समृद्धिको नाराले जनताले दुःख पाए : कोइराला
नुवाकोट : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले ल्याएको समृद्धिको नाराले जनताले दुःख पाएको बताएका छन् ।
नुवाकोटको विदुरमा मंगलबार नेपाली कांग्रेस नुवाकोटले गरेको दोश्रो चरणको जनजागरण कार्यक्रमको समापन गर्दै नेता डा. कोइरालाले यस्तो बताएका हुन् ।
उनले यो सरकारबाट विकास र परिवर्तनको आशा राख्नु जनताको भुल भएको बताए । उनले जनतालाई आश्वासन मात्रै दिएर नेकपाको सरकारले निरंकुशता र अधिनायकवाद मात्रै लादिरहेको बताए ।
सरकारले नारामा मात्रै जनतालाई सम्वृद्धि दिएको समेत कोइरालाले आरोप छ । सरकार बनेको २० महिनामा नेकपाको सरकारले अधिनायकवादलाई प्रमुख हतियारको रुपमा लिएको उनले बताए ।
कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य बहादुरसिंह तामाङले सरकारले विकास र समृद्धिको नारा जति नै रटे पनि जनताले कुनै पनि परिवर्तन गर्न नपाएको बताए । उनले नेपालको विकास र अर्थतन्त्रमाथि लान कांग्रेसले ल्याएको खुल्ला अर्थनीति नै उपयुक्त भएको दाबी गरे ।
कांग्रेस नेता शोभाकर पराजुलीले दुई तिहाइको सरकारले दुई वर्ष बित्न लाग्दासमेत जनतालाई विकास तथा परिवर्तन दिन नसक्नु कमजोरी रहेको बताए।