेमप्रकाश ओलीले सरकारका बिभिन्न अलोकतान्त्रिक गतिविधिका कारण अहिलेको व्यवस्था नै खतरामा पर्ने सक्ने चिन्ता व्यक्त गर्दै रुकुम पश्चिमका सबै स्थानीय तहले आम नागरिकका पक्षमा कुनै काम गर्न नसके आरोपसमेत लगाए। त्यस्तै कार्यक्रममा केन्द्रीय प्रतिनिधि यकराज डाँगीले नेपाली कांग्रेसले लोकतन्त्रको रक्षाका लागि नेत्रविक्रम चन्द नेतृत्वको पार्टी सँग बार्ता गरी निकास निकाल्न सरकारलाई आग्रह गरे।