मासुको प्रचारमा गाईको तस्बिर
काठमाडौं : गाईलाई मासुजन्य पशुको सूचीमा राखेर सरकारले तयार पारेको जनचेतनामूलक पोस्टर विवादास्पद बनेको छ। गाई हिन्दूको आस्थाको प्रतीक तथा राष्ट्रिय जनावर हो। तर, ‘बधशालादेखि भान्सासम्म स्वच्छ र स्वस्थ्य मासु’ भन्ने नारासहित सार्वजनिक पोस्टरमा गाईको फोटोसमेत राखिएपछि यसको सर्वत्र आलोचना भएको छ। गौहत्या गर्न नपाइने कानुन छ।
पशुसेवा विभागअन्तर्गतको राष्ट्रिय पशु आहारा तथा लाइभस्टक गुण व्यवस्थापन प्रयोगशालाले दसैंलाई लक्ष्य गरी पोस्टर तयार पारेको थियो। त्यसमा खसी, कुखुरा, राँगा, भेंडा, बंगुर, माछा र हाँसको मासुसँगै गाईको तस्बिरसमेत छापिएको छ। यसमार्फत यस्ता पशुपन्छीको स्वच्छ र स्वस्थ्य मासु उपभोग गर्न सन्देश दिइएको छ।
प्रयोगशालाले बा.२ झ ३८११ नम्बरको मोबाइल भ्यानमा पोस्टर राखेको थियो। विभागका महानिर्देशक डा. वंशी शर्माले पोस्टर छपाइमा त्रुटि भएको दाबी गरेका छन्। उनका अनुसार पशुपन्छीजन्य उत्पादन दूध, मासु, अन्डालगायतको उत्पादन, प्रशोधन तथा उपभोगलाई गुणस्तरीय बनाउने उद्देश्यले पोस्टर तयार पारिएको थियो। एउटामा भूलवश गाईको तस्बिर पर्न गएको उनको भनाइ छ। विभागले यसप्रति माफी माग्दै उक्त पोस्टर सच्याइएको र बजारबाट फिर्ता लिइएको जानकारी दिएको छ।
‘दसैंको समयमा उपभोक्तालाई स्वच्छ र गुणस्तरीय मासु उपभोग गर्न जनचेतना दिने उद्देश्यले दुई–तीन प्रकारको पोस्टर छाप्न दिएका थियौं’, उनले भने, ‘हामीले नारा मात्रै दियौं तर पोस्टरमा असावधानीवश गाईको समेत फोटो पर्न गयो। यस विषयमा गम्भीरतापूर्वक छानबिन गर्दै छौं। दोषी जोसुकै भए पनि कारबाही गर्छाैं।’